सूचनाको शक्ति - The Power Of Information

        

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सकस

पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवालाई ‘विशेष सहुलियत’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे भन्छन्, ‘एक वर्षसम्म यी विमानस्थलहरू सञ्चालन भइसकेपछि पछि स्वतः स्वाभाविक नियमित प्रक्रियामा जान्छन् भन्ने हामीलाई विश्वास छ ।’

सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विशेष किसिमको सहुलियत दिने र ती विमानस्थलमा बिक्री गरिने हवाई इन्धनको मूल्यमा समेत पुनर्विचार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको कार्ययोजनालाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको हो ।

सरकारले आगामी नोभेम्बर ८ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि रातिको समयमा उडानहरू बन्द गर्ने तयारी गरिरहँदा पछिल्लो कदमले केही वायुसेवाहरूलाई पोखरा र भैरहवास्थित दुई वटा विमानस्थलबाट उडानहरू गर्न प्रेरित गर्ने अपेक्षा अधिकारीहरूले गरेका छन् । भैरहवा विमानस्थलमा केही समय तालिकाबद्ध अन्तर्राष्ट्रिय उडान भए पनि त्यो नियमित हुन सकेको छैन । पोखरा विमानस्थलमा भने हालसम्म त्यस्तो उडान भएको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले वायुसेवा कम्पनीहरूको समेत सुझावलाई ध्यान दिएर ०८३ भदौसम्म लागु हुने गरी उक्त निर्णय लिइएको बताए ।

कस्तो सहुलियत ?

सरकारका अनुसार उक्त कार्ययोजनाले पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान प्रोत्साहित गर्नका लागि टिकट शुल्कमा लाग्ने गरेको मूल्य अभिवृद्धि कर (भ्याट) र अन्य कतिपय सेवा शुल्कहरू तत्कालका लागि नलिने निर्णय गरिएको छ । भ्याट नजोडिदा टिकटको मूल्य घट्ने भएकाले त्यसले पर्यटकसहित अन्य यात्रुलाई ती विमानस्थलतर्फ आकर्षित गर्न सक्ने अधिकारीहरूको आकलन छ । त्यसबाहेक पर्यटन बोर्ड र नागरिक उड्डयन प्राधिकरणले लिने गरेका शुल्क नलगाउने र हवाई इन्धनको मूल्य पनि काठमाडौंको तुलनामा कम गर्नेबारे विचार गरिने अधिकारीहरू बताउँछन् ।

मन्त्री पाण्डेले भने, ‘हवाई इन्धनको मूल्य काठमाडौं र भैरहवामा एकैनासको छ । त्यहाँ केही सस्तो हुन सक्छ भन्नेसहित विविध विषयमा सहुलियत दिने निर्णय हामीले गरेका छौँ । केही समय त्यस्तो सहुलियत दिएपछि व्यवसाय गर्नका लागि त्यसले आकर्षण थप्छ । विस्तारै आदत बस्यो, संरचना बन्यो र आकर्षण बढ्यो भने हामी अन्य विमानस्थलकै जस्तो सबै खालको प्रबन्धलाई समान बनाउँछौँ ।’ उनले अहिलेका लागि यस्तो सहुलियत २०८३ सालको भदौसम्मका लागि प्रस्ताव गरिएको बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

मन्त्री पाण्डे भन्छन्, ‘एक वर्षसम्म यी विमानस्थलहरू सञ्चालन भइसकेपछि पछि स्वतः स्वाभाविक नियमित प्रक्रियामा जान्छन् भन्ने हामीलाई विश्वास छ ।’ विगतमा कतिपय एअरलाइन्सहरूले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने इच्छा राख्दा भ्याट छुट र इन्धनको मूल्यसमेत कम तोकिनुपर्ने सहितका सर्त राखेका थिए । त्यस्ता केही वायुसेवाका आवेदन नागरिक उड्डयन प्राधिकरणले अर्थ मन्त्रालयमा पठाएको थियो । तर प्राधिकरणका अधिकारीहरूले उद्घाटन भएयता हालसम्म नाफा नकमाएका दुवै विमानस्थलमा त्यस्तो किसिमको थप सहुलियतको घोषणा गर्नुले अझ आर्थिक बोझ थप्न सक्ने चिन्ता त्यसबेला प्रकट गरेका थिए ।

यात्रुलाई ती विमानस्थलमा कसरी आकर्षित गर्ने ?

कार्ययोजना अनुसार नयाँ सहुलियत घोषणा गर्ने क्रममा सरकारले दुवै विमानस्थल सञ्चालन गर्नका लागि नेपाल सरकारका विभिन्न निकायले तत्कालै चाल्नुपर्ने कदम र तिनको समयतालिकालाई पनि अनुमोदन गरेको छ । मन्त्री पाण्डेले भने, ‘त्यहाँबाट श्रमसँग सम्बन्धित व्यक्तिहरू उडान गर्नका लागि श्रमसँग सम्बन्धित कार्यालयहरू त्यहाँ जरुरी पर्यो । अध्यागमन कार्यालयलाई सञ्चालन गराउनुपर्यो । भिसा सेन्टर स्थापना होस् भन्नका लागि परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयको संलग्नता आवश्यक हुने भयो ।’

उनका अनुसार क्वारन्टीनका लागि कृषि तथा पशुपन्छी मन्त्रालयले आफ्ना कार्यालयहरू खडा गर्नुपर्छ । उनले विमानस्थल सञ्चालनका लागि कुन मन्त्रालयले के काम गर्नुपर्छ, त्यसको समयतालिकासहितको सूची बनाइएको भन्दै त्यसलाई तत्काल कार्यान्वयन गरिने जानकारी दिए । उनले देशभित्र उपलब्ध प्राविधिक पूर्वाधारहरूलाई प्रयोग गरेर ती निर्णय कार्यान्वयन गरिने भन्दै हवाई रुटमाथिको पहुँचजस्ता कूटनीतिक एवं कतिपय प्राविधिक पक्षबारे अहिलेको निर्णयमा उल्लेख नगरिएको बताए ।

‘आधा उडान भैरहवा वा पोखरा सार्नुहोस्’

अधिकारीहरूले हाल २१ घण्टा उडान हुने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी नोभेम्बर ८ गतेबाट राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुने बताएका छन् । नागरिक उड्ययन प्राधिकरणका सहव्यवस्थापक ज्ञानेन्द्र भूलले भने, ‘हामीले अहिले भइरहेको क्षमतामा वायुसेवाहरूलाई काठमाडौंमा उडान भर्न दिन सक्दैनौँ भनेर भनिसकेका छौँ । हामीले आधा उडान काठमाण्डू हुन्छ, आधा चाहिँ तपाईँहरू भैरहवा वा पोखरामध्ये कहाँ जाने हो हामीलाई भन्नुहोस् भनिसकेका छौँ ।’ उनले विगतमा विमानस्थलमा यसरी उडानको अवधि कम गरिँदा ठूला प्लेनहरू ल्याउने प्रवृत्ति देखिएको भए पनि यसपटक आफूहरूले त्यसलाई बन्द गरिदिने बताए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

नेपालबाट ठूलो सङ्ख्यामा श्रमिक र विद्यार्थीहरू विदेश जाने गरेको उल्लेख गर्दै उनले तिनलाई लक्षित कतिपय सेवाहरू पोखरा र भैरहवामा नै उपलब्ध गराउन सक्दा त्यहाँबाट उडान गर्नेहरूको सङ्ख्या बढाउन सकिने उल्लेख गरे । पछिल्लो पटक नेपाल सरकारसँग थाई एअर एशियाले सात वटा उडानको अनुमति मागेको र त्यसबारे निर्णय लिँदा आफूहरूले चार वटा उडान काठमाण्डूमा र चार वटा उडान भैरहवामा गर्ने निर्णय दिएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । भुलका अनुसार उक्त वायुसेवाले काठमाडौंबाट अक्टोबर २ मा र भैरहवाबाट अक्टोबर २७ बाट उडान भर्नेछ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई ‘सबै सेवा’

मन्त्रिपरिषद्ले कार्ययोजना अनुमोदन गरेको निर्णय सार्वजनिक गरिएकै दिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एउटा सूचना प्रकाशित गरेको छ । त्यसमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई सबै किसिमको सेवा त्यहाँ नै उपलब्ध गराइने उल्लेख छ । उक्त सूचनामा वैदेशिक रोजगारीमा जान चाहनेका लागि सबै सेवासुविधा नजिकैको कार्यालयबाट उपलब्ध गराइने भन्दै स्वास्थ्य परीक्षण, अभिमुखीकरण, श्रम स्वीकृति र भिसासँग सम्बन्धित कामका लागि काठमाडौं आउनुपर्ने अवस्था अन्त्य गर्ने व्यवस्था मिलाइने जनाइएको छ ।

त्यसबाहेक सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्रदान गर्ने सेवा सम्बन्धित कार्यालयहरूले त्यहाँ नै उपलब्ध गराउने जनाइएको छ । भिसा सेन्टर स्थापनाका लागि विभिन्न देशहरूलाई परराष्ट्र मन्त्रालयमार्फत् अनुरोध गरिने भन्दै श्रम मन्त्रालयले कानुन परिमार्जन गर्ने र आफ्नो मन्त्रालयअन्तर्गतका सेवा प्रदेश कार्यालयहरूमार्फत् उपलब्ध गराइने पनि जनाइएको छ । अघिल्लो वर्ष विभिन्न सात वटा अन्तर्राष्ट्रिय वायुसेवामार्फत ६ लाख ३२ हजारभन्दा बढी कामदार विभिन्न देशमा रोजगारीमा गएका थिए । उक्त सङ्ख्या ती सात वायुसेवाले सेवा दिएका १५ लाख २० हजारभन्दा बढी यात्रुको ३५ प्रतिशत रहेको अधिकारीहरू बताउँछन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार १०:४४

लोकप्रिय