सूचनाको शक्ति - The Power Of Information

        

अस्तव्यस्त ट्राफिक व्यवस्थापन

ट्राफिक प्रहरीको के काम ? नेपालगन्जले भोग्दै ‘ट्राफिक जाम’

नेपालगन्जको समग्र ट्राफिक व्यवस्थापन सम्हाल्दै आएको ट्राफिक प्रहरी पोष्ट नेपालगन्जलाई ‘ट्राफिक जाम’बारे कुनै वास्ता छैन ।

नेपालगन्ज–कोहलपुर फोरलेन सडकबाहेक नेपालगन्जका भित्री सडकहरु अत्यन्तै साँघुरा र जीर्ण छन् । कतै मर्मतसँगै फराकिला बनाइँदै छन् भने कतै जीर्ण अवस्थामै छन् । २० बर्षअघि बनेका सडकहरु अहिले साँधुरा गल्लीमा परिणत भएका छन् । बढ्दो जनसंख्यासँगै ठुलाठुला घरहरु बन्ने क्रम तीव्र छ ।

नेपालगन्जमा जनसंख्याको वृद्धिदरसँगै सवारी साधनको चाप पनि सोही अनुपातमा बढिरहेको छ । ठुलाठुला भवनसँगै भौतिक पूर्वाधारका अन्य संरचनाहरु एकपछि अर्को गर्दै बनिरहेका छन् । तर सडकहरु भने २० औं वर्ष पुराना र जीर्ण छन्, त्यसमाथि सवारी साधनको संख्यामा उस्तै वृद्धि भइरहेको छ ।

नेपालगन्जमा व्याट्रीबाट चल्ने अटोरिक्साको संख्या ह्वात्तै बढेको छ । २० औं बर्षअघि निर्माण गरिएका सडक गल्लीमा परिणत भएसँगै नेपालगन्जले बेलाबेलामा काठमाडौंको जस्तै ट्राफिक जाम भोग्न थालेको छ । अटोरिक्साको संख्या बढेसँगै नेपालगन्जमा ‘ट्राफिक जाम’को समस्या धेरै भएको नेपालगन्ज–२, घरबारी टोलका एक जना व्यवसायी बताउँछन् ।

उनी भन्छन्, ‘करिब २५ बर्षअघि हामीले व्यवसाय सुरु गर्दा फाट्टफुट्टरुपमा देखिन सवारीको संख्या अहिले ह्वात्तै बढेको छ । सधैंजसो ट्राफिक जाम नै हुन थालेको छ ।’ साधारण रिक्सा विस्थापित गर्दै ब्याट्री तथा पेट्रोलबाट चल्ने अटोरिक्सा सञ्चालनमा आएपछि भित्री सडकहरुमा ट्राफिक जाम हुने गरेको नगरवासीहरुको भनाई छ ।

नेपालगन्जका निकै व्यस्त रहने घरबारी टोल, सदरलाइन, त्रिवेणी मोड, एकलैनी लगायतका क्षेत्रमा ट्राफिक जामको समस्या अधिक छ । ‘दिनभर जामजस्तै हुन्छ,’ सदरलाइनका स्थानीयबासी जमिल शेख भन्छन्, ‘पहिले कमै सवारी चल्थे, भीडभाड हुँदैन्थ्यो । अहिले सवारीको भीड र होहल्लाले हैरान बनाउँछ ।’

साधारण रिक्साभन्दा छिटो गन्तव्यमा पुगिने भएकाले यात्रुहरु अटोरिक्सामै चढ्छन् । जसका कारण नेपालगन्जबाट साधारण रिक्साहरु हराइसकेका छन् । यात्रुहरुको रोजाइँमा अटोरिक्सा नै पर्छन् । नेपालगन्जमा अटोरिक्साको संख्या बढेसँगै ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ । अटोरिक्साहरुले लेन अनुशासन पालन नगर्दा पनि ट्राफिक प्रहरी रमिते बनेको छ ।

नेपालगन्जको समग्र ट्राफिक व्यवस्थापन सम्हाल्दै आएको ट्राफिक प्रहरी पोष्ट नेपालगन्जलाई ‘ट्राफिक जाम’बारे कुनै वास्ता छैन । सडकमा जथाभावी पार्किङ्ग गरिदिँदा ट्राफिक व्यवस्थापनका लागि चोकमा खटिएका ट्राफिक प्रहरीलाई कुनै वास्ता नभएको त्रिभुवन चोकका एक जना व्यवसायीले बताए ।

नेपालगन्जको धम्बोझी चोक, सेतु विक चोक, बिपी चोक, गणेशमान चोक, फुलटेक्रा क्षेत्रमा ‘ट्राफिक जाम’ उस्तै छ । अटोरिक्साहरुको जथाभावी पार्किङ्गकै कारण नेपालगन्ज–कोहलपुर खडक खण्डमा पटक पटक सवारी दुर्घटनासमेत हुँदै आएका छन् । यता ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका इन्चार्ज बरिष्ठ प्रहरी नायव निरिक्षक प्रविण आचार्यको ‘फाइफूर्ति’ भने गज्जबकै छ ।

उनलाई लाग्छ, ‘नेपालगन्जमा सवारी दुर्घटना न्यूनीकरणदेखि ट्राफिक संरचना निर्माणमा आफूले आकाशै खसालेको छु । मानौं अहिलेसम्म नेपालगन्जमा ट्राफिक प्रहरी नै थिएन, अथवा ट्राफिक प्रहरीले केही पनि गरेको थिएन । सारा काम मैले मात्रै गरेको छु ।’ तर उनले अहिलेसम्म नेपालगन्जमा एउटा ‘झिंगा’ समेत व्यवस्थापन गर्न सकेको देखिँदैन ।

उनको ध्यान ट्राफिक व्यवस्थापनमा भन्दा कमाउनेतिर धेरै छ । उनले पोष्टमा आफ्ना विश्वास पात्रहरुलाई रकम संकलनको काममा खटाएको स्रोतले बताएको छ । विश्वास पात्रका रुपमा खटाइएकाहरुको काम भनेकै रकम संकलन गरेर बरिष्ठलाई बुझाउनु हो । नेपालमा पनि भन्सार गरेर भित्रिएका भारतीय गाडीहरु नेपालगन्ज पोष्टको निशानामा पर्छन् ।

भब्बर र ओभरलोडको कारण देखाउँदै प्रत्येक भारतीय गाडीबाट १०० देखि ५०० भारतीय रुपैयाँसम्म ती विश्वास पात्रले उठाउँदै आएको स्रोतको भनाई छ । मनग्य आम्दानी हुने भएपछि इन्चार्जदेखि जवानसम्म नेपालगन्ज पोष्ट छोड्न चाहँदैनन् । काजमा आएका अधिकांशहरुको नजर पनि नेपालगन्ज पोष्ट नै हुने गर्छ ।

नेपाल भित्रिने मालबाहक भारतीय गाडीहरुका साथै नेपालगन्जमा सञ्चालित विभिन्न उद्योगहरु, इँट्टा उद्योग, सानादेखि ठूला तारे होटल लगायतबाट राम्रै आम्दानी हुने ट्राफिक प्रहरी स्रोतले बतायो । अझ नेपालगन्जमा चेकिङका नाममा ट्राफिक प्रहरीको असुली तीव्र बनेको छ । साँझ परेपछि ट्राफिक प्रहरीको चेकिङ सुरु हुन्छ । अनि चेकिङका नाममा असुली सुरु हुन्छ । चेकिङका नाममा अनेक बहानामा दुःख दिएर १०० रुपैयाँदेखि ५०० रुपैयाँसम्म रकम असुली हुन्छ ।

धेरै जरिवानाको त्रास देखाउँदै ट्राफिकले पैसा असुली गर्ने गरेको सवारी चालकहरुको भनाइ छ । ‘जरिवाना धेरै काट्न थाल्छ,’ नाम नबताउने सर्तमा एकजना चालकले भने, ‘हामी पनि धेरै पैसा तिर्नुभन्दा रसिद नलिएरै थोरै पैसा ट्राफिकलाई दिन्छौं ।’ पैसा दिँदा ट्राफिकको झन्झटमा मुक्त हुने उनको भनाइ छ । पैसा दिएको यथार्थ प्रमाण भने ट्राफिक प्रहरीले सवारी चालकहरुलाई उपलब्ध गराउँदैन ।

ट्राफिक प्रहरीले दिने झन्झटका विषयमा गुनासाहरु भने खुलेर गर्छन् । प्रहरीले विभिन्न कारण देखाउँदै फाइन (जरिवाना)का नाममा रकम असुल्ने गरेको गुनासो आउने विषय नौलो होइन । विभिन्न बाहनामा रकम असुल्नेदेखि दुःख दिने गरेको सवारी चालकहरु बताउँछन् । ट्राफिक प्रहरीले उनीहरुबाट विभिन्न बाहनामा रकम असुल्ने गरेको पाइएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार १०:१८

लोकप्रिय