सूचनाको शक्ति - The Power Of Information

        

छाडा चौपायाले चुनौति

नेपालगन्जका मुख्य सडकमा चौपाया निस्किँदा दुर्घटनाको जोखिम

छाडा चौपायाका कारण नेपालगन्जको ट्राफिक व्यवस्थापनमा समेत समस्या हुँदै आएको छ ।

नेपालगन्जमा मुख्य सडक नै छेकेर बस्ने छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढ्दै गएको छ । सहरका अधिकांश मुख्य चोक र सडकमा छाडा घोडा, गाई गोरु लगायतका चौपायाले कब्जा गरेपछि सडक दुर्घटनाको चुनौती थपिनुका साथै सर्वसाधारणलाई आवागमनमा समस्या भइरहेको नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।

उपमहानगरपालिकाले छाडा चौपाया छोड्नेलाई जरिवाना तिराउने निर्णय गरेपनि सो निर्णय कार्यान्वयन नहुँदा समस्या भएको उनको गुनासो छ । नेपालगन्जको त्रिभुवन चोक, धम्बोझी चोक, बीपी चोक, पुष्पलाल चोक र गणेशमान चोक, सदरलाइन क्षेत्रमा सबैभन्दा बढी छाडा गाईगोरु भेटिने गरेका छन् । ती क्षेत्रमा दुर्घटनाको जोखिमसँगै आवागमनमा पटक–पटक अवरोधसमेत हुने गरेको सदरलाइनका व्यापारी दिपानन्द गुप्ताले बताए ।

गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी १२ पशुचौपायाको मृत्यु भएको थियो । तीन पशुचौपाया घाइते भएका थिए । यी दुर्घटनामा परी केही व्यक्ति घाइते भएका थिए । छाडा चौपायाका कारण नेपालगन्जको ट्राफिक व्यवस्थापनमा समेत समस्या हुँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले बताए ।

नेपालगन्ज उपमहानगरपालिकासँग समन्वय गरेर नेपालगन्जको छाडा चौपाया समस्या न्यूनीकरणको लागि योजनाबद्ध तरिकाले काम भइरहेको उनले बताए । छाडा चौपायाको समस्या देखिएपछि अहिले सहरबाट धपाएर काञ्जीहाउसमा लैजाने गरेको उनको भनाइ छ । जथाभावीरुपमा पशुचौपाया छाडा छाडिदिँदा दुर्घटनाको जोखिम बढेपछि नेपालगन्ज उपहानगरले नगरमा छाडा छाडिएका पशुचौपाया व्यवस्थापन गर्न थालेको नगर प्रमुख प्रशान्त विष्टले बताए ।

‘छाडापशु चौपायाले सडक कुरुप बनेको छ, दुर्घटनाको जोखिम बढेको छ,’ उनले भने, ‘सम्बन्धित पशुधनीले आफै सडकमा पशु छाड्ने गरेका छन्, पशुचौपाया घरमै बाँधौँ, अन्यथा कारबाही गर्न बाध्य हुनेछौँ ।’ नेपालगन्जमा खुला सिमानाका कारण पनि छाडा पशुचौपाया व्यवस्थापनमा चुनौती थपिएको उनको भनाइ छ । नगरका चोकमा रहेका छाडा पशुचौपायालाई धपाउँदै काञ्जीहाउस लैजान थालिएको छ । यो हप्तामात्रै १०० भन्दा बढी छाडा पशुचौपायालाई पुरैनाको विर्तास्थित काञ्जीहाउसमा राखिएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिए ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार १०:५८

लोकप्रिय