सूचनाको शक्ति - The Power Of Information

        

सामाजिक विकृति

प्रहरीलाई ‘नजराना’ दिएपछि नेपालगन्जका ‘यौन अखडा’ सुरक्षित

प्रहरीसँग सेङ्गिट मिलाउँदै पछिल्लो समयमा नेपालगन्जमा अवैध यौन अखडाहरु सञ्चालन भइरहेका छन् ।

प्रहरी समाजमा शान्ति सुरक्षा कायम गर्ने र सामाजिक विकृतिविरुद्ध सक्रिय रहने सरकारी जनशक्ति हो । प्रहरीको काम अनैतिक काम गर्नेलाई पक्राउ गरी कानूनी कार्वाहीको भागीदार बनाउने पनि हो । तर, सामाजिक शान्ति सुरक्षा र सभ्य समाज निर्माणमा खट्नुपर्ने प्रहरी नै गलत बाटोमा हिँडिरहेकाको सहयोग बन्यो भने त्यसलाई के भन्ने ?

गलत काम गर्नेहरुका लागि यो काम मनमनै जायज लागे पनि सभ्य र सामाजिक हितका लागि सोच्ने मान्छेका लागि भन्ने यो कुरा पाच्य हुँदैन । तर, यहि नपच्ने कुरा नै नेपालगन्जका विभिन्न ठाउँहरुमा देख्न, सुन्न र भोग्न पाइन्छ । अहिले नेपालगन्जमा प्रहरीकै संरक्षणमा विभिन्न स्थानमा यौनधन्दा चलिरहेको गुनासो सर्वसाधरणले गरिरहेका छन् ।

वडा प्रहरी कार्यालय नेपालगन्जको संरक्षणमा न्यूरोड, कारकाँदो, गुलरिया रोड, बसपार्क लगायतका क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सम्हाल्दै आएको वडा प्रहरी प्रमुखले नै यस्ता गैरकानुनी गतिविधिको संरक्षण गर्दै आएको स्थानीयहरुको आरोप छ । ती क्षेत्रका केही होटल तथा रेष्टुरेण्टहरुमा प्रहरी संरक्षणमै युवती राखेर यौन अखडा चल्दै आएका छन् ।

प्रहरीले ती होटल तथा रेष्टुरेण्टबाट महिनामा ५ हजारदेखि २५ हजार रूपैयाँसम्म बुझ्ने गरेको एक रेष्टुरेण्टका सञ्चालक बताउँछन् । बसपार्क क्षेत्रकै एक होटलले यौन अखडा सञ्चालन गरेवापत प्रहरीलाई मासिक १५ हजार बुझाउने गरेको बताए । उनका अनुसार यस्ता अखडाहरूबाट रकम बुझ्न सादा पोसाकमा प्रहरी पुग्ने गर्छन् ।

वडा प्रहरी कार्यालय नेपालगन्जको इन्चार्ज भएर आएलगत्तै यहाँका स–साना होटलमा छापा मारेर पहाडै भत्काएझैँ गर्दै ‘साना होटललाई तर्साएर ठूला होटल तथा रेष्टुरेण्ट’सँगको सेटिङ्ग मिलेपछि त्यसपछि कहिँकतै छापा मारिँदैन । ‘इन्सपेक्टर सा’बको सेटिङ्ग मिलेको छ, अब किन छापा मार्नुपर्यो ?,’ वडा प्रहरी कार्यालय स्रोतले भन्यो, ‘छापा मार्दा सेटिङ्ग बिग्रिन्छ नि !’

वडा प्रहरी प्रमूखकै सेटिङ्ग मिलेपछि नेपालगन्ज क्षेत्रका धेरै होटल तथा रेष्टुरेण्टहरूमा खुलेआम यौनधन्दा हुने गरेको नेपालगन्ज–४ का सुशील राजपुतले बताए । यसको जानकारी प्रहरीलाई भए पनि छापा मार्ने र कारर्बाही नभएको उनको भनाइ छ । ती होटल तथा रेष्टुरेण्टहरूले मासिकरूपमा रकम बुझाउने गरेकै कारण प्रहरीले छापा नमारेको उनको भनाई छ ।

‘समाजले थाहा नपाउने गरी सञ्चालन गर्नु नि ? समाजले पचाउनै नसकिने गरी धन्दा सञ्चालन भएका छन्,’ राजपुतले भने । सरकारी संयन्त्रसँग सेङ्गिट मिलाउँदै पछिल्लो समयमा नेपालगन्जमा अवैध यौन अखडाहरु सञ्चालन भइरहेका छन् । प्रहरीकै संरक्षणमा यौनधन्दा मौलाइरहेको स्थानीय एक रेष्टुरेन्ट व्यवसायीले जानकारी दिए ।

नेपालगन्जमा अवैध यौन अखडाहरु सञ्चालन गरेबापत ‘नजराना’ उठाउने जिम्मा प्रहरी पोष्ट बसपार्क (विद्युत)लाई दिइएको पनि वडा प्रहरी कार्यालय स्रोतले बतायो । स्रोतले भन्यो, ‘अवैध यौन अखडाहरु सञ्चालन भएका होटल रेष्टुरेन्टबाट के–कति रकम उठाउने या तोकिएको रकम नदिएमा छामा मार्ने जिम्मेवारी प्रहरी पोष्ट बसपार्क (विद्युत)लाई दिइएको छ ।’

यसअघि प्रहरी पोष्ट बसपार्क (विद्युत)का इन्चार्ज असई कुलबहादुर बिकलाई खटनपटनको जिम्मेवारी दिइएको थियो । हालै मात्र त्यहाँ इन्चार्जको रुपमा असई सुनिल शाही आएका छन् । उनलाई खटनपटनको जिम्मेवारी दिए नदिएको बारे जानकारी नभएको वडा प्रहरी कार्यालय स्रोत बताउँछ । वडा प्रहरी कार्यालयमा अहिले प्रहरी निरीक्षक हरि बिसी इन्चार्ज छन् ।

यौन व्यवसाय ठिक छ या छैन बहसकै बिषय हो । कति आफ्नै खुशीमा यौन व्यवसायी भएका छन् त कति बाध्यताले यौन कर्म गरिरहेका छन् । आफ्नै मनमञ्जुरीमा यौन कर्म गर्नेहरु आफ्नो कर्मबाट खुशी होलान तर, समाजमा बाध्यताले यौन कर्म गर्नेहरु भने पीडामा बाँचिरहेका छन् । नेपालगन्ज ऐतिहासिक र पुरानो शहर हो ।

यो धेरै किशोर किशोरीको सपना फुलाउने शहर पनि हो । तर, यहाँ धेरै किशोरीहरुको सपना त्यसै ओइलाइरहेको पनि सत्य हो । सपना सजाउन नेपालगन्ज आएका कतिपय महिलाहरु नारकिय जीवन विताउन पनि बाध्य छन् । नेपालगन्जका होटलहरुमा धेरै महिला तथा किशोरीहरुको सपना ओइलिरहेको छ ।

बसपार्क, न्युरोड, पुष्पलाल चोक क्षेत्रमा होटलको आवरणमा धेरै अवैधानिक यौन अखडाहरु सञ्चालनमा छन् । ती अखडाहरुमा धेरै युवतीहरु कुनै न कुनैरुपमा फसेका छन् । जानेर या नजानेर यौन अखडाहरुमा फसेका युवतीहरु यतिखेर अनेकौं पीडा खेप्न बाध्य छन् । तर प्रहरी भने मुकदर्शक भएर खुलेआम धन्दा चलाउन दिइरहेको छ ।

होटलमा आउने ग्राहकसँग समय विताउनुपर्ने, ग्राहकको माग अनुसार शारीरिक सेवा दिनुपर्ने यस क्षेत्रका होटलमा काम गर्ने महिलाको दैनिकी नै हो । कति महिला आफ्नै खुशीले यौन कर्म गरिरहेका होलान् तर, अन्जानमा यौन कर्म गर्न पुगेका किशारीहरु आफ्नो दुखेसो यसरी पोख्छन् । यसरी गाउँबाट किशोरीहरु शहर आइपुग्छन् ।

सुन्दर सपना बोकेर शहर आएका किशोरीहरु जानेर या नजाने यौन कर्ममा फस्छन् । नजानिँदो रुपमा नेपालगन्ज क्षेत्र यौन अखडाको शहर जस्तै बन्न पुगेको छ । नेपालगन्जमा करिब ३५० को हाराहारीमा यौन व्यवसायी रहेको अनुमान गर्न सकिन्छ । त्यसमध्ये १४ देखि २५ वर्ष उमेर समुहका बालिका तथा किशोरीहरु यौन कर्ममा संलग्न छन् ।

यस क्षेत्रमा यौन कर्ममा संलग्न किशोरीहरु आफुले ग्राहकलाई दिने सेवाबारे बताउँछन् । धेरै किशोरीहरु साथीसँगी कै लहलहैमा यौन कर्म गर्न बाध्य भएको यौन कर्ममा संलग्नहरु आफै बताउँछन् । प्रहरी भने यौन व्यवसाय समाप्त पारेको ठोकुवा गर्छ तर, यौन व्यवसाय झनै मौलाएको छ । प्रहरीकै कारण यौन नेपालगन्जमा यौन व्यवसाय मौलाएको छ ।

मिठो खाने, राम्रो लगाउने, छोटो अवधिमा धेरै पैसा कमाउने सपना बोकेर गाउँवाट शहर पसेका धेरै किशोरीहरु अन्जानमा यौन कर्ममा फसेका छन् । विभिन्न कारण यौन कर्ममा फसेका कति किशोरीहरु चेतिएका पनि छन् । उनीहरु भन्छन्, ‘आफुले भोगेको जस्तो पीडा अरु किशोरीले भोग्नु नपरोस् ।’

नेपालगन्जमा पछिल्लो समय यौनकर्मी किशोरीहरुको संख्या बढ्दो छ । क्याविन रेष्टुरेण्ट तथा होटलमा जोखिम मोलेर काम गर्दै आइरहेका किशोरीहरुको संख्या उच्च छ । यौन कर्ममा संलग्न किशोरी तथा महिलाहरु विभिन्न किसिमको यातना भोग्नसमेत बाध्य रहेका छन् । यहाँ सञ्चालित होटलमा भइरहेको यौन व्यवसायलाई हेर्ने हो भने प्रहरीको पूर्ण संरक्षण रहेको छ ।

प्रहरी भने यहाँका होटल, रेस्टुरेन्टबाट यौन व्यवसाय हटाउन असफल भएपछि यो व्यवसाय नेपालगन्जमा मौलाउँदो छ । एक यौनकर्मी किशोरीले रकम बुझ्ने वडा प्रहरी कार्यालयले यौन व्यवसायीबाट के–के सेवा, सुविधा पाउँछन् त्यो पनि स्पष्ट खुलाएकी छिन् । ‘वडा प्रहरी कार्यालयलाई कहिले नगद रकमसमेत बुझाएका छौं,’ एक यौनकर्मी महिलाले भनिन् ।

‘प्रहरी आएर हैरान पार्छन्,’ उनले भनिन्, ‘केही रकम बुझाउँछौं, अन्य सानो दर्जाका प्रहरीले कहिलेकाहीं आएर मासु र रक्सी खान्छन्, अनि यौन इच्छा पूरा गर्छन्, जान्छन् ।’ कहिलेकाहिँ प्रहरीले भनेको जस्तो नभए मात्र छापा हान्ने गरेको उनले सुनाइन् । कहिलेकाहिँ साहुलाई नभनी किशोरीलाई दुख दिने गरेको यौनकर्मीको गुनासो छ ।

‘पहिलो दिनमा फोन नम्बर माग्छन्,’ उनले भनिन्, ‘साहुलाई नभनी जान मिल्दैन, फेरि गएन भने तेरोमा रेड हान्छु भनेर धम्की दिन्छन् ।’ नेपालगन्जमा यौनकर्मी राखेर रेस्टुरेन्ट व्यवसाय चल्ने ठाउँ अधिकांश वडा प्रहरी कार्यालयको कार्यक्षेत्रमा पर्छन् । वडा प्रहरी कार्यालयमा नयाँ इन्चार्ज आएसँगै सुरुमा होटल व्यवसायीहरुलाई दुख दिने गरिएको छ ।

सुरुमा छापा मार्ने र विस्तारै रकम असुलीमा लाग्ने गरेको एक होटल व्यवसायीले बताए । ‘हाम्रो त जम्मा चार जना केटीमात्र छन्,’ नाम नबताउने शर्तमा ती व्यवसायीले भने, ‘मेरोबाट प्रहरीले पैसा त लैजान्न, तर कहिलेकाहिँ खान आउँछन्, रक्सी, मासु र खाना खान्छन् । केटी पनि लिएर जान्छन् ।’ यौन व्यवसाय नियन्त्रण गर्ने नाममा उल्टो संरक्षण गर्न थालेपछि यौन व्यवसाय फस्टाउँदै गएको बसपार्कका स्थानीयहरुको भनाई छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलवार १५:५८

लोकप्रिय