सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिममा मनाइँदै ‘बूढी पोल्ने’ पर्व

बैतडीको दशरथचन्द नगरपालिका–८ त्रिपुरामा बनाइएको बूढी अर्थात राक्षसी पुतना ।

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा मंगलबार बूढी पोल्ने पर्व धुमधामसँग मनाइँदैछ । विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बूढी अर्थात राक्षसी पुतनालाई पोल्ने गरिन्छ । भाद्र सङ्क्रान्तिका दिन गाडिएको बूढीलाई मंगलबार साँझ पोल्ने चलन रहिआएको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले जानकारी दिए ।

द्वापरयुगमा भगवान श्री कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि सोही दिनको सम्झनामा बूढी पोल्ने गरिएको छ । द्वापरयुगमा विषाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्री कृष्णले दूध चुसी मारेको विजयोत्सवका रुपमा बूढी पोल्ने पर्व मनाइने गरेको हो ।

सुदूरपश्चिममा भाद्र सङ्क्रान्तिका दिन गाडिएको बूढीलाई आज साँझपख पोल्ने र सोही ठाउँमा काँक्रा खाँदै लुतो फाल्ने प्रचलनसमेत रहिआएको छ । ओल्के सङ्क्रान्तिका दिन गोठालाले बूढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगा थप्ने गर्छन् । भाद्र सङ्क्रान्तिका दिन गाडिएको बूढीलाई आज पोलेमा सुखशान्ति प्राप्त हुने विश्वास रहिआएको स्थानीय प्रेम सिंह धामीले बताए ।

बूढी जलाउँदा बनेको खरानीको तिलक बनाएर गाईलाई लगाउने चलनसमेत रहिआएको छ । ओल्के सङ्क्रान्तिका दिन गाडिएको बूढीलाई आज असोज सङ्क्रान्तिका साँझ प्रत्येक घर–घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा छ ।

पुतनाको स्वरुपमा तयार गरी सिँगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ । साँझपख काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले ‘थुई बूढी थुई’ भन्ने चलन रहिआएको छ । नयाँपुस्ताको ध्यान नपुग्दा बूढी पोल्ने पर्व पछिल्लो समय लोप हुँदै गएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलवार १५:०६

लोकप्रिय