सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पतालमा सञ्चालनमा आयो अत्याधुनिक नयाँ अपरेसन थिएटर

लाइभ सर्जरी गरेर भेरी अस्पतालको नयाँ अप्रेशन थिएटरको उद्घाटन गरिँदै ।

भेरी अस्पताल नेपालगन्जले शनिबारदेखि अत्याधुनिक नयाँ अपरेसन थिएटरबाट शल्यक्रिया सेवा दिन सुरु गरेको छ । नयाँ भवनमा निर्माण गरिएको उक्त शल्यक्रिया कक्षको वरिष्ठ आर्थोस्कोपी सर्जन प्रा.डा.अमित जोशीले लाइभ सर्जरी गरेर उद्घाटन गरेका छन् ।

आर्थोस्कोपी कार्यशालामा सहभागी हुन नेपालगन्ज आएको अवसरमा डा.जोशीबाट शल्यक्रिया कक्षको उद्घाटन गराइएको भेरी अस्पतालका प्रमुख डा.प्रकाशबहादुर थापाले बताए । घुँडाको भित्री भागमा चोट लागेर घाइते भएका नेपालगन्जका १८ वर्षीय एक युवकको शल्यक्रिया गरेर प्रा.डा.जोशीले सो नयाँ भवनको अत्याधुनिक शल्यक्रिया कक्षको उद्घाटन गरेका थिए ।

अस्पतालका प्रमुख डा.थापाका अनुसार सो शल्यक्रियाको भिडियो लाइभ गरिएको थियो । प्रा.डा.जोशीले भेरी अस्पतालमै सञ्चालन भइरहेको कार्यशालाका सहभागी भएका आर्थोकोपी सर्जन तथा अर्थोपेडिक सर्जनहरूसँग लाइभ भिडियो संवाद गर्दै शल्यक्रिया गरेका थिए ।

त्यस क्रममा सर्जनहरूले विभिन्न जिज्ञासाहरू राखेका थिए भने प्रा.डा.जोशीले जवाफ दिएका थिए । करिब एक घण्टा लगाएर सो शल्यक्रिया गरिएको थियो । अस्पताल प्रमुख डा.थापाले भने, ‘लिगामेन्टको शल्यक्रिया भेरी अस्पतालमा यसअघि पनि भइरहेका थिए । तर अबदेखि शल्यक्रिया सेवा नयाँ भवनबाट दिने तयारी गरिएको छ ।’

यसैबिच भेरी अस्पतालमा सञ्चालन भइरहेको आर्थोस्कोपी कार्यशालामा देशभरका आर्थोस्कोपी र आर्थोपेडिक सर्जन गरी ७० बढी चिकित्सकहरू सहभागी भएका छन् । कार्यशालामा उपचार पद्धतिमा आएका प्राविधिक विकास र अनुभव आदानप्रदानका साथै आर्थोस्कोपी सर्जरीमा आउने जटिलताहरूलाई भविष्यमा कसरी सामाना गर्ने भन्ने विषयमा पनि विस्तृत छलफल भएको नेपालगन्जका वरिष्ठ अर्थोपेडिक सर्जन डा.तीर्थेन्द्र खड्काले बताए ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतवार १८:२२

लोकप्रिय