सूचनाको शक्ति - The Power Of Information

        

ड्रग्स खाएर पालैपालो बलात्कार, मरेपछि जंगलमा फालियो शव

कैलालीमा महिलाको हत्या घटना भएको करिब १० महिनापछि दुई जना अभियुक्त पक्राउ परेका छन् । कैलाली प्रहरीले ०८० मंसिर ६ गते मृत फेला परेकी डडेल्धुराको अमरगढी नगरपालिका–२ की ३१ वर्षीय बिमा थापा मगर (मुस्कान)को हत्या भएको निष्कर्ष निकालेको छ ।

घटनाको करिब १० महिनापछि दुई अभियुक्तलाई नियन्त्रणमा लिएर आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–५ का २५ वर्षीय सञ्जिव चौधरी र सोही ठाउँका ३१ वर्षीय जनक देउवा हत्या आरोपमा पक्राउ परेका हुन् ।

अभियुक्तले अपराध स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर विष्टले बताए । अमरगढी नगरपालिका–२ की थापा धनगढी उपमहानगरपालिका–६ सरस्वती सामुदायिक वनमा मृत फेला परेकी थिइन् । उनी धनगढी उपमहानगरपालिका–५ मा बस्थिन् । उनी अविवाहित थिइन् ।

ड्रग्स खाएर यौन सम्पर्क, मरेपछि जंगलमा फालियो शव

प्रहरीका अनुसार ०८० कार्तिक २९ गते बेलुकी सञ्जिव र जनकले लागुऔषध सेवन गरे । जनककी श्रीमती पहाडतिर गएकी थिइन् । त्यसपछि उनीहरूले फोन सम्पर्क गरेर बिमालाई घरमा बोलाए । अभियुक्तले मृतक बिमाले पनि लागुऔषध सेवन गरेको प्रहरीसमक्ष खुलाएका छन् । लागुऔषध सेवनपछि सञ्जिव र जनकले पालैपालो बिमासँग शारीरिक सम्बन्ध राखे ।

सञ्जिवले दोस्रो पटक सम्बन्ध राख्न खोज्दा बिमा तयार भइनन् । त्यसपछि बिमामाथि उनले कुटपिट गरे । ‘दोस्रो पटक शारीरिक सम्बन्धका लागि जाँदा नमानेपछि एक–दुई झापड हानेको सञ्जिवले भनेका छन् । बिहान उज्यालो नहुँदै शव सामुदायिक वनमा छोड्न गएको खुलेको छ,’ प्रहरी स्रोत भन्छ ।

ड्रग्स खाएर मरेको देखाउन नजिकै त्यो पनि छोडेको अनुसन्धानले देखाएको छ । शव स्कुटीको बिचमा राखियो । जनकले स्कुटी चलाए । र, सञ्जिवले पछाडि शव समातेर सरस्वती सामुदायिक वनमा पुर्याए । शव फालेर त्यहीँ खैरो हेरोइन र प्रिगाभा नामक लागुऔषध पनि छोडे ।

मोबाइलले पुर्यायो हत्यारासम्म

०८० मंसिर ६ मा बिमाको शव क्षतबिक्षत अवस्थामा थियो । घटनास्थल नजिक लागुऔषध भेटिएको थियो । शव सडेको हुनाले पोष्टमार्टम गर्न सक्ने अवस्थामा थिएन । प्रहरीलाई उनको पहिचान गर्न हम्मेहम्मे परेको थियो । दुई–तीन दिनपछि कपडाको सहायताले उनको पहिचान खुलेको थियो ।

१० मंसिर ०८० मा बिमाका बुवा खनबहादुर थापामगरले ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएका थिए । प्रहरीले सुक्ष्म ढंगले घटनाको अनुसन्धान सुरु गर्यो । गत चैत्र वैशाखतिर बिमाको मोबाइल मिसिङ रहेको खुल्यो । त्यसपछि प्रहरीले मोबाइलमाथि निगरानी राखेर अनुसन्धान अघि बढायो ।

‘मोबाइल प्रयोगमा आएको थिएन । दुई महिनाअघि सीम कार्ड राखेर चलाएको पाइयो,’ प्रहरी स्रोत भन्छ, ‘आइएमआईबाट लोकेसन पत्ता लगाउँदा धनगढी क्षेत्रमै देखायो ।’ मृतक बिमाको मोबाइल सञ्जिवकी श्रीमती चाँदनीले चलाइरहेको पाइएको थियो । चाँदनीले आफूलाई श्रीमान्ले मोबाइल दिएको बताएकी थिइन् । तर सञ्जिव भने भारतमा थिए ।

सञ्जिवमाथि प्रहरीले झनै निगरानी बढायो । श्रीमतीलाई भारत लैजान शनिबार राति गौरीफन्टा नाका पुगेका बेला प्रहरीले सञ्जिवलाई नियन्त्रणमा लिन सफल भएको हो । त्यसपछि सञ्जिवले अपराध स्वीकार्दै जनकको नाम पनि पोलेका थिए । त्यसपछि प्रहरीले जनकलाई उनकै कोठाबाट नियन्त्रणमा लिएको हो । उनीहरूलाई हिरासतमा राखेर घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतवार १८:२६

लोकप्रिय