छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मंगलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन् । आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खिर खानेछन् । यो विधिलाई ‘खरना’ भनिन्छ ।
श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र मंसिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् । आज दिनभरि उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्नेछन् ।
पर्वको तेस्रो दिन भोलि अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख बर्तालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई पहिलो अर्घय दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ । सप्तमीका दिन बिहान बर्तालुले उदाउँदो सूर्यलाई दोश्रो अर्घय दिएर पर्व समापन गर्ने मैथिल चलन छ ।
उदाउँदो सूर्यलाई दिइने अर्घलाई मिथिलामा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ । अर्घय दिँदा पहिले जटासहितको नरिवल र त्यसपछि क्रमशः पर्वका लागि पकाइएका मिष्टान्न परिकार र केरासहितका फलफूल सूर्यदेवलाई देखाउने चलन छ । छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्तकहाँ पुर्याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ ।
अर्घय दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अर्घय दिने पवित्र जलाशय किनारमा घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ । केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दुले मात्र मनाउदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू पनि बाक्लै मनाउन थालेका छन् । मिथिलामा इस्लाम धर्मावलम्बीले समेत बर्तालुलाई अर्घयका बेला आफ्नो भाकल सूर्यदेवलाई देखाइदिन दिने गरेका छन् । यसले छठ पर्वलाई साझा बनाएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं