सूचनाको शक्ति - The Power Of Information

        

जिम्मेवारी कसको ?

‘हात र सिठ्ठी’को इसारामा नेपालगन्जको ट्राफिक व्यवस्थापन, कहिले बल्छन् ट्राफिक बत्ती ?

हात र सिठ्ठीकै इशारामा सवारी व्यवस्थापन गर्न दिनभर घाममा उभिएर, धुलो र धुँवा खाँदै ट्राफिक व्यवस्थापन गरिरहेका प्रहरीलाई बेकामे ट्राफिक बत्तीले गिज्याइरहेको जस्तो देखिन्छ ।

नेपालगन्जको गणेशमान चोकमा जडान गरिएको ट्राफिक लाइट ।

एउटा उपमहानगरको ट्राफिक व्यवस्थापन गर्न अत्यावश्यक के होला ? सहजै जवाफ दिन सकिन्छ, ट्राफिक बत्ती । विज्ञान र प्रविधिको भनिएको आजको युगमा ट्राफिक बत्ती बिनाको सवारी व्यवस्थापन कल्पना गर्न गाह्रै हुन्छ । तर तपाईं नेपालगन्जको सडकमा हिँड्नुुहुन्छ भने परिस्थिति फरक पाउनुहुनेछ ।

नेपालगन्जका मूख्य चोकहरुमा ट्राफिक बत्ती राखिएका छन् । तर, तपाईंले ती बत्ती कहिल्यै बलेको देख्नुभएको छैन । आखिर किन बलेका छैनन् नेपालगन्जका ट्राफिक बत्ती ? लहड र काम देखाउनका लागि जडान गरिएका ट्राफिक बत्तीलाई बाल्ने कोही कसैसँग चुस्त योजना छैन । त्यसको परिणाम हाम्रै आँखा अगाडि छ ।

ट्राफिक बत्ती जडान गरियो, बाल्ने प्रयास कसैले गरेनन् । दोषी को ? नेपालगन्जको सवारी व्यवस्थापनको जिम्मेवारी ट्राफिक प्रहरीको हो । ट्राफिक बत्ती जडान, मर्मत र सवारी सुरक्षा भने सडक विभागको जिम्मामा छ । अर्थात् ट्राफिक बत्ती जोड्ने, मर्मत गर्ने र नियमित गराउने काम सडक विभागको हो । त्यसलाई प्रयोगमा ल्याउने ट्राफिक प्रहरीको ।

नेपालगन्जमा ट्राफिक बत्ती जडान कार्यका लागि तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले २०७९ भदौ २९ गते शिलान्यास गरेसँगै ठेकेदार कम्पनी भिजन इन्जिनियरिङ कन्ट्रक्सन, पिभिजन इन्जिनियरिङ सोलुशन काठमाडौंले नेपालगन्जमा ट्राफिक बत्ती जडान कार्य सम्पन्न गरिसकेको छ ।

सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखा काठमाडौँसँग ठेकेदार कम्पनी भिजन इन्जिनियरिङ कन्स्ट्रक्सन, पिभिजन इन्जिनियरिङ सोलुसन काठमाडौँले २०८० साल माघ २१ गतेभित्र काम सम्पन्न गर्ने गरी २०७९ साल पुस महिनामा रु.एक करोड ५९ लाख (भ्याटसमेत)मा सो कामका लागि ठेक्का सम्झौता गरेको थियो ।

टेन्डर भएको केही वर्षपछि पाँच ठाउँमा ट्राफिक बत्ती जडान भए पनि यसले पूर्णता पाएको छैन । ट्राफिक बत्ती जडानपछि केही दिन ‘ट्रायल’का लागि सञ्चालन गरिए पनि त्यसयता रातो, पहेँलो र निलो बत्ती बल्ने ट्राफिक बत्ती अहिले बन्द छन् । प्रविधिमैत्री व्यवस्थापन नहुँदा नेपालगन्जको ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे परिरहेको छ ।

विडम्बना, कुनै बेला स्मार्ट सिटी बनाउने उद्घोष गरिएको नेपालगन्ज शहरमा बत्ती व्यवस्थापन गर्न सक्ने दक्ष जनशक्ति छैन । यसको मारमा सबैभन्दा बढी परेको छ ट्राफिक प्रहरी । हात र सिठ्ठीकै इशारामा सवारी व्यवस्थापन गर्न दिनभर घाममा उभिएर, धुलो र धुँवा खाँदै ट्राफिक व्यवस्थापन गरिरहेका प्रहरीलाई बेकामे ट्राफिक बत्तीले गिज्याइरहेको जस्तो देखिन्छ ।

सडक विभागले गणेशमान चोक, विपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक र राझा चोकमा बत्ती जडान गरेको हो । सडकमा ट्राफिक बत्ती त छन् तर प्रयोगमा आएको छैन । ट्राफिक बत्ती जडान गरे पनि ट्राफिक प्रहरीले हात र सिठ्ठीको सहारामा लाखौँ सवारी साधनको चाप व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ ।

आधुनिक प्रविधीको जमानामा मान्छेले नै काम गर्नुपर्दा अपुग जनशक्तिले नेपालगन्जको ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ । नेपालगन्जमा सवारी चाप बर्सेनि बढ्दो छ । सवारी चापलाई व्यवस्थापन गर्न सडक विभागले नेपालगन्जका चोकमा जडान गरेका ट्राफिक बत्ती सञ्चालनमा नआएरै बेकामे बनेका छन् ।

चोकमा ट्राफिक बत्ती त छन्, तर प्रयोगमा आएका छैनन् । ट्राफिक बत्ती जडान गरे पनि ट्राफिक प्रहरीले हात र सिठीको सहारामा लाखौँ सवारी साधनको चाप व्यवस्थापन गर्नुपर्ने बाध्यता अहिले पनि उस्तै छ । ट्राफिक बत्ती जडान भए पनि सञ्चालनमा नआएको ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुस्करराज पन्तले बताए ।

‘बत्ती नहुँदा इसाराका भरमा सवारी व्यवस्थापन गरिरहनुपरेको छ । अत्याधुनिक प्रविधिमार्फत ट्राफिक व्यवस्थापन गर्नुपर्ने हो, हामीले भने ‘म्यानुअल’रूपमा काम गरिरहेका छौं,’ पन्त भन्छन् । नेपालगन्जका प्रमुख चोकहरूमा जडान गरिएका ट्राफिक बत्ती कहिले बल्छन् सर्वसाधारणलाई समेत केही थाहा पत्तो छैन ।

‘बत्ती सञ्चालनमा आएको भए सवारी दुर्घटना न्यूनीकरण र सहर व्यवस्थापनमा सहयोग पुग्ने थियो । सडक विभागबाट बत्तीसँग सम्बन्धित सिस्टम हामीलाई ह्यान्डओभर भएको छैन । हामी सिस्टममा काम गर्न तयारीमा छौँ,’ ट्राफिक प्रहरी प्रमुख पन्तले भने, ‘यसको कन्ट्रोल ट्राफिक प्रहरीसँग हुनुपर्छ, त्यसको पनि कुनै टुङ्गो छैन ।’

उनले ट्राफिक बत्ती सञ्चालन गर्न सके सहज हुने सङ्केत गर्दै यसले ट्राफिक व्यवस्थापनमा निकै सहज हुने सुनाए । ‘म्यानुअलभन्दा बत्तीले काम गर्दा सहज हुन्छ । ट्राफिक बत्ती सञ्चालन भएसँगै केही च्यालेन्ज पनि छ । सडकमा सबै नियमसँग अभ्यस्त हुँदैनन् । सुरुमा च्यालेन्ज भए पनि बिस्तारै सहज हुन्छ,’ ट्राफिक प्रहरी प्रमुख पन्तले भने ।

सबै स्थानहरुमा ट्राफिक बत्ती जडानको काम सकिएको पनि निर्माण कम्पनीले जनाएको छ । कन्ट्रोल रुम र अन्य प्राविधिक तर्फका कामहरु नहुँदा नेपालगन्जमा ट्राफिक बत्ती पनि अलपत्र र बेकामे बनेका छन् । ट्राफिक बत्ती जडान भइसक्दा पनि सञ्चालनमा नआउनु निर्माण कम्पनी र सडक विभागको गम्भीर लाहपर्वाही भएको नेपालगन्जबासी बताउँछन् ।

ट्राफिक बत्ती सञ्चालनमा आएको दुई वर्षसम्म मर्मत सम्भार तथा हेरचाहको जिम्मेवारी निर्माण कम्पनीसँगै हुनेछ भने दुई वर्षसम्मको विद्युत महसुल सडक विभाग आफैंले भुक्तान गर्ने सम्झौतामा उल्लेख छ । भविष्यमा क्यामेरासमेत जडान गर्न मिल्ने गरी व्यवस्थित र वैज्ञानिक ढङ्गबाट ट्राफिक बत्ती जडान काम भएको निर्माण कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार ०९:२७

लोकप्रिय