सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीका सडक ‘मृत्युमार्ग’

कर्णालीका सडक होइनन्, मृत्युमार्ग हुन् भन्दै पटक–पटक व्यंग्य हुने गरेको छ । मृत्यु सबैभन्दा ठूलो भयानक घटना हो । अकालमै मृत्यु हुनु कसैका लागि पनि पाच्य विषय होइन । तर, कर्णालीका सडकहरुमा यात्रा गर्ने जो कोहीका लागि मृत्यु सामान्यजस्तै बन्न थालेको छ ।

राज्यको हेपाह प्रवृति र राज्यकै नियमनकारी निकायको उदासिनका कारण कर्णालीबासीको लागि मृत्यु रोज्न कर्णालीका सडकमा यात्रा गर्नुपर्ने भएको छ । आफ्नो लक्ष्य अनुसार यात्रा गर्ने गर्ने कर्णालीबासी कहाँ, कतिखेर ज्यान जान्छ भन्ने कुनै पनि ठेगान नहुने गरेको पाइन्छ ।

राज्यका निकायहरु सार्वजनिक रूपमा सञ्चालन हुने यातायातका साधनबाट दैनिक मृत्यु गराउने घुस लिएर बस्दा कर्णालीमा सवारी दुर्घटनाबाट दैनिक मानिसको मृत्यु हुने गरेको आरोप लगाउँछन् ।

ठूला बडाहरु सरकारी गाडीमा सवार हुँदा स्यालुट गर्ने प्रहरी सर्वसाधारण चढेका सार्वजनिक यातायातका साधनबाट हप्ता तथा महिनामा रकम असुली गर्ने प्रावृतिका कारण कर्णालीमा भारी मात्रामा सवारी दुर्घटना बढेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य महेश अधिकारीले आरोप लगाए ।

आफूले चढेको गाडीबाट गाडी चालकले सडकहरूमा जाँचका लागि बसेका ट्राफिक प्रहरीलाई रकम दिँदै सडकमा गाडी कुदाएको अधिकारीले बताए । उनले थपे, ‘जसले रकम दिन्छ, उसको गाडी ट्राफिक प्रहरीले नर्हेने गरेको र जसले दिँदैन, उसैको गाडी खोजी, खोजी रोक्ने गरेको थाहा भयो । रुपैयाँ दिन ढिला भएका सवारी साधनलाई हिसाब छिटो मिलाउनुपर्यो भन्दै सम्झाउने गरेको सुनेको छु ।’

कर्णालीका हरेक सडकमा गुडने यातायातका साधन अनुसारको वर्गीकरण गरेर रकम असुल हुने गरेको नाम नबताउने सर्तमा एक चालकले बताए । ‘पैसा नदिए अनेक बहाना बनाएर दुःख दिन्छन्,’ उनले भने । ट्राफिक प्रहरीले सवारी जाँच गर्नका लागि सधैँ सिसिटिभीको निगरानी नभएको ठाउँमा रोज्ने गरेको उनले आरोप लगाए ।

प्रहरी चेक पोष्टमा समेत गाडीलाई इन्टी गर्न जाँदा लिइने कागजको बीचमा पैसा हालेर बुझाउनुपर्ने बाध्यता रहेको उनले सुनाए । यता, कर्णाली प्रदेश प्रहरीका प्रवक्ता नारायण डाँगीले यस्ता गलत काम भइरहेका भए तुरुन्तै सम्बन्धित ठाउँमा खबर गर्न आग्रह गरे । सार्वजनिक यातायातमा देखिएको समस्या सुधार गर्ने जिम्मेवारी सबैका भएकाले सबैले सहयोग गर्नुपर्ने बताए ।

पर्वका बेला १०५ दुर्घटना

डाँगीका अनुसार कर्णालीमा तीन ठूला पर्वहरूमा मात्र १०५ वटा सडक दुर्घटना भएका छन् । असोज १७ गतेदेखि कार्तिक २३ गतेसम्म ३७ दिनमा ती दुर्घटनाहरू भएका हुन् । नेपाल प्रहरीका कर्णालीमा रहेका ६५ वटा चेकपोष्टबाट घटाएर हाल ३० वटा मात्र सञ्चालनमा ल्याएको छ ।

ती दुर्घटनामा परी २३ जनाको मृत्यु भएको छ भने २२५ जना घाइते भएका छन् । दसैँको अवधिमा मात्रै ४९ वटा सवारी दुर्घटना भएका थिए भने ६ जनाको मृत्यु भएको थियो । यस्तै ८६ जना घाइते भएका थिए ।

कर्णालीका कुन सडक कहाँ जोडिन्छन् ?

अब कर्णाली राजमार्गको शुरुवात विन्दु नेपाल भारत सीमाना जमुनाहबाट शुरु भएर नेपाल–चीन सीमाना हिल्सा पुगेर सकिने भएको छ । बाँकेको जमुनाह–नेपालगञ्ज–कोहलपुर–सुर्खेत, दैलेख–कालिकोट खुलालु–बाजुरा, सिमकोट–हिल्सा ५३८ किलोमिटर कायम गरिएको छ ।

जुम्ला सदरमुकाम जोडिएको कर्णाली राजमार्ग हटाएर अब सुर्खेत–तल्लो डुंगेश्वर, सातखम्ब–दुल्लु पिपलकोट, खुलालु–मान्म–नाग्म–जुम्ला सडक कायम गरिएको छ । यो सडकको दुरी १६८ किलोमिटर छ । कर्णाली राजमार्ग राष्ट्रिय राजमार्ग ५८ र भेरी करीडोर ५७ नम्बरमा छ । छिन्चु–जाजरकोट–दुनै–मरिम ३१७ किलोमिटर सडकलाई भेरी करीडोर बनाइएको छ ।

‘क’ आधारमा राखिएका यी दुवै सडक कर्णाली प्रदेशका लागि रणनीतिक महत्व भएका सडक हुन् । दुवै सडकले सिधा चीन–भारत जोड्छन् । चीनसँग जोडिने तेस्रो सडक मुगुको नाक्चेनाग्ला हो । ३०२ किलोमिटर सडक सुर्खेतबाट शुरु भएर दैलेख, महावुलेक–गाल्जे, नाग्म–गमगढीहुँदै चाक्चेनाग्ला जोडिन्छ ।

सल्यानको थारमारे सुरुवाती विन्दु मानिएको रारा राजमार्ग कायम गरिएको छ । २६३ किलोमिटर दुरी रहेको सडक थारमारे–चौरजहारी, जाजरकोट खलंगा–जुम्ला कुडारी हुँदै मुगुको रारा तालसम्म जोडिनेछ । मुगुको छायल बजारदेखि अगाडीसम्म ट्र्याक खोलिएको यो सडकको चीन सीमानासम्म जोड्ने सडक अधुरै छ ।

कर्णालीमा तीन सडक प्रदेश, एक स्थानीय सडक बनाएको छ । यी सडकहरुमा उच्च हाइ प्रोफाइल भएका व्यक्तिहरु सकेसम्म सरकारी गाडीमा मात्रा गर्छन यदि भएन भने हवाई सेवा प्रयोग गरेर कर्णालीको यात्रा गरिरहेका छन् । कर्णालीकै नेताले कर्णाली नचिन्दा समस्या भएको सरोकारवाला निकाय बताउँछन् ।

एकपटक नेताहरुले कर्णलीका ग्रामीण सडकमा यात्रा गर्न यहाँका स्थानीयबासीले माग गरेका छन् । प्रदेश सरकारले मात्र ३३ वटा ठूला सडक तथा पुलहरु वषौँदेखि अलपत्र भए पनि निर्माण व्यवसायीलाई ताकेता गर्न नसक्दा अलपत्र हुँदै आएको पाइएको छ । अहिले चालु अवस्थामा रहेका सडकहरूसमेत दोहोरो यातायातका साधनहरू चल्न सक्ने अवस्था नभएको यातायात व्यवसायी बताउँछन् ।

स्रोत : कर्णाली
प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतवार १५:४२

लोकप्रिय