ललितपुरमा प्रहरी समेतको मिलेमतोमा ‘हनी ट्र्याप’मा पारेको घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गर्ने भएको छ । एक जना व्यापारीलाई बलात्कारको मुद्दामा फसाउने भन्दै ३० लाख असुली गरेको घटनामा जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गर्न सीआइबीमा पठाएको हो ।
ललितपुरका एसएसपी शेखर खनालका अनुसार बुधबार अनुसन्धानका लागि पक्राउ परेका चारै जना व्यक्तिहरू र मिसिल पठाइसकेको छ । ‘संगठित अपराधको कसुरमा हामीले पनि अनुसन्धान गरिरहेका थियौं । तर यसमा सिनियर अफिसरको कुरा पनि आएको छ । अन्य जिल्लामा पनि घटना भएको कुरा आएकाले हामीले सीआइबी पठाएका हौं,’ उनले भने ।
यस घटनामा सुष्मा विक, ताज मुल इस्लाम, भीमादेवी थापा र प्रहरी सहायक हवल्दार महेन्द्र हमाल प्रहरीको हिरासतमा छन् । उनीहरूमाथि आपराधिक लाभ लिन नहुने कसुर र संगठित अपराधमा अनुसन्धान गरिरहेको हो । संगठित अपराधमा प्रहरीले प्रतिवादीहरूलाई ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।
ललितपुर प्रहरीले एक महिनाभन्दा बढी समय लगाएर अनुसन्धान गरिसकेको छ । अनुसन्धानकै क्रममा प्रहरी प्रभाग भैंसेपाटीमा इन्चार्ज हुँदा घटना भएको खुलेपछि प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई निलम्बन गरी पक्राउ पुर्जी जारी गरिएको थियो । तर उनी अझै फरार नै छिन् । अनुसन्धानकै बीच एसपी कमल थापा समेतको नाम जोडिएको छ ।
प्रहरीका सिनियर अधिकारीसमेत जोडिएको र अन्तरजिल्लाको समेत घटना जोडिएपछि ललितपुर प्रहरीले सीआइबीलाई अनुसन्धान गर्ने जिम्मा दिएको हो । यही टोलीले दरबारमार्गमा हुँदा पनि १६ लाख हनी ट्र्यापमा पारी रकम असुली गरेको पक्राउ परेका ताजले बयानमा भनेका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं