सूचनाको शक्ति - The Power Of Information

        

यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान, कुनले कति ?

हवाई यात्रुहरुको चाप अत्यधिक बढेपछि हवाई सेवा प्रदायक कम्पनीले उडान सङ्ख्या थपेका छन् । बुद्ध एयरले भद्रपुर र भरतपुरमा समान दुई–दुई उडान थप गरेको छ । हाल विभिन्न गन्तव्यमा दैनिक दुईतर्फी १५० हाराहारी उडान गरिरहेको बुद्ध एयरले यात्रुको चाप बढेपछि उडान थपेको बुद्धका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए ।

श्री एयरलाइन्सले पनि आज (शुक्रबार)देखि काठमाडौँ–भरतपुर–काठमाडौँ रुटमा उडान सञ्चालन गर्न लागेको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । कम्पनीले सुरुमा चार्टर्ड र त्यसपछि नियमित उडान गर्ने जनाएको छ । यती एयरलाइन्सले पनि यही असोज १५ गतेदेखि काठमाडौँ–भद्रपुर–काठमाडौँ र काठमाडौँ–नेपालगन्ज–काठमाडौँमा एक–एक उडान थपेको छ ।

साथै असोज १८ गतेदेखि काठमाडौँ–जनकपुर–काठमाडौँ गन्तव्यमा एक उडान थपिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । हालैको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्चाल अवरुद्ध भएपछि हवाई उडानमा यात्रुको चाप बढेको छ । उडान चाप बढेपछि एयरलाइन्सले उडान थपेर यात्रुलाई गन्तव्य पुर्यारहेका छन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बुधबार आन्तरिकतर्फ हेलिकप्टरसहित १८२ उडान र १८२ वटा अवतरण भएका थिए । जसमा उक्त दिन १७ हजार चार जना यात्रुले उडान गरेका थिए । साथै अन्तर्राष्ट्रियतर्फ ५२ वटा उडान र ५२ वटा अवतरण भएका थिए । जसमा १५ हजार ९६२ यात्रुले सेवा लिएका थिए । कार्यालयका अनुसार गत सोमबार कुल ५९९, मङ्गलबार ५११ र बुधबार ४७३ वटा उडान भएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार ०८:०८

लोकप्रिय