सूचनाको शक्ति - The Power Of Information

        

सात वर्षसम्म राप्ती खानेपानी आयोजना अधुरै

राप्ती खानेपानी आयोजनाद्वारा राप्ती नदीमा निर्माण गरिएको ‘सम्प वयल’ ।

नेपालगन्जको खानेपानीको समस्या समाधान गर्न सात वर्षअघि सुरु गरिएको राप्ती खानेपानी आयोजना अझै सञ्चालन हुन सकेको छैन । आर्थिक वर्ष २०७४–०७५ बाट सो आयोजना निर्माणको काम अगाडि बढाइए पनि अझैसम्म नेपालगन्जवासीले आयोजनाको पानी उपभोग गर्न पाएका छैनन् ।

खानेपानी संस्थान नेपालगन्जका प्रमुख हरिकुमार श्रेष्ठले अहिलेसम्म पहिलो चरणको काम सकेर दोस्रो चरणको काम सुरु गर्न लागिएको बताए । उनका अनुसार बाँकेको डुडुवा गाउँपालिका–५, कम्दीस्थित राप्ती नदीबाट दैनिक दुई करोड ५० लाख लिटर पानी उत्पादन गर्ने लक्ष्यसहित खानेपानी संस्थानले उक्त आयोजनाको निर्माण सुरु गरेको थियो ।

कार्यालय प्रमुख श्रेष्ठले अहिले राप्ती नदी किनारको जग्गा विवादका कारण काम अगाडि बढ्न नसकेको जानकारी दिए । उनले ३३ करोड रुपैयाँको लागतमा सम्पन्न हुने भनिएको उक्त आयोजना अन्तर्गत राप्ती नदीदेखि नेपालगन्जसम्म ‘डिआई’ पाइप बिछ्याइएको बताए । पानीको मुहान क्षेत्रमा व्यक्तिको जग्गा परेपछि जग्गाधनीले अदालतमा मुद्दा हालेको र करिब १५ कट्ठा जति जमिन किन्नुपर्ने अवस्था देखिएको उनको भनाइ छ ।

खानेपानी आयोजनाको काम अहिलेसम्म करिब ८५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको संस्थानले जनाएको छ । पाइपलाइनका लागि कम्दीस्थित डुडुवाखोलामा ‘ट्रस्ट ब्रिज’ निर्माण गरिएको छ । हरेक वर्ष चैत, वैशाख र जेठमा नेपालगन्जका अधिकांश ठाउँमा पानीको सतह घट्ने गरेको छ । उपमहानगरका अधिकांश स्थानमा सर्वसाधारणले गाडेका ह्यान्डपम्प सुक्ने समस्या देखिएको संस्थानका सूचना अधिकारी बुद्धिप्रकाश केसीले बताए ।

उनका अनुसार यो आयोजना सम्पन्न भएपछि नेपालगन्जवासी खानेपानी समस्याबाट मुक्त हुने छन् । उक्त आयोजना अन्तर्गत राप्ती नदीमा ‘सम्प वेल’ बनाइएको छ । ‘सम्प वेल’ मा हाल दुई थान पम्प जडान गरिएको छ । हाल दैनिक ७० लाख लिटर पानी उत्पादन गरिरहेको संस्थानसँग नेपालगन्ज क्षेत्रमा अहिले करिब पाँच हजार उपभोक्ता आबद्ध छन् ।

राप्ती नदीबाट पानी आएपछि नेपालगन्ज क्षेत्रमा खानेपानी पर्याप्त हुने सूचना अधिकारी केसीको भनाइ छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले राप्ती खानेपानी आयोजना सम्पन्न भएपछि मात्र नेपालगन्जको खानेपानी समस्या समाधान हुने भएकाले सो आयोजना पूरा गर्न आफूले हरसहयोग गर्दै आइरहेको बताए ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार १८:०५

लोकप्रिय