सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा झण्डै चार लाख क्युफिट काठ उत्पादन

बाँके जिल्लामा गत आर्थिक वर्ष २०८०–०८१ मा झन्डै चार लाख क्युफिट काठ उत्पादन भएको छ । जिल्लाका ८९ सामुदायिक वन, एउटा राष्ट्रिय वन (चक्ला वन) र निजी आवादी वनमा गरी गत आर्थिक वर्षमा जिल्लामा विभिन्न जातका तीन लाख ९८ हजार ६०८ दशमलव ७८ क्युफिट काठ उत्पादन भएको हो ।

डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वरिष्ठ वन अधिकृत वीरेन्द्र रोकाका अनुसार २४ वटा संवर्धन प्रणाली लागू भएका सामुदायिक वनबाट एक लाख ९४ हजार ११० दशमलव ११ क्यु फिट, ६५ वटा संवर्धन प्रणाली लागू नभएका सामुदायिक वनबाट ६३ हजार ७४ दशमलव ९९ क्यु फिट र एउटा संवर्धन प्रणाली लागू भएको राष्ट्रिय वन (शमसेरगन्ज माथेवास चक्ला वन)बाट ७१ हजार १११ दशमलव ०१ क्यु फिट काठ उत्पादन भएको छ ।

त्यसैगरी विभिन्न व्यक्तिका निजी तथा आवादी वन क्षेत्रबाट गत आर्थिक वर्षमा ७० हजार ३१२ दशमलव ६७ क्यु फिट गरी जम्मा तीन लाख ९८ हजार ६०८ दशमलव ७८ क्यु फिट काठ उत्पादन गरिएको सूचना अधिकारी रोकाले बताए । त्यस्तै विभिन्न सामुदायिक वनबाट विभिन्न जातका ९९७ दशमलव १४ चट्टा, राष्ट्रिय वनबाट २७७ दशमलव २५ चट्टा र निजी आवादी वनबाट ९०३ दशमलव ०९ चट्टा गरी जम्मा दुई हजार १७७ दशमलव ४८ चट्टा दाउरा उत्पादन भएको छ ।

सामुदायिक तथा राष्ट्रिय वनबाट साल, असना, धौटी, जामुन, खयर, सिसौ, हर्रो, बर्रो, कर्मा लगायतका प्रजातिका काठ तथा दाउरा उत्पादन भएको र निजी आवादी वनबाट मसला, टिक (सागवन), सिसौ, सिमल, खयर लगायतका प्रजातिका काठ तथा दाउरा उत्पादन भएको वन अधिकृत रोकाले जानकारी दिए । आर्थिक वर्ष २०७९–०८० मा भन्दा गत आर्थिक वर्षमा काठ तथा दाउरा उत्पादनको अनुपात बढेको छ ।

आर्थिक वर्ष २०७९–०८० मा बाँकेमा विभिन्न जातका तीन लाख ५२ हजार दशमलव ८१ क्यु फिट काठ उत्पादन भएको थियो भने एक हजार ७५७ दशमलव ३६ चट्टा दाउरा उत्पादन गरिएको थियो । बाँकेमा एक लाख १९ हजार ९३९ दशमलव ७४ हेक्टर वन क्षेत्र छ । जसमध्ये, ६२ हजार २०० दशमलव ६८ हेक्टर वन (५१ दशमलव ८६ प्रतिशत) बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत र ५७ हजार ७३९ दशमलव ०६ हेक्टर वन (४८ दशमलव १४ प्रतिशत) डिभिजन वन कार्यालयको क्षेत्राधिकार भित्र रहेको सहायक वन अधिकृत नवराज शाहीले जानकारी दिए ।

५७ हजार ७३९ दशमलव ०६ हेक्टर वन क्षेत्रमध्ये ५२ हजार ९३३ दशमलव ०९ हेक्टर वन रुखले ढाकेको र चार हजार ८०५ दशमलव ९७ हेक्टर वन क्षेत्र झाडी तथा बुट्यानले ढाकेको छ । सहायक वन अधिकृत शाहीका अनुसार जिल्लामा ११९ वटा सामुदायिक वन, एउटा चक्ला वन, चार वटा धार्मिक वन र राष्ट्रिय वन छन् । सामुदायिक वन २४ हजार ५९४ दशमलव ५० हेक्टर, चक्ला वन दुई हजार ५७८ हेक्टर, धार्मिक वन करिब १०० हेक्टरमा रहेका छन् भने अन्य वन क्षेत्र राष्ट्रिय वनले ओगटेको शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार ११:०५

लोकप्रिय