सूचनाको शक्ति - The Power Of Information

        

राउटे युवकको मृत्यु, १३४ मा झर्‍यो जनसंख्या

लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु भएको छ । २२ वर्षीय युवक वृषबहादुर शाहीको मृत्यु भएको हो । भदौ ३१ गते उपचारका लागि प्रदेश अस्पताल आएका युवक शाहीको उपचार संभव नभएपछि घर फर्किदै गर्दा बाटोमै मृत्यु भएको हो ।

राउटे बसोबास गरेको स्थान गुराँस गाउँपालिका–१, सिमेलसाल फर्कँदै गर्दा बुधवार राति ९ बजे सुर्खेतको कल्यान काँधमा मृत्यु भएको राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद बिसीले बताए । उनका अनुसार मृतक युवा ६ महिनादेखि बिरामी थिए ।

उपचार गर्न अस्पताल जान नमान्ने राउटे समुदायलाई सम्झाई बुझाई गर्दा बल्ल भदौ ३१ गते उपचार गर्न सहमत भएका थिए । त्यसपछि गुराँस गाउँपालिकाको सहयोगमा प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो । युवकको खकार चेक गर्दा क्षयरोग देखिएको अस्पतालले जनाएको छ ।

उपचारमा संलग्न चिकित्सकले सरुवा टिबी भएको जानकारी दिएका थिए । मृतक युवक राउटे समुदायभित्र पर्ने कल्याल जातीका मुखिया वीरबहादुर शाहीका साइँला सन्तान हुन् । मृतकका दाजु कपिल शाहीको पनि ६ वर्षअघि मृत्यु भएको थियो । २०७२ सालमा कपिल अछामको भैरवस्थानको कुजेडामा आगोले पोलिएका थिए ।

कपिल वीरबहादुर शाहीका जेठा छोरा हुन् । युवक वृषबहादुरको मृत्यु भएसँगै अब राउटेको जनसङ्ख्या घटेर १३४ मा झरेको छ । २०७५ असारदेखि यता यो समुदायमा ४३ जनाको मृत्यु भएको छ भने ३१ जनाको मात्र जन्म भएको जनाइएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार १४:४९

लोकप्रिय