सूचनाको शक्ति - The Power Of Information

        

मीनबहादुरबाट जग्गा लिने एमाले निर्णयविरुद्ध सर्वोच्चमा रिट, अख्तियारमा उजुरी

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अधिवक्ता युवराज पौडेल ‘सफल’ले प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।

एमाले पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले जग्गा दिएको विषयमा सफलले उजुरी गरेका हुन् । पार्टीले दान, चन्दा लिनु भ्रष्टाचार भएको पौडेलको जिकिर छ । त्यसमाथि प्रधानमन्त्रीकै पार्टीले विवादास्पद व्यक्तिले दिएको दान लिनु घुससरह भएको उजुरीमा उल्लेख छ । उजुरीमा गुरुङलाई पनि विपक्षी बनाइएको छ ।

‘सो कार्यमा संलग्न वा विवादास्पद व्यक्तिबाट करोडौँ रुपैयाँको जग्गा घुस बापत लिने र करोडौँ खर्च गरी पार्टी कार्यालयसमेत बनाउन लगाउने प्रधानमन्त्री केपी शर्मा ओली र त्यसरी आफ्नो व्यवसायगत एवम् व्यक्तिगत फाइदा एवम् लाभ लिने, आफ्ना मुद्दाहरू खारेज गर्ने नियतका साथ करोडौँ रुपैयाँ बराबरको जग्गा घुस दिने भाटभटेनी सुपर मार्केट प्रा.लि.का संचालक मीनबहादुर गुरुङलाई भ्रष्टाचार निवारण ऐन २०५९ (संशोधन सहित) बमोजिम तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्नुपर्ने’ पत्रमा भनिएको छ ।

व्यवसायी गुरुङले एमालेको पार्टी कार्यालय बनाइदिएर हस्तान्तरण गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा पनि रिट पेस भएको छ । अधिवक्ताहरु डा.ज्ञान बस्नेत, श्यामकृष्ण मास्के र अर्जुन थापाले दानमा पार्टी कार्यालय बनाउने कार्य गम्भीर भ्रष्टाचारजन्य अपराध भएको हुँदा रोक्न माग गर्दै रिट पेस गरेका हुन् । असोज २५ गते भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले काठमाडौँको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरमा एमाले पार्टी कार्यालयको शिलान्यास गरेका थिए ।

उक्त कार्य गम्भीर भ्रष्ट्राचारजन्य अपराध, राज्यसत्ताको दुरुपयोग, नैतिक र कानुनी अपचलन भन्दै रिटमा रोक्न माग गरिएको छ । सर्वोच्च प्रशासनले रिट अध्ययनको क्रममा रहेको बताएको छ । रिटमा राजनीतिक दल, नेतानेतृत्व हरुले चन्दा उठाउँंदा कुनै उपहार, दान र अरु सहयोग लिंदा त्यो खुल्ला पारदर्शी हुनुपर्ने, कारण पुष्टि हुनुपर्ने भए पनि एमाले पार्टी कार्यालय बनाउने विषयमा त्यस्तो नभएको जिकिर गरिएको छ । मैत्रीनगरमा गुरुङले एमालेका लागि १० रोपनी १४ आना जग्गामा एक वर्षभित्र सुविधा सम्पन्न भवन बनाएर हस्तान्तरण गर्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार १५:३७

लोकप्रिय