सूचनाको शक्ति - The Power Of Information

        

९९ प्रतिशत नेपालीका घरमा बिजुली

नेपालका ७५३ स्थानीय तहमध्ये ५३९ मा पूर्ण विद्युतीकरण भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार १९६ स्थानीय तहमा भने आंशिक रूपमा मात्रै विद्युतीकरण भएको छ । १८ स्थानीय तहमा भने प्राधिकरणले राष्ट्रिय प्रसारणको विद्युत् पुर्याउन सकेको छैन ।

राष्ट्रिय प्रसारण ग्रिड नपुगेका १८ स्थानीय तहका बासिन्दाले लघु जलविद्युत् र सौर्य ऊर्जाबाट विद्युत् उपभोग गरिरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले मुलुकभरिका स्थानीय तहका गाउँपालिका र नगरपालिकाका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ्क, २०८१ का अनुसार कुल जनसङ्ख्याको ९९ प्रतिशतमा विद्युत्को पहुँच छ ।

विद्युत्का ग्राहक सामुदायिक सहित ५९ लाख ३५ हजार पुगेका छन् । विद्युत्को पहुँच पुगेको जनसंख्यामध्ये ९७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र दुई प्रतिशतले ग्रिडभन्दा बाहिर रहेका लघु जलविद्युत्, सौर्य ऊर्जा लगायतबाट विद्युत् उपभोग गरिरहेको प्राधिकरणको तथ्याङ्क छ । ७५३ स्थानीय तहमध्ये ५९० स्थानीय तहमा ९५ देखि शतप्रतिशतसम्म विद्युतीकरण भएको छ ।

७२ स्थानीय तहमा ७५–९५ प्रतिशतसम्म विद्युतीकरण भएको छ । ३३ प्रतिशत स्थानीय तहमा ५०–७५ प्रतिशतसम्म, २६ स्थानीय तहमा २५–५० प्रतिशतसम्म र ३२ स्थानीय तहमा ०–२५ प्रतिशतसम्म विद्युतीकरण गरिएको जनाइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालू आर्थिक वर्षभित्र सबै नेपालीको घरमा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुर्याउने नेपाल सरकारको घोषणालाई कार्यान्वयन गर्न तयारी भइरहेको बताए ।

उनले आव २०७२–०७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र भएकोमा अहिले बढेर ९९ प्रतिशत पुग्नु ठूलो सफलता भएको बताए । ‘विद्युत् पुगेका ठाउँमा भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रणाली सुधार तथा विस्तार र नपुगेका ठाउँमा विद्युत् पुर्याउने कार्यलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेका छौँ,’ कार्यकारी निर्देशक घिसिङले भने ।

सात प्रदेशमध्ये मधेसमा शतप्रतिशत विद्युतीकरण भएको छ । कोशीमा ९९.३० प्रतिशत, बागमतीमा ९९.९७ प्रतिशत, गण्डकीमा ९९.४० प्रतिशत र लुम्बिनीमा ९८.४९ प्रतिशत विद्युतीकरण भएको छ । कर्णाली प्रदेशमा सबैभन्दा कम अर्थात् ७४.३८ प्रतिशत मात्र विद्युतीकरण छ । सुदूरपश्चिम प्रदेशमा ८६.५८ प्रतिशत विद्युतीकरण गरिएको छ ।

७७ जिल्लामध्ये हुम्लामा अझै राष्ट्रिय प्रसारण ग्रिड पुग्न सकेको छैन । हुम्लामा लघु जलविद्युत्, सौर्य ऊर्जा लगायत विद्युत् आपूर्ति भइरहेको छ । ७७ जिल्लामध्ये ५६ जिल्लामा ९५ देखि शतप्रतिशत विद्युतीकरण भएको छ । १० जिल्लामा ७५–९५ प्रतिशतसम्म, पाँच जिल्लामा ५०–७५ प्रतिशतसम्म र ६ जिल्लामा २५–५० प्रतिशतसम्म विद्युतीकरण गरिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार ०६:३८

लोकप्रिय