सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज रङ्गशालाको ‘सेन्थेटिक ट्र्याक’बारे थालियो छानबिन

नेपालगन्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्र्याक’मा उप्किएको विषयमा अध्ययन गर्न गठन भएको उपसमितिले रङ्गशालामा पुगेर छानबिन सुरु गरेको छ । निर्माण गरेको एक महिना नबित्दै सेन्थेटिक ट्र्याक उप्किएको विषय बाहिर सार्वजनिक भएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य लेखबहादुर क्षेत्रीको संयोजकत्वमा गठित तीन सदस्यीय अध्ययन उपसमितिले रङ्गशालामा पुगेर छानबिन गरिरहेको छ ।

साविक मध्यपश्चिमाञ्चल खेलकुद विकास समिति कार्यालयका प्रमुख महेश चन्दका अनुसार सेन्थेटिक ट्र्याक निर्माणका क्रममा निर्माण पक्षबाट प्राविधिक रूपमा के कस्तो त्रुटि भयो वा के कति कारणले ट्र्याक उप्कियो सो बारेमा सुक्ष्म अनुसन्धान भइरहेको छ । अध्ययन उपसमितिका संयोजक राखेप सदस्य क्षेत्रीले प्रारम्भिक अध्ययनका क्रममा जडानमा कमजोरी भएर सेन्थेटिक ट्र्याकको ‘डि एरिया’मा उप्किएको, उत्तर–दक्षिण साइडमा विभिन्न स्थानमा पानी जमेको पाइएको बताए ।

उनले भने, ‘हामीले औपचारिक रूपमा अध्ययन गरिरहेका छौँ । यसमा केही कमी, कमजोरी देखिएका छन्, त्यसलाई लिपिबद्ध गरेर प्रतिवेदन तयार पार्छौँ ।’ रङ्गशालामा रहेका निर्माण कम्पनीका प्राविधिक मनिषकुमार शाहले यो नेपालमा यस्तो पहिलो घट्ना भएको जनाउँदै के कति कारणले भयो ? आफूहरूले पनि खोजी गरिरहेको बताए । उनले सेन्थेटिक ट्र्याक निर्माण गुणस्तरीय प्रविधिको प्रयोग गरी गरिएको जनाउँदै कसरी उप्कियो भन्ने विषयमा आफूहरूले पनि बुझ्न नसकेको बताए ।

राखेपले सेन्थेटिक ट्र्याक निर्माण गर्न ठेकेदार कम्पनी ‘पञ्चकन्या–सिन्कोट्स जेभी’ ललितपुरलाई रु नौ करोड ८६ लाख ४० हजार ८३२ मा ठेक्का दिएको थियो । सन् २०२३ मार्च २३ मा ठेक्का सम्झौता भएकामा सन् २०२४ जनवरी ५ मा काम सम्पन्न गरिसक्नुपर्नेमा ठेकेदार कम्पनीले गत असार मसान्त (जुन १५) मा मात्र काम सम्पन्न गरेको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार १६:४७

लोकप्रिय