सूचनाको शक्ति - The Power Of Information

        

सम्झौता सकिनै लाग्दा परसपुर-गौघाट सडक निर्माण अलपत्र

निर्माणाधीन परसपुर-गौघाट सडकखण्ड ।

बाँके र बर्दियाको पश्चिम क्षेत्रका जनताले दैनिक दुःख पाइरहेको नेपालगन्जको परसपुर–गौघाट सडकखण्डको कालोपत्रे निर्धारित समयमा नबन्ने भएको छ । भदौ २५ गते सडक निर्माणको सम्झौता सकिँदै छ ।

काम भने एक चौथाइ अर्थात् २० प्रतिशत मात्र भएको छ । सङ्घीय सरकारको लगानीमा बन्न लागेको १४ किलोमिटर लामो सडकखण्ड निर्माणका लागि कन्काई–गणपति जेभीले ठेक्का पाएको थियो । करिब १४ करोडमा बन्न लागेको सडक कालोपत्रे कार्यमा भने सुरुवातदेखि नै ढिलाइ हुँदै आएको थियो ।

सडकको कालोपत्रे नहुँदा यहाँका स्थानीयले थप दुःख पाइरहेका छन् । नेपालगन्ज उपमहानगरपालिका, जानकी, खजुरा गाउँपालिका र बर्दिया बढैयाताल गाउँपालिकाका जनताले यो सडक दैनिक प्रयोग गर्ने गर्छन् । सडक डिभिजन कार्यालय नेपालगन्जका प्रवक्ता इन्जिनियर अमिर सुवेदीका अनुसार हालसम्म योजनाको २० प्रतिशत मात्र काम सकिएको छ ।

सडकको केही भागमा नालाको काम र माटो पटानभन्दा अरू केही प्रगति भएको छ । निर्माणको गतिलाई बढाउन ठेकेदार कम्पनीलाई पटक पटक ताकेता गरे पनि सम्पर्कमै नआउने गरेको इन्जिनियर सुवेदीले बताए । ठेक्का पाएको कम्पनीको लापर्बाहीका कारण समयमै योजना सम्पन्न नहुने उहाँले बताए ।

उनले भने, ‘हामीले समयमै योजना सम्पन्न गर्न ठेकेदार कम्पनीलाई दबाब दिँदै आएका छौँ । कानुनी रूपमा कार्बाहीका लागि प्रक्रिया पनि अगाडि बढाएका छौँ तर प्रगति भने निराशाजनक छ ।’ सम्झौता अनुसार कन्काई–गणपति जेभीले २०७९ वैशाखदेखि निर्माण कार्य सुरु गरेर २०८१ साल भदौ २५ गतेसम्म योजना सम्पन्न गर्नुपर्ने सर्त रहेको छ ।

निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दै यहाँका स्थानीयले आन्दोलन गरेका थिए । खजुराका जनताले स्थानीय जनप्रतिनिधि र सडक डिभिजन कार्यालयमा गएर सडक निर्माण कार्यलाई छिटो सम्पन्न गर्न दबाब दिँदै आएका छन् । सडक समयमै निर्माण नभएको भन्दै स्थानीयले खजुरा गाउँपालिका–२ को कार्यालयमा तालाबन्दीसमेत गरेका थिए ।

२०७४ सालमा सडकको कालोपत्रे निकालेर पिच गर्ने योजना थियो तर हालसम्म पनि सडकको स्तरवृद्धि हुन सकेको छैन । चार महिनाअघि आन्दोलनको अगुवाइ गर्नुभएका स्थानीय रेशम क्षेत्रीले ठेकेदार कम्पनीले सम्झौता अनुसार बाटो निर्माण कार्य समयमै गर्नुपर्ने माग राख्नुभएको थियो । पटक–पटक निर्माण कम्पनीलाई दबाब दिए पनि काम हुन नसकेको खजुरा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष धनराम ओलीले बताए ।

वडा कार्यालयमा लागेको ताला सहमतिमा खोलेपछि वडाध्यक्ष ओलीले ठेकेदार कम्पनीले काम नगरे कानुनी रूपमा कारबाहीका लागि सरकारले प्रक्रिया अगाडि बढाउनुपर्ने बताए । यसैगरी गत माघ महिनामा सम्झौता अनुसार सन्तोषजनक काम नगरेको भन्दै सडक डिभिजन कार्यालय नेपालगन्जले कन्काई–गणपति जेभीसहित नौ वटा कम्पनीलाई सात दिनभित्र लिखित प्रतिवेदनसहित कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरेको थियो ।

कन्काई–गणपति जेभीका प्रमुख तुलसीराम भण्डारीले भदौ २५ गतेसम्म निर्माण कार्य सम्पन्न हुन नसक्ने बताए । अहिले बर्सातको समय भएकाले पिच गर्न नसकिने भन्दै केही समय माग गर्ने भण्डारीले बताए । उनले भने, ‘करिब आठ महिना अझै समय लाग्छ । त्यसका लागि हामी सरकारसँग समय माग गर्छौं ।’

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार १०:१५

लोकप्रिय