सूचनाको शक्ति - The Power Of Information

        

नयाँ पर्यटकीय गन्तव्य बन्दै ‘कोरी’ (तस्वीर कथासहित)

पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकहरुको निम्ति पुग्नैपर्ने गन्तव्य बनेको छ, कोरी । कास्कीको मादी गाउँपालिका–१ मा पर्ने यो ठाउँ ट्रेकिङ मन पराउनेहरुको लागि अझै उपयुक्त गन्तव्य मानिन्छ ।

समुन्द्र सतहदेखि करिब ३८ सय मीटरको उचाइमा रहेको कोरीले यतिबेला कास्कीमा पर्यटक तान्न ठूलो सहयोग गरेको छ । पोखराबाट तीन–चार घण्टाको सवारीपछि सिकलेस् पुगिन्छ । त्यहाँबाट पासा पुगेर बास बस्न सकिन्छ । यहाँ खाना बस्नको लागि स्थानीय होटलहरु छन् ।

अर्काे दिन बिहान पासाबाट तीन–चार घण्टा हिँडेपछि चेघा पुगिन्छ । चेघामा खाना खाएर उकालो हिँड्नुपर्छ, चार घण्टाजति । यसपछि सुरु हुन्छ, कोरी खर्क । यसक्रममा बाटोमा देखिने जंगली फूल, च्याउ, चराहरुको गीतले पर्यटकको मस्तिष्कलाई आनन्द दिइसकेको छ ।

कोरी पुगेपछि झन् यसको सुन्दरताले हरकोहीलाई लोभ्याउँछ । यहाँबाट देखिने लमजुङ हिमाल, अन्नपूर्ण श्रेणीका हिमाल, माछापुच्छ्रे हिमाल, मनास्लु हिमाललाई आँखैअघि देख्दा जो–कोही पनि भुतुक्कै हुन्छ । यसबाहेक खर्क चरिरहेका भेडाहरुको लडिबुडीलाई यात्रुलाई एकहोरो बनाउँछ ।

यद्यपी, मौसम अनुसार दृश्यहरू फरक पर्न सक्छ । ट्रेकिङ आफैं सुविधाहरूबाट टाढा भएर रमाउने माध्यम हो । त्यसैले यात्राको क्रममा स्तरीय सेवासहित उत्कृष्ट होटल अपेक्षा गरिंदैन । सकभर यात्रुले तातो कपडा, छाता, टर्च लाइट र केही खाने कुराहरू आफैंले बोक्दा सजिलो हुन्छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार ०६:४३

लोकप्रिय