सूचनाको शक्ति - The Power Of Information

        

विपद्बाट जोगाउन राप्तीसोनारीमा खरका छाना हटाएर जस्तापाता

राप्तीसोनारी गाउँपालिका–१ खासकुस्माका गाउँबस्तीमा खरको छाना हटाएर जस्तापाता लगाएपछि आगलागी लगायत विपद्का घटनामा कमी आएको छ । खरको छाना भएको घरमा आगलागीको जोखिम हुने भएकाले वडाभित्र रहेका विपन्न तथा सीमान्तकृत समुदायलाई लक्षित गरी आगलागीजस्ता विपद्बाट जोगाउन खरको छानामुक्त अभियान सञ्चालन गरेको वडाध्यक्ष यमबहादुर खड्काले जानकारी दिए ।

‘खरका छानामा हिउँदको समयमा आगलागीको डर हुने र वर्षायाममा पानी चुहिने समस्या भएकाले वडावासीको सुरक्षाका लागि खरको छाना हटाउने काम सुरु गरेका छाँै,’ उनले भने, ‘खरको छाना विस्थापित कार्यक्रम लागू भएपछि वडामा आगलागीका घटनामा कमी आएको छ ।’ वडामा रहेका सबै खरका छानालाई मुक्त गर्ने लक्ष्यका साथ सुरु गरिएको अभिायनअन्तर्गत हालसम्म १११ घरलाई खरको छानामुक्त गरिसकेको छ ।

चालु आर्थिक वर्षमा ५३ घरपरिवारलाई खरको छानामुक्त गर्ने योजना रहेको वडाध्यक्ष खड्काले बताए । वडाध्यक्ष खड्का २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा रहेका विपन्न तथा सीमान्तकृत समुदायको घरका छानालाई खरमुक्त गरी जस्तापाता लगाउन सुरु गरेका थिए । आर्थिक वर्ष २०७९–०८० मा रु २० लाख विनियोजन गरी ६५ घरपरिवार, आव २०८०–०८१ मा रु १५ लाख विनियोजन गरी ४६ घरपरिवार र चालु आवमा रु १५ लाख विनियोजन गरी ५३ घरपरिवारलाई खरको छानामुक्त कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष खड्काले बताए ।

कार्यक्रमको सूचीमा परेका लाभग्राही नागरिकलाई १० फिट लम्बाइ र ३२ गेज मोटाइ भएको २२ थान जस्तापाता वडा कार्यालयले प्रदान गर्ने गरेको वडाध्यक्ष खड्काको भनाइ छ । राप्तीसोनारी गाउँपालिका–१ साविकको खासकुस्मा गाविस छिमेकी जिल्ला दाङसँग जोडिएको छ । गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले वडा नं १ मा गरिएको खरको छाना हटाउने अभियान प्रभावकारी भएको बताउँदै अन्य वडाका गाउँबस्तीमा पनि खरको छाना हटाउनका लागि आफूले पहल गरिरहेको बताए ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार १०:२३

लोकप्रिय