दसैँको आगमनसँगै नेपालगन्ज बजार सुनसान भए पनि धम्बोझी चोक क्षेत्रमा तरकारी किनमेल गर्ने उपभोक्ताको भीडमा कमी आएको छैन । बाँके र बर्दियाको ग्रामीण क्षेत्रका थारु महिलाले उत्पादन गरेका तरकारीले नेपालगन्जवासीलाई लोभ्याएको छ ।
यहाँ ग्रामीण क्षेत्रका थारु महिलाले गाउँमा उत्पादन गरेका तरकारी प्रत्येक दिन बिहानपख नेपालगन्जको धम्बोझी चोक क्षेत्रमा ल्याएर बिक्री गर्ने गरेका छन् । यसपाली दसैँमा गाउँको तरकारी सहरमै उपलब्ध गराएको बर्दिया राजापुरकी श्यामकली थारुले बताए ।
‘आजसम्म त बिक्री गरिरहेका छौँ, धेरैजनाले भोलिलाई पुग्ने गरी तरकारी किनेर लैजानुभएको छ,’ आज बिहान तरकारी बिक्री गरिरहेको अवस्थामा भेटिएकी उनले भने, ‘भोलि दसैँको दिन आउँदैनौं, त्यसपछि फेरि आइहाल्छौं ।’
नेपालगन्ज–२ निवासी सुनीलसिंह हमालले आफ्नो भान्सामा एक वर्षदेखि गाउँमा उत्पादित तरकारी पाक्ने गरेको बताए । गाउँमा मेहनत गरेर उत्पादन गरेको तरकारी दसैँको बेलामा पनि नेपालगन्ज पुर्याउनु आर्थिक मात्रै नभई सेवाभाव समेत भएको उनको भनाइ छ ।
गाउँको तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारु महिला आफैँले उत्पादन गरेर बजारमा पुन्याउन थालेका छन् । तरकारीको माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारू महिलाले आफ्नै खेतबारीमा उत्पादित तरकारीबाट प्रशस्त कमाइसमेत गर्न सफल भएको बर्दिया बढैयाताल गाउँपालिका–३ का महिला वडासदस्य दुसानी थारुले बताइन् ।
उनले बर्दियाबाट नेपालगन्ज दैनिक तरकारी ल्याएर बिक्री गर्दै आएको बताइन् । ‘म विगत १० वर्षदेखि कृषि पेसामा आबद्ध छु, पहिला अर्गानिक तरकारी साइकलमा राखेर नेपालगन्जका चोकचोकमा पुर्याउनुपथ्र्यो,’ उनले भनिन्, ‘अहिले धेरै दिदीबहिनी धम्बोझीमा जम्मा भएर बिक्री गर्ने गरेका छौँ ।’
नेपालगन्जमा गाउँबाट ल्याएको तरकारी तत्काल बिक्री भई राम्रो आम्दानी हुन थालेपछि तरकारी उत्पादनतर्फ अधिकांश थारु महिला आकर्षित भइरहेका दुसानीको भनाइ छ । उनले विभिन्न किसिमका तरकारी बिक्री गरेर मासिक रु १५ देखि २० हजारसम्म आम्दानी गरिरहेको सुनाइन् ।
बाँकेको नौबस्तामा घरवरिपरि तरकारीखेती गरिरहेकी वसन्ती थारूको तरकारी बिक्रीबाटै परिवारको जीविकोपार्जन भइरहेको छ । गाउँको तरकारी बजारमा सहजै बिक्री हुने गरेकाले टाढा भए पनि यहाँ आउने गरेको उनले बताइन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके