सूचनाको शक्ति - The Power Of Information

        

सीमामा तस्करी

नेपालगन्ज नाकामा बढ्यो तस्करी, गुम्यो ८८ करोडभन्दा बढी राजस्व

बाँकेका सीमावर्ती बजारहरुमा नेपालमा उत्पादित चिनी पाउनै गाह्रो हुन्छ । नेपालगन्जको जमुनाहा नाकाबाट मात्रै नभएर ग्रामीण भेगका नाकातिरबाट पनि अवैध रूपमा चिनीको तस्करी हुँदै आएको छ ।

सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्रका प्रहरी आफैं ढाट राखेर चोरीपैठारीलाई प्रश्रय दिइरहेका छन् । तस्करी नियन्त्रण गर्न चौलिका चोकदेखि जमुनाहसम्म भन्सार, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पाँच ठाउँमा चेकिङ हुनुपर्नेमा ती सबै स्थानमा ढाट राखेर चोरीपैठारीका सामानलाई नेपाल ल्याउन सहयोग गरेको पाइएको छ ।

मुख्य नाकाबाट अवैध सामान भित्रिन छाडेको छैन । मुख्य नाका होइन अन्य नाकाबाट प्रशस्तै सामान भित्रिने गरेको छ । त्यसरी भित्रिएको सामान नेपालगन्जका गोदामहरूमा ‘स्टक’ गरेर यही र अन्य जिल्लामा बिक्रीका लागि पठाइने गरिएको छ । नाकाबाट भित्रिएको अवैध सामान नेपालगन्ज पुगेपछि पनि विभिन्न ठाउँमा घर भाडामा लिएरै गोदाम गरेर राख्ने गरिन्छ ।

चोरी पैठारी नियन्त्रणको अख्तियारी पाएका सरकारी निकायको लापरबाही र तस्करलाई प्रोत्साहन गर्ने कार्यमा संलग्न व्यवसायी यसमा मुख्य दोषी रहेको स्रोतको दाबी छ । व्यापारीहरूले चोरीपैठारी र नेपालगन्जको व्यवसाय नचल्नुमा किनमेलका लागि रुपैडिया जाने सेवाग्राहीलाई मात्रै दोष देखाउँछन् ।

तर चोरीतस्करी गरेर भित्रिएको सामान स्वयं व्यवसायीकै पसल र गोदाममा भेटिने र त्यसमा सीमा नाकाको जिम्मेवारीमा रहेको सशस्त्र प्रहरीले आफैँ ढाट राखेर असुल्न थालेकाले यस्तो अवस्था आएको जानकारहरूको दावी छ । अवैध सामान भित्रिने मूल स्रोत भन्सार नाका फितलो तर बजार अनुगमन कडाइ भइरहेको छ ।

सर्वसाधारणले किनमेल गरेको बाहेक क्यारिङमार्फत विभिन्न नाकाबाट भित्रिने करोडौँको सामानलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले नै पहरा दिने गरेको स्रोतको दाबी छ । अवैध सामान भन्सार नाकाको कमजोर सुरक्षा व्यवस्था छलेर बजारमा भित्रिएका हुन् । नेपालगन्जको चौलिका चोकदेखि जमुनाहसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीका आधा दर्जन चेकपोष्ट छन् ।

तर त्यसलाई समेत छलेर नेपालगन्जमा अवैध सामान भित्रिन्छ । नाकाको फितलो सुरक्षा व्यवस्थाको फाइदा उठाउँदै भित्रिएको सामान बजार पुगिसकेपछि मात्रै प्रशासनले पनि बजार अनुगमनको नाटक गर्ने गरेको ती व्यापारीले बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले लाइन दिएपछि नेपाल भारत खुला सिमानाको लाभ उठाउँदै तस्करहरूले दिनदिनै लाखौँका अवैध सामान नेपाल भित्र्याउँछन् ।

पछिल्लो आर्थिक संकट र नेपालगन्ज नाकामा तस्करी मौलाएपछि नेपालगन्ज भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व उठाउन असफल भएको छ । नेपाल–भारतको सीमावर्ती क्षेत्रमा कहिले दूधको तस्करी त कहिले कुखुराको तस्करीका विवरण आउँछन् । चाडपर्वको नजिकिँदै गर्दा नेपालगन्ज नाकाबाट चिनीको तस्करी असाध्यै बढेको तथ्याङ्कहरूले देखाउँछन् ।

खासगरी भरियामार्फत साइकल, मोटरसाइकलमा दैनिकरूपमा चिनी भारतीय बजारबाट नेपालका सीमावर्ती क्षेत्रमा भित्रिने गरेको स्थानीयहरू बताउँछन् । घरायसी प्रयोजनका निम्ति मात्रै नभई व्यापारीहरूले लुकाइछिपाइ नाका छलेर ठूलो परिमाणमा चिनी ल्याउने गरेको नेपालगन्जकै एक जना व्यापारी बताउँछन् । ग्रामीण भेगका नाकातिर रहेका प्रहरीलाई आर्थिक प्रलोभन देखाएर चिनी अवैध रूपमा ल्याउने गरेको ती व्यापारीको आरोप छ ।

सीमा क्षेत्रमा चिनीको तस्करी । तस्वीर स्रोत : जावेद अन्सारी

नेपालमा उत्पादित चिनी पाउनै गाह्रो

नेपालगन्जका एक जना थोक बिक्रेताले बाँकेको सीमावर्ती बजारका पसलहरूमा नेपालमै उत्पादित चिनी पाउन मुस्किल भएको र नेपालमा चिनीको भाउ बढ्दा ठूला पसलहरू मर्कामा परेको बताए । ‘चिनी थोक विक्रेतासँग साना किराना पसललाई केही सस्तोमै बिक्री गर्न खोज्दा पनि उनीहरू किन्न मान्दैनन् । भारतीय व्यापारीले आवश्यकता अनुसार ५ देखि १० केजीसम्म प्रतिकेजी ७५ देखि ८० रुपैयाँकै दरले साना किरानाहरूलाई पसलमै पुर्याइदिन्छन् ।

यसरी नेपालगन्जमा चिनीको मूल्य त्यतिधेरै फरक नभए पनि पहाडी क्षेत्रका बजारहरूमा चिनी पुर्याउने व्यापारी र उपभोक्ताले नेपालगन्जबाट चिनी किनेर लैजाने अनि महँगोमा बेच्ने गरेको मन्सुरी बताउँछन् । नाकामा ७० देखि ७५ रुपैयाँमा पाइने चिनी काठमाडौं लगायत सहर अनि पहाडहरूमा एक किलोको १५० रुपैयाँसम्म रहेको छ । नेपालमा चिनी पर्याप्त उत्पादन नहुँदा चिनीको मूल्य वृद्धि धेरै भएको हो ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका एक जना पदाधिकारीले भने, ‘भारतबाट चिनीको तस्करी हुनु र नेपालमा चिनीको मूल्य वृद्धि हुनुमा सरकारकै हात रहेको छ,’ ‘नेपालमा चिनी उत्पादन गर्ने वातावरण सहज नहुनु र भारतबाट ल्याइने चिनीमा कर वृद्धि गरिनुका साथै विभिन्न बहानामा रोक लगाएपछि तस्करी बढ्नु स्वाभाविक हो ।’ चिनीको मूल्य नेपाल र भारतका बजारमा प्रतिकिलो ४५ देखि ५० रुपैयाँ मूल्यमा फरक पर्ने गरेको छ ।

तस्करीले घट्यो चिनी आयात

नेपालगन्ज नाकाबाट हुँदै आएको चिनीको आयात गत आर्थिक वर्ष २०८०–०८१ मा घटेको छ । विगतका वर्षमा हरेक वर्ष ठुलो परिमाणमा भारतबाट चिनी आयात हुँदै आए पनि गत आवमा भने चिनीको आयात धेरै ठुलो परिमाणमा घटेको पाइएको छ । गत आर्थिक वर्ष २०८०–०८१ मा १० करोड ७२ लाख आठ हजार रुपैयाँको दुई लाख २५ हजार ६४३ किलो मात्र चिनी आयात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार अघिल्लो आव २०७९–०८० मा यो नाकाबाट एक अर्ब ५४ करोड ६५ लाख ५६ हजार रुपैयाँको १५ लाख ४६ हजार ५२६ किलो चिनी आयात भएको थियो । कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले अघिल्लो आवको तुलनामा गत आवमा चिनीको आयात १३ लाख किलोभन्दा बढी घटेको देखिएको बताउँदै चिनीको आयात घट्दा भन्सार कार्यालयको ८८ करोडभन्दा बढी राजस्व गुमेको जानकारी दिए ।

अघिल्लो आव २०७९–०८० मा चिनी आयातबाट ८८ करोड ६५ लाख ९९ हजार रुपियाँ राजस्व सङ्कलन भएकोमा गत आव २०८०–०८१ मा सो घटेर ५० लाख ८० हजार रुपियाँ मात्र राजस्व सङ्कलन भएको सूचना अधिकारी भन्सार अधिकृत लम्सालले बताए । उनले यसरी गत आवमा चिनीको आयात यतिधेरै किन घट्यो ? त्यसको अनुसन्धान गरिनुपर्ने बताउँदै अवैध आयात र चोरीपैठारी बढेकाले पनि वैध आयात घटेको हुन सक्ने बताए ।

उता प्रहरीले केही दिनको फरकमा पटक पटक भारतबाट अवैध रूपमा भित्र्याइएको चिनी बरामद गर्दै आएको छ । केही महिनाअघि प्रहरीले भारतबाट तस्करी गरेर ल्याई नेपाली बोरामा भरेर बिक्रीका लागि राखिएको धेरै ठुलो परिमाणको चिनी बरामद गरेको थियो । दुई दिनअघि पनि प्रहरीले १६ क्विन्टल अवैध चिनी नेपालगन्जबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यी घट्नाबाट पनि चिनीको अवैध आयात र तस्करी नियमित रूपमा भइरहेको र सोही कारणले वैध रूपमा हुँदै आएको आयात घटेको र ठुलो परिमाणको राजस्वसमेत गुमेको स्थानीय नागरिकको गुनासो छ । नेपालगन्ज–११ का जावेद राईले चिनीको अवैध तस्करी र चोरी निकासी अत्यधिक बढेकाले वैध रूपमा हुँदै आएको आयात ह्वात्तै घट्न गएको बताए । उनले सो सम्बन्धमा गहिरिएर छानबिन हुनुपर्ने माग पनि गरे ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार ०९:१७

लोकप्रिय