सूचनाको शक्ति - The Power Of Information

        

सडक विभागकै लाहपर्वाही

सञ्चालन नहुँदै अलपत्र नेपालगन्जका ‘ट्राफिक लाइट’

ट्राफिक लाइट जडानपछि केही दिन ‘ट्रायल’का लागि सञ्चालन गरिए पनि त्यसयता रातो, पहेँलो र निलो बत्ती बल्ने ट्राफिक लाइट अहिले बन्द अवस्थामा छन् ।

नेपालगन्जको गणेशमान चोकमा जडान गरिएको ट्राफिक लाइट ।

नेपालगन्जमा सवारी चाप बर्सेनि बढ्दो छ । सवारी चापलाई व्यवस्थापन गर्न गत वर्ष सडक विभागले नेपालगन्जका मुख्य चोकमा ट्राफिक लाइट राख्यो । सडक विभागले नेपालगन्जका मुख्य पाँच वटा चोकमा ट्राफिक लाइट राख्ने काम भए पनि अहिलेसम्म पूर्णरूपमा सञ्चालनमा नआउँदै अलपत्र जस्तै बनेका छन् ।

विभागले गणेशमान चोक, विपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक र राझा चोकमा लाइट जडान गरेको हो । सडकमा ट्राफिक लाइट त छन् तर प्रयोगमा आएको छैन । ट्राफिक लाइट जडान गरे पनि ट्राफिक प्रहरीले हात र सिठीको सहारामा लाखौँ सवारी साधनको चाप व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ ।

पछिल्लो समय नेपालगन्जमा सवारी साधनको चाप बढेसँगै गएको थियो । ट्राफिक लाइट जडान भए पनि सञ्चालनमा नआएको ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले बताए । उनले भने, ‘लाइट सञ्चालनमा आएको भए दुर्घटना न्यूनीकरण र सहर व्यवस्थापनमा सहयोग पुग्ने थियो ।’

सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखा काठमाडौँसँग ठेकेदार कम्पनी भिजन इन्जिनियरिङ कन्स्ट्रक्सन, पिभिजन इन्जिनियरिङ सोलुसन काठमाडौँले २०८० साल माघ २१ गतेभित्र काम सम्पन्न गर्ने गरी २०७९ साल पुस महिनामा रु.एक करोड ५९ लाख (भ्याटसमेत)मा सो कामका लागि ठेक्का सम्झौता गरेको थियो ।

टेन्डर भएको केही वर्षपछि पाँच ठाउँमा ट्राफिक लाइट जडान भए पनि यसले पूर्णता पाएको छैन । ट्राफिक लाइट जडानपछि केही दिन ‘ट्रायल’का लागि सञ्चालन गरिए पनि त्यसयता रातो, पहेँलो र निलो बत्ती बल्ने ट्राफिक लाइट अहिले बन्द छन् । प्रविधिमैत्री व्यवस्थापन नहुँदा नेपालगन्जको ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे परिरहेको छ ।

‘विभागबाट लाइटसँग सम्बन्धित सिस्टम हामीलाई ह्यान्डओभर भएको छैन । हामी सिस्टममा काम गर्न तयारीमा छौँ,’ ट्राफिक प्रहरी प्रमुख सुवेदीले भने, ‘यसको कन्ट्रोल ट्राफिक प्रहरीसँग हुनुपर्छ, त्यसको पनि कुनै टुङ्गो छैन ।’ उनले ट्राफिक लाइट सञ्चालन गर्न सके सहज हुने सङ्केत गर्दै यसले ट्राफिक व्यवस्थापनमा निकै सहज हुने सुनाए ।

जिल्ला ट्राफिक कार्यालयसँग अहिले २४ जनाको दरबन्दी छ । जसमा बाँके जिल्लाभर झण्डै ६५ ट्राफिक प्रहरी व्यवस्थापनमा खटिएका छन् । ‘म्यानुअलभन्दा लाइटले काम गर्दा सहज हुन्छ । ट्राफिक लाइट सञ्चालन भएसँगै च्यालेन्ज छ । सडकमा सबै नियमसँग अभ्यस्त हुँदैनन् । सुरुमा च्यालेन्ज भए पनि बिस्तारै सहज हुन्छ,’ उनले भने ।

नेपालगन्जमा ट्राफिक लाइट जडान कार्यका लागि तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले २०७९ भदौ २९ गते शिलान्यास गरेका थिए । ठेकेदार कम्पनी भिजन इन्जिनियरिङ कन्ट्रक्सन, पिभिजन इन्जिनियरिङ सोलुशन काठमाडौंले नेपालगन्जमा ट्राफिक लाइट जडान सकिएको र सञ्चालनको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

‘सबै स्थानहरुमा लाइट तथा कन्ट्रोलर जोड्ने काम सकिएको पनि निर्माण कम्पनीले जनाएको छ । तर फिनिसिङ गर्नुपर्ने काम नसकिएपछि नेपालगन्जमा ट्राफिक लाइट पनि अलपत्र परेका छन् । ट्राफिक लाइट जडान भएको पाँच महिना बितिसक्दा पनि सञ्चालनमा नआउनु निर्माण कम्पनी र सडक विभागको गम्भीर लाहपर्वाही भएको नेपालगन्जबासी बताउँछन् ।

ट्राफिक लाइट सञ्चालनमा आएको दुई वर्षसम्म मर्मत सम्भार तथा हेरचाहको जिम्मेवारी कम्पनीसँगै हुनेछ भने दुई वर्षसम्मको विद्युत महसुल सडक विभाग आफैंले भुक्तान गर्ने सम्झौतामा उल्लेख छ । भविष्यमा क्यामेरासमेत जडान गर्न मिल्ने गरी व्यवस्थित र वैज्ञानिक ढङ्गबाट ट्राफिक लाइट जोड्ने काम भएको निर्माण कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार १३:१३

लोकप्रिय