सूचनाको शक्ति - The Power Of Information

        

‘सशस्त्र युद्ध’लाई ‘हिंसा’ भन्ने ओलीले विश्व समुदायलाई कस्तो सन्देश देलान् ?

संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेका छन् । यही क्रममा शनिबार साँझ प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले केही समयअघि नेपाल भ्रमण गरेकोमा महासचिव गुटेरेसप्रति कृतज्ञता व्यक्त गर्दै नेपालले जलवायु न्याय पाउनुपर्ने र यसमा पहलका लागि आग्रह गरेका थिए । त्यसअघि प्रधानमन्त्री ओलीसँग राष्ट्रसंघको अल्पविकसित, भूपरिवेष्टित, विकासोन्मुख र साना टापु मुलुकका लागि प्रतिनिधिसमेत रहेका उपमहासचिव रबाब फतिमाले नेपाली नियोगको कार्यालयमा भेट गरेका थिए ।

आजै ‘द समिट अफ द फ्युचर’ को एक सत्रमा प्रधानमन्त्री ओलीले सहअध्यक्षता गर्नुका साथै प्लेनरी सत्रमा सम्बोधन गर्ने तालिका छ । प्रधानमन्त्री ओलीसँग आजै संयुक्त राष्ट्रसङ्घको मानव अधिकार आयुक्तले पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । यसैगरी भुटानका प्रधानमन्त्री डाशो छिरिङ तोग्बेसँग द्विपक्षीय बैठक हुने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसपछि प्रधानमन्त्री ओली र कुवेतका युवराज शेख सबाह अल–खालेद अल–हमद अल–मुबारक अल–सबाहसँग द्विपक्षीय बैठक हुनेछ ।

मोदीसँग साइडलाइन वार्ता

आजै प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने तालिका छ। उनीहरूको भेटलाई महत्वका साथ हेरिएको छ । उक्त भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल हुने बताइएको छ । आइतबार नै प्रधानमन्त्री ओलीले नेपाली समुदायसँग अन्तरक्रिया गर्ने र सोही अवसरमा आयोजित रात्रिभोजमा सहभागी हुने तालिका छ ।

सोमबार प्रधानमन्त्री ओलीले युनिसेफ भवनमा हुने ‘लिड–फ्रि फयुचर, पाटर्नरसिप लञ्च’कार्यक्रमलाई सम्बोधन गर्नेछन् । सोही दिन उनले कोलम्बिया विश्वविद्यालयमा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’को कार्यक्रममा मुख्य वक्ताका रुपमा सम्बोधन गर्नुका साथै नेपाली विद्यार्थीसँग अन्तरक्रिया गर्नेछन् । मंगलबार बिहान प्रधानमन्त्री ओली महासभाको छलफलमा सहभागी हुनेछन् ।

सोही दिन दिउँसो नेपालको स्थायी नियोगको कार्यालयमा उनी र युएसएआइडीका प्रशासक सामान्थ पावरबीच भेटवार्ता हुनेछ । सोही दिन नै प्रधानमन्त्री ओलीले र युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिचेलसँग, सामोअका प्रधानमन्त्री फिमे नाओमीसँग तथा फिनल्याण्डको राष्ट्रपति र प्रधानमन्त्रीसँग छुट्टाछट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका छ । बुधबार प्रधानमन्त्री ओली र एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच शिष्टाचार भेट हुनेछ ।

उनले ‘समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा’ विषयक समूहगत उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ । सोही क्रममा प्रधानमन्त्री ओली र बंगलादेशका प्रमुख सल्लाहकारबीच द्विपक्षयी भेटवार्ता हुनेछ । प्रधानमन्त्री ओली बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । बिहीबार प्रधानमन्त्री ओली र कतारका प्रधानमन्त्री, पाकिस्तानका प्रधानमन्त्री तथा लाओसका प्रधानमन्त्रीबीच छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता हुनेछ ।

सोही दिन प्रधानमन्त्री ओली र महासभाका अध्यक्ष फिलिमेन याङबीच बैठक हुनेछ भने प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ महासभामा विशेष सम्बोधन गर्ने कार्यतालिका छ । असोज ११ गते शुक्रबार प्रधानमन्त्री ओलीले हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः संक्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई सम्बोधन गर्ने तालिका छ ।

ओलीको सम्बोधनमा चासो

प्रधानमन्त्री केपी ओलीले अमेरिकाको हार्वर्ड युनिभर्सटी र कोलम्बिया युनिभर्सिटीमा सम्बोधन गर्ने छन् । शान्ति प्रक्रियाबारे ओलीको सम्बोधन नेपालमा चासोको विषय बनिरहेको छ । नेपालले भर्खरै शान्ति प्रक्रियालाई अन्तिम टुंगोमा पुर्याउन कानून बनाएर अघि बढिसकेको स्थिति छ । तर, माओवादी युद्धलाई हिंसा भन्दै आएका प्रधानमन्त्री ओलीले अमेरिकामा हुने सम्बोधनमा कस्तो अभिव्यक्ति दिन्छन् भन्ने चासो स्वाभाविक देखिन्छ ।

कुनैबेला अमेरिकाले समेत माओवादीलाई आतंककारीको सूचीमा राखेको थियो । तर, अहिले माओवादी शान्ति प्रक्रियामा आइसकेको र अमेरिकासँग समेत राम्रो सम्बन्ध विस्तार गरिसकेको पार्टी हो । विश्व शक्ति राष्ट्रहरूले नेपालको आन्तरिक मामलामा समेत मिहीन हस्तक्षेपका शृङ्खला थोपर्न खोज्दा नेपालका दलहरू उपयोग हुने गरेको आरोप लाग्दै आएको छ ।

नेपालको संविधान र विस्तृत शान्ति सम्झौताले माओवादी युद्धलाई स्वीकार गरिसकेको बेला हिंसा भन्दै एमालेले गरिरहेको राजनीतिले समाजको अमनचयनमा खलल त आउने होइन भन्ने शंका समेत उब्जिने गरेको छ । माओवादीले तत्कालीन समयमा गरेको १० वर्षे लामो सशस्त्र युद्धलाई एमाले पंक्ति हिंसाको रुप दिन तम्सिएको छ । तत्कालीन नेकपा स्थापनामा माओवादी युद्धलाई जनयुद्धको रुपमा स्वीकार गरेको एमाले र तत्कालीन अध्यक्ष केपी ओली फेरि माओवादी युद्धलाई हिंसा भन्न थालेका हुन् ।

ओलीले मात्रै नभएर एमाले सांसद योगेश भट्टराईले प्रतिनिधिसभामै माओवादी युद्धलाई हिंसा भनेपछि स्थिति थप बिग्रिन पुगेको छ । योगेशले कुनै समय आफैले माओवादी युद्धको प्रशंसा गर्दै दिएका अभिव्यक्तिलाई बेवास्ता गर्दै संसदमा हिंसा भनेका थिए । एमालेले यसरी माओवादी युद्धलाई हिंसा भन्न थालेपछि माओवादी केन्द्र प्रतिनिधिसभामा आक्रामक पेस भइरहेको छ ।

प्रतिनिधिसभाको वर्षे अधिवेशन अन्त्य भइसके पनि एमालेले माओवादी युद्धलाई हिंसा भनेको शब्द फिर्ता नलिएसम्म प्रतिकार गरिरहने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दाबी गरिरहेका छन् । माओवादी र एमाले फेरि शब्दको युद्धमा होमिने देखिन्छ । सत्ता सहकार्य टुटेपछि उनीहरूबिचको विवाद तीव्र बनिरहेको बेला प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका छन्, भने उनले त्यहाँका दुई विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतवार १८:११

लोकप्रिय