सूचनाको शक्ति - The Power Of Information

        

महिला तथा बालबालिका बेचबिखनको जोखिममा

गत असोज २७ गते सुर्खेतको भेरीगङ्गा नगरपालिका छिन्चुबाट भागेका दुई बालबालिका ३० गते नेपालगन्जस्थित सीमानाका जमुनाहमा फेला परे । भारत जाँदै गरेका उनीहरुलाई नेपाल प्रहरीले नियन्त्रणमा लियो । जोखिमपूर्ण यात्रामा रहेका उनीहरुलाई अभिभावकको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले जानकारी दिए ।

‘दुई बालबालिकालाई हामीले नाकाबाट फिर्ता गरायौँ, दुई जनाको खोजतलास गर्दा गाउँमै लुकेर बसेको भेटियो,’ प्रहरी निरीक्षक बुढाथोकीले भने, ‘प्रेम सम्बन्धमा परेर सानै उमेरमा बालबालिकाले घर छाडेर भारत जाने क्रम बढेको छ ।’ अधिकांश भारत जान लागेको महिला तथा बालबालिका प्रेमजालमा परेको बताउने प्रहरी निरीक्षक बुढाथोकीले बताए ।

उनले दसैँमा सुर्खेत, सल्यानलगायत जिल्लाबाट उमेरै नपुगेका बालबालिका घरबाट भागेर भारत जाने क्रममा नियन्त्रण लिई अभिभावकको जिम्मा लगाएको बताए । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत संस्था माइती नेपाल नेपालगन्ज कार्यालयमा दसैँ अवधिमा महिला तथा बालबालिका हराएको भनी ४९ जनाको खोजतलासको निवेदन दर्ता भएको छ ।

हराउने ४९ मध्ये ३२ जना १८ वर्षमाथिका महिला, १२ जना १८ वर्षमुनिका बालिका र पाँचजना बालक रहेको माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले जानकारी दिए । हराएकामध्ये आठजना फेला पारेको समेत माइती नेपालले जनाएको छ । सामाजिक सञ्जाल फेसबुक र टिकटकबाट चिनाजानी भएकै आधारमा विश्वास मानी भारत जाने महिला तथा बालिका मानव बेचबिखनको उच्च जोखिममा रहेको अधिकारकर्मी बताउँछन् ।

माइती नेपालले बाँकेको नेपालगन्जस्थित नेपाल–भारत सीमा जमुनाह नाकाबाट दसैँ अवधिमा ४५ महिला तथा बालबालिकाको उद्धार गरेको छ । गत असोज १ देखि ३० गतेसम्म जमुनाह नाका हुँदै भारत जाने क्रममा जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई माइती नेपाल नेपालगन्जले सीमा नाकाबाट उद्धार गरेको हो । तीन बालक १८ वर्षमुनिका, १७ र १८ वर्षमाथिका २५ महिला तथा बालबालिकालाई जमुनाह नाकाबाट उद्धार गरिएको माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाले बताए ।

स्रोत : रासस
प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार ०७:४५

लोकप्रिय