सूचनाको शक्ति - The Power Of Information

        

मानव बेचबिखनका लागि जमुनाहा नाका अति नै जोखिमपूर्ण

पश्चिम नेपालका विभिन्न पहाडी र तराईका जिल्लाको प्रमुख नाकाको रुपमा रहेको नेपालगन्जस्थित जमुनाहा नाका मानव बेचबिखनका लागि अति नै जोखिमपूर्ण मानिन्छ । यो नाकाबाट जोखिमपूर्ण रुपमा भारत छिराउन वा छिर्न लागेका सयौँ महिला तथा युवतीहरूलाई हरेक वर्ष उद्धार गरेर घर फर्काउने गरिएको छ ।

मानव बेचबिखन बढ्न थालसँगै पछिल्लो समयमा मानव बेचबिखन विरुद्धका मुद्दाहरू पनि प्रहरीमा दर्ता हुने क्रम बढेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार गत तीन आर्थिक वर्षमा मानव बेचबिखनविरुद्धका ४७ वटा मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीले आर्थिक वर्ष २०७८–०७९ मा मानव बेचबिखन विरुद्धका १७ वटा मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७९–०८० मा १३ र २०८०–०८१ मा पनि १३ वटा मुद्दा दर्ता भएको बताए । उनले चालु आर्थिक वर्ष २०८१–०८२ को हालसम्म चार वटा मुद्दा दर्ता भइसकेको र अनुसन्धान भइरहेको बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएका मुद्दामध्ये १० वटा बाहेक सबै मुद्दामा प्रहरीले अनुसन्धान गरी अदालतमा पेस गरिसकेको पनि एसपी कार्कीले बताए । माइती नेपालका अनुसार ती सबैलाई परिवारसँग पुनर्मिलन गराइएको छ । यसैगरी भारतका विभिन्न ठाउँबाट नौ जना महिला तथा बालबालिकालाई उद्धार गरिएको माइती नेपाल नेपालगन्जले जनाएको छ ।

माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाका अनुसार पछिल्लो समय पढेलेखेका, आर्थिक रूपले सम्पन्न, महिला, पुरुष सबै तप्काका मानिसहरू मानव बेचबिखनमा परिरहेका छन् । जमुनाह नाकाबाट कामका लागि तेस्रो मुलुक जाने नाममा भारतको बाटो प्रयोग गर्दा पनि मानिसहरू मानव बेचबिखनमा परेको उनले बताए ।

अर्कोतिर पैसाका लागि जस्तोसुकै काम गर्ने महत्त्वाकाङ्क्षा र सामाजिक सञ्जालको दुरुपयोगकर्ताको निशानामा पर्दा पनि महिला बेचबिखनमा पर्ने गरेको पाइएको छ । प्रमुख कोइरालाले माइती नेपालले भारतमा बेचबिखनमा परेकालाई अपरेसन चलाएर उद्धार गरी ल्याउने गरेको जनाउँदै पछिल्लो समय माइती नेपालमा खाडी मुलुकबाट समेत आफू बेचबिखनमा परेको र उद्धार गरिदिन भन्दै निवेदन आइरहेको बताए ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार १७:५०

लोकप्रिय