सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जको गणेशमान-चारबाहिनी चोक सडक एकतर्फी सञ्चालनमा

नेपालगन्जको अति व्यस्त गणेशमान चोकदेखि चारबाहिनी चोक जोड्ने सडकलाई एकतर्फरुपमा सञ्चालनमा ल्याइएको छ । अबदेखि उक्त सडकखण्डमा हरेक दिन बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म यो रुटमा एकतर्फी सवारी साधन चल्न पाउनेछन् ।

नेपालगन्जको अति व्यस्त गणेशमान चोकदेखि चारबाहिनी चोक जोड्ने सडकलाई एकतर्फी गराउने निर्णय कार्यान्वयनमा गर्दै उक्त सडकलाई एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक पुस्कर पन्तले जानकारी दिएका छन् ।

उनले भने, ‘ जिल्ला प्रशासन कार्यालय बाँकेमा केही दिनअघि सम्पन्न बैठकले गरेको निर्णयलाई कार्यान्वयमा ल्याउँदै हरेक दिन बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म यो रुटलाई एकतर्फी सञ्चालनमा ल्याएका छौं । निर्णय अनुसार नै यस रुटमा सवारी साधन सञ्चालन हुनेछन् ।’

सडकमा एकतर्फी सवारी साधन चलाउने गरी ट्राफिक चिन्ह लगायत निर्माण गर्ने काम भइरहेको नेपालगन्ज उपमहानगरपालिका नगर प्रहरी प्रमुख सुर्यबहादुर बोगटीले बताए । उनका अनुसार सवारी साधनहरु गणेशमान चोकबाट चारबाहिनी चोकतर्फ जान पाउनेछन् । तर चारबाहिनी चोकबाट गणेशमान चोकतर्फ सवारी साधनलाई प्रवेश गर्न दिइने छैन ।

‘चारबाहिनी चोकबाट गणेशमान चोकतर्फ जान चाहने सवारी साधनलाई शितलनगर रोड भएर जान दिने व्यवस्था मिलाइएको छ,’ नगर प्रहरी प्रमुख बोगटीले भने । सवारी साधनको चापले गर्दा पटक–पटक जाम हुने र सडक नै अस्तव्यस्त हुन थालेपछि एकतर्फी बनाउन आवाज उठ्न थालेको थियो ।

सर्वसाधारणको आवागमनलाई सहज बनाउन यस्तो निर्णय गरिएको नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले बताएका छन् । ‘विशेषगरी बिहान ९ बजेदेखि कार्यालय समयसम्म यो सडक अत्यधिक रूपले जाम हुने गरेको पाइयो, त्यस कारण सहज होस् भन्नका लागि एकतर्फी गराइएको हो,’ विष्टले भने ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार १२:२८

लोकप्रिय