सूचनाको शक्ति - The Power Of Information

        

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषिमा मनसुन अनुकूल हुँदा ६ प्रतिशतले बढ्यो धान रोपाइँ, उत्पादन बढ्ने अपेक्षा !

सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिममा र कम मधेस प्रदेशमा भएको छ ।

यसवर्ष मनसुन अनुकूल रहँदा देशभर हुने धान रोपाई लगभग सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आइतबारसम्म देशभरी कुल रोपाइँ हुने क्षेत्रफलको ९८.४ प्रतिशतमा धान रोपाइँ सकिएको हो । मुलुकभर धानखेती हुने क्षेत्रफल १३ लाख ९८ हजार २७३ हेक्टर रहेको मन्त्रालयको तथ्याङ्क छ ।

सो मध्ये आइतबारसम्म १३ लाख ७७ हजार २१६ हेक्टरमा रोपाइँ सकिएको हो । जुन रोपाइँ भएको क्षेत्रफल गत वर्षको तुलनामा ६ प्रतिशतले बढी हो । २०८० भदौ १ सम्म ९२.४ प्रतिशत मात्रै रोपाइँ भएको थियो । कोशी प्रदेशबाहेक सबै प्रदेशमा रोपाइँ सकिएको मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर केसीले बताए ।

बिगतमा जस्तो रासायनिक मलको हाहाकार नहुँदा रोपाइँ समयमै सकिएको मन्त्रालयको दाबी छ । ‘यस बर्ष धानबालीका लागि आवश्यक पानी, रासायनिक मल र बीउ सहजै उपलब्ध भयो, विगतमा जसरी मलकै लागि हाहाकार भएन,’ मन्त्रालयका प्रवक्ता केसीले भने, ‘त्यसैले यस वर्ष समयमै रोपाइँ सकिएको छ ।’

सुदूरपश्चिममा शतप्रतिशत रोपाइँ, मधेशमा सबैभन्दा कम

मन्त्रालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिममा र कम मधेस प्रदेशमा भएको छ । पूर्वक्षेत्रमा ढिलोगरी धान राप्ने भएकाले पनि रोपाइँ कम भएको मन्त्रालयले जनाएको हो । सबै प्रदेशमा नै अघिल्लो वर्षको तुलनामा यो वर्ष बढी रोपाइँ भएको छ ।

यस बर्ष सुदूरपश्चिम प्रदेशमा शत प्रतिशत रोपाई भएको छ । क्षेत्रफलको आधारमा यस बर्ष सुदूरपश्चिम प्रदेशमा १ लाख ७४ हजार ५०१ हेक्टरमा रोपाइँ भएको हो । गत वर्ष भने सदुरपश्चिममा धान खेती हुने क्षेत्रको ९९.२ प्रतिशत रोपाइँ भएको थियो ।

क्षेत्रफलका आधारमा यो वर्ष सबैभन्दा धेरै रोपाइँ मधेश प्रदेशमा भएको छ । यस बर्ष मधेसमा ३ लाख ८६ हजार १५० हेक्टर रोपाइँ हुने क्षेत्रफल रहेको मधेश प्रदेशमा ३ लाख ७५ हजार ६१४ हेक्टरमा रोपाइँ भएको हो । जुन ९७.३ प्रतिशत हो । जबकि गत वर्ष १४.७ प्रतिशत कम अर्थात् ८२.६ प्रतिशत मात्रै रोपाइँ भएको थियो ।

अन्य कुन प्रदेशमा कति ?

मधेश प्रदेशपछि सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा ३ लाख ६ हजार ३७७ हेक्टरमा रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा गत वर्ष ९५ प्रतिशत रोपाइँ हुँदा यो वर्ष ९८.३ प्रतिशत भएको हो । यस प्रदेशमा पनि गत वर्षभन्दा रोपाई भएको क्षेत्रलफल बढेको छ । लुम्बिनीमा धान रोपाइँ हुने कुल क्षेत्रफल ३ लाख ११ हजार ६४३ हेक्टर हो ।

यस्तै कोसी प्रदेशमा ९९.१ प्रतिशत अर्थात् २ लाख ७३ हजार ८७३ हेक्टर रोपाइँ भएको छ । कोसीमा धान रोपाइँ हुने कुल क्षेत्रफल २ लाख ७६ हजार ३८६ हेक्टर हो । गत वर्ष कोसीमा ९६.६ प्रतिशत मात्रै रोपाइँ भएको थियो । बागमती प्रदेशमा धान खेती हुने कुल क्षेत्रफल १ लाख १२ हजार २७३ हेक्टरमध्ये १ लाख ११ हजार ३५१ हेक्टरमा रोपाइँ भएको छ ।

गत वर्ष ९३.३ प्रतिशत मात्रै रोपाइँ भएको बागमतीमा यो वर्ष ९९.२ प्रतिशत रोपाइँ भएको हो । त्यस्तै गण्डकी प्रदेशमा पनि यो वर्ष रोपाइँ बढेको छ । गत वर्ष कुल ९६ हजार ५३ हेक्टरको ९४.२ प्रतिशत मात्रै भएको थियो । यो वर्ष ९३ हजार ९२१ हेक्टर अर्थात् ९७ प्रतिशत रोपाइँ भएको हो ।

कर्णाली प्रदेशमा कुल धान खेती हुने क्षत्रेफलको ९९.२ प्रतिशत अर्थात् ४१ हजार ९०४ मध्ये ४१ हजार ५७८ हेक्टर रोपाइँ भएको छ । गत वर्ष कर्णालीमा प्रदेशमा कुल रोपाइँ हुने क्षेत्रफलको ९.५ प्रतिशत मात्रै रोपाइँ भएको थियो ।

उत्पादन बढ्ने अनुमान

यस वर्ष धानको उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । रोपाइँमा भएको उत्साहसँगै यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष ०८०–०८१ मा धानको उत्पादकत्व प्रतिहेक्टर ४.९७ टन थियो । रोपाइँ भएको क्षेत्रफलबाट ५७ लाख २४ हजार २३४ टन धान उत्पादन भएको थियो ।

यसपालि थप बढ्ने मन्त्रालयको दाबी छ । ‘यस बर्ष रोपाइँ राम्रो भएको छ । किरा–रोगको समस्या नभए उत्पादन बढ्नुपर्छ ’ केसीले भने । यता, करिब ६२ प्रतिशत परिवारको प्रमुख पेसा कृषि रहेको मन्त्रालयको तथ्याङ्क छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत छ ।

उत्पादन बढे पनि रोकिँदैन आयात

मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०८०–०८१ मा ५७ लाख २४ हजार २३४ टन धान उत्पादन भयो । जुन आर्थिक बर्ष २०७९–०८० मा तुलनामा ४.३३ प्रतिशतले बढी हो । उक्त आवमा ५४ लाख ८३ हजार ४७२ टन उत्पादन भएको थियो । नेपालमा वार्षिक ७२ देखि ७५ लाख मेट्रिक टन धानको माग हुने गरेको छ ।

तर, गत आवमा धानको उत्पादन बढेता पनि आयात भने रोकिएको छैन । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आवमा १२ अर्ब ५ करोड ४४ लाख ७९ हजार रुपैयाँ बराबरको ३१ करोड ९० लाख ११ हजार ८५० केजी धान आयात भएको छ ।

यता, धानको बिउ आयातमा नेपालले ८८ करोड ६६ लाख ९ हजार रुपैयाँ बराबरको २१ लाख ७ हजार ४९३ केजी धानको बिउ आयात भएको छ भने, ९ अर्ब २८ करोड ९८ लाख ५६ हजार रुपैयाँ बराबरको ८ करोड ८७ लाख २३ हजार ५०६ किलो चामल आयात भएको भन्सार विभागको तथ्याङ्क छ । नेपालमा भारत, इटली, थाइल्याण्ड लगायतका देशहरूबाट चामल आयात हुने गरेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार १४:२३

लोकप्रिय