नेपालगन्ज-बघौडा हुलाकी सडक अन्तर्गत बाँकेको डुडुवा गाउँपालिका-४ स्थित डुडुवा खोलामा पुल निर्माण भएपछि सवारी आवागमनमा सहज भएको छ । यसबाट डुडुवा खोलामा जीर्ण अवस्थामा रहेको साँघुरो पुलमा वारपार गर्न पालो पर्खिनुपर्ने बाध्यता हटेको छ । यसअघि पुल साँघुरो भएका कारण एकतर्फी मात्र सवारीसाधनले पुल वारपार गर्नुपर्ने अवस्था थियो ।
डुडुवामा दुई लेन फराकिलो नयाँ पुल बनेपछि सवारीसाधन आवागमनमा सहज भएको नरैनापुर–३ निवासी ताज मोहम्मद खानले बताए । नयाँ पुल सञ्चालनमा आएपछि समयको बचतसँगै दुर्घटनाको जोखिम हटेको उनको भनाइ छ । यो पुलको निर्माण तोकिएको समयभन्दा करिब छ महिनाअघि नै सम्पन्न भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले बताए ।
आगामी पुस महिनासम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनी नारायणम निर्माण सेवा प्रालि नेपालगन्जले गत असारभित्रै सम्पन्न गरेको उनले जानकारी दिए । उनका अनुसार, हुलाकी सडक अन्तर्गत यसअघि निर्माण गरिएको पुल साँघुरो भएपछि नयाँ पुल निर्माण गरिएको हो । नयाँ पुल दुवैतर्फ एक दशमलव ७५ मिटर पदमार्गसहित ११ मिटर चौडाइको छ । दुई स्पान रहेको पुल ६६ मिटर लामो छ ।
पुल निर्माण २०८१ पुस ४ गते सम्पन्न गर्नेगरी २०७९ असार ५ गते सम्झौता भएको थियो । निर्माण कम्पनीले निर्धारित समयभन्दा छ महिनाअघि २०८१ असार २३ गते नै निर्माण सम्पन्न गरेको हो । रु १० करोड ७१ लाखमा पुल निर्माण हुने सम्झौतामा उल्लेख भए पनि रु १० करोड ४३ लाखमा काम सम्पन्न भएको आयोजना प्रमुख भण्डारीले बताए ।
यो पुल निर्माण भएपछि बाँकेको डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकासहित नेपालगन्ज सिधनिया हुँदै अगैयास्थित पूूर्व–पश्चिम राजमार्ग पुग्ने नागरिकलाई आवागमनमा सहजता भएको राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारूले बताए । नेपालगन्ज–बघौडा सडकको पुष्पलाल चोकबाट डुडुवाखोला पुलसम्मको १० किलोमिटर सडकखण्ड स्तरोन्नति भएको छ ।
सडकखण्डमा दुवैतर्फ सडक विस्तार गरी कालोपत्र भएपछि सवारीको चाप पनि बढ्दै गएको छ । नेपालगन्जबाट राप्ती नदी तरेर राप्तीसोनारीको फत्तेपुर, विनौना बैजापुर हुँदै अगैयासम्मको हुलाकी सडकको दूरी छोटो भएका कारण नेपालगन्जबाट पूर्वपश्चिम राजमार्गको कोहलपुर हुँदै अगैयासम्म जाने सवारी साधनहरूले विकल्पमा यो सडक प्रयोग गर्दै आएको राप्तीसोनारीका अगुवा तुलसी थारूले बताए ।
नेपालगन्जदेखि राप्तीपारी हुँदै अगैयासम्म सडकको दूरी करिब ३५ किलोमिटर छ भने कोहलपुरबाट पूर्वपश्चिम राजमार्गको बाँके राष्ट्रिय निकुञ्ज हुँदै अगैया पुग्नका लागि करिब ६१ किलोमिटरको दूरी छ । दूरी छोटो पर्ने भएकाले सवारीसाधनले अगैयासम्म पुग्नका लागि डुडुवा पुल हुँदै राप्तीपारीकै सडक रोज्ने गरेका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके