सूचनाको शक्ति - The Power Of Information

        

कहिले रोकिएला तस्करी ?

सीमामा प्रहरी र तस्करको सेटिङ्ग, कमिसन नपाएपछि मात्रै सामान जफत

भारतीय व्यापारीहरुले सशस्त्र र नेपाल प्रहरीका सीमा इन्चार्जहरुलाई मोटो रकम दिएर आफ्नो सामान नेपालतिर ‘पास’ गराउँदै आएको पनि प्रहरी स्रोतले बतायो ।

जमुनाहा नाकामा जेकजाँच गर्दै सशस्त्र प्रहरी । फाइल तस्वीर

भारतबाट आउनेलाई चेकजाँच गर्न जमुनाहा नाकाबाट चौलिका चोक हुँदै राँझा चोकसम्म आधा दर्जन ठाउँमा सुरक्षाकर्मी खटिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पाइलैपिच्छे सामानको जाँच गर्छन् र सामान किनमेल गरेर आउनेलाई केरकार गर्छन् । काम गरेर भारतबाट फर्किनेलाई पनि सीमा बसेका सुरक्षाकर्मीले केरकार पार्ने र अवैध सामान तथा विस्फोटक पदार्थ भित्रिन नदिन भन्दै जाँचबुझ गर्छन् ।

अवैध सामान भित्रिन नदिन नाकामा ईलाका प्रहरी कार्यालय जमुनहाका प्रहरीले जाँच गरिसकेपछि मात्र अघि बढ्न पाइन्छ । त्यसलगतै सशस्त्र प्रहरीले सामानको जाँच गर्छ । त्यहाँबाट छुटकारा पाएपछि नेपालगन्ज भन्सार कार्यालयको गेटमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीको जाँच गर्ने पालो आउँछ । अझै पनि सर्वसाधारण सजिलै नेपालगन्ज पुग्ने अवस्था रहँदैन । भन्सारको ५०० मिटर उत्तरमा फेरी पनि सीमा प्रहरीको सामना गर्नुपर्ने हुन्छ । सीमा प्रहरी चौकी जैयसपुरले जेकजाँच गर्छ ।

त्यसको ५०० मिटर उत्तर चौलिका चोकमा फेरि सशस्त्र प्रहरीले जाँचबुुझ गरेपछि मात्र नेपालगन्ज पुग्न सकिन्छ । यी ५००–५०० मिटर दूरीमा रहेका सुरक्षाकर्मी मात्र हुन् । अवैध सामान भित्रिन नदिन दुवै सुरक्षा निकायले सादा पोशाकमा घुमुवा पनि परिचालन गरेका छन् । ती घुुमुवा प्रहरीले सुराकीको आधारमा अवैध सामान ल्याउनेलाई पक्राउ गर्दै आएका पनि छन् । अहिले राँझा चोकमा समेत सशस्त्र प्रहरी खटाइएको छ ।

उता, हिरमिनिया, साइगाउँका प्रहरी चौकीले पनि अवैध सामान ओसारपसार गर्नेहरुमाथि निगरानी गर्दै आएका छन् । अवैध बाटो भएर भारतबाट सामान ओसारपसार गर्नेलाई समातेर बरामद भएको सामान भन्सार कार्यालयमा बुझाउनुपर्ने दायित्व यी प्रहरी चौकीको पनि हो । तर, यतिधेरै सुरक्षाकर्मी परिचालन भए पनि अवैध सामान नेपालगन्जका विभिन्न स्थानबाट बरामद हुने गरेको छ । नेपाल प्रहरीले भने नेपालगन्जका विभिन्न स्थानबाट हप्तैपच्छिे अवैध सामान पक्राउ गरिरहेकै हुन्छ ।

सीमा क्षेत्र जमुनाहादेखि नेपालगन्ज नपुग्दै पाँच ठाउँमा चेकजाँच हुन्छ, तर त्यहि चेकजाँचबाट निस्किएको मालसामान नेपालगन्जमा कसरी पक्राउ हुन्छ ? जमुनाहामै पक्राउ हुनुपर्ने सामान कसरी नेपालगन्ज आइपुग्छ ? जमुनाहा प्रहरी चौकीदेखि सशस्त्रको चौलिका चोकसम्म पर्ने पाँच वटा जेकजाँच गर्ने निकायले तस्करसँग राम्रै घुस रकम लिएर मालसामान छोड्छन्, त्यसरी छाडिएको सामान नेपालगन्जमा पक्राउ हुन्छ ।

जमुनाहामै पक्राउ हुनुपर्ने सामान नेपालगन्जमा बरामद हुँदा पाँच ठाउँमा चेकजाँच गर्ने सशस्त्र र नेपाल प्रहरीको तस्करसँग मिलेमतो रहेको स्पष्ट हुन्छ । सीमा क्षेत्रमा सडकमा चेकजाँच गर्न बसेका भन्सार कर्मचारीदेखि सशस्त्र र जनपद प्रहरीका खल्ती र टोपी चेकजाँच गर्ने हो भने कच्याककुचुक पारेर राखेको पैसा भेटिन्छ । उनीहरुले मालसामान तस्करी गर्नेबाट घुस रकम खाँदै र छोड्दै गर्छन् जुन मालसामान नेपालगन्जमा आएर पक्राउ हुन्छ ।

प्रहरीलाई देख्नासाथ सामान फालेर भाग्ने गरेका कारण ओसारपसारमा संलग्न व्यक्तिलाई पक्राउ गर्न गाह्रो भएको प्रहरीले दावी गर्दै आएको छ । अवैध सामान भित्रिन नदिन सीमा क्षेत्रमा सुरक्षाकर्मी खटिए पनि नेपालगन्जमा अवैध सामान फेला पर्नुले सीमा क्षेत्रका सुरक्षाकर्मीले लापरवाही गरेको पुष्टि हुन्छ । यसले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले सामान ओसारपसार गर्ने तस्करहरुसँग मोटो रकम लिएको भन्ने पुष्टि पनि गर्दछ ।

भन्सार छलेर ल्याएको सामान बरामद गरेको प्रहरीले बताउँदै आएको छ । सीमा क्षेत्रमा मोटो रकमको चलखेल नभए भन्सार छलेर सामान नेपालगन्ज भित्रिने सम्भावना रहँदैन । ‘प्रहरीले भन्सार छलेर अवैधरुपमा भित्रिएको सामान, ओसारपसार गर्न प्रयोग हुने साधन र ओसारपसारमा संलग्न व्यक्तिलाई पक्राउ र सामान बरामद गर्दै आएको छ,’ डाँगीले भने । प्रहरीले अवैध सामानसहित ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिए पनि अवैध सामान नेपाल ल्याउने ठूला ठेकेदार भने हालसम्म पक्राउ पर्न सकेका छैनन् ।

सामान क्यारिङ गरेर नेपालगन्ज ल्याउने र नेपालगन्जका विभिन्न पसलमा विक्री गर्ने क्यारियर मात्र पक्राउ पर्ने गरेका छन् । धेरै परिमाणमा सामान ल्याउनेहरु नदेखिने भएकोले क्यारिङ गर्नेहरु पक्राउ पर्ने गरेको दावी गर्दै प्रहरी स्रोत भन्छ, ‘पहिलेको भन्दा अहिले ठूला कारोवारीलाई पनि नियन्त्रणमा लिएर सामान जफत गरिएको छ ।’ सीमा क्षेत्रमा सुरक्षाकर्मीकै मिलेमतोमा समान भित्रिने गरेको स्थानीयहरु बताउँछन् ।

स्थानीय मकबुल साई भन्छन्, ‘सीमा प्रहरीले सामान बोकेको देख्यो की चिल्लाउँदै खानतलासी गर्न आइहाल्छ । पैसामा सेटिङ्ग नमिले मात्रै सामान बरामद गरिन्छ । यसले पनि ठूला तस्करहरु सहजै उम्कने र क्यारिङ्ग गर्नेहरु समातिन्छन् ।’ प्रहरीका अनुसार सीमामा प्रहरी परिचालन भए पनि खुला सीमाका कारण अवैध सामान नियन्त्रण गर्न समस्या रहेको बनावटी जवाफ सुरक्षा अधिकारीहरुले दिइरहन्छन् ।

सशस्त्र प्रहरीका एक जना अधिकारीले भने, ‘खुला सीमानाको फाइदा उठाउँदै तस्करले लुकिछिपी अवैधरुपमा सामान ल्याउने गर्छन् । हामी सकेसम्म तस्करी रोक्ने अभियानमा छौँ, झुक्याएर, छक्याएर तस्करले सामान नेपालगन्ज पुर्याउँछन् ।’ दैनिक लाखौँ मुल्य बराबरका सामान भित्रिन्छन् । सीमामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुले भने नदेखेझैं गरेर भित्रिएको सामान नेपालगन्ज आएपछि बरामद हुन्छ ।

सामान सीमा क्षेत्रमा खटिएका प्रहरीकै मिलेमतोमा तस्करी भइरहेको सीमा क्षेत्रका स्थानीयहरु बताउँछन् । विगत लामो समयदेखि सीमा क्षेत्रबाट प्रहरीकै सेटीङ्गमा राजश्व छली गरेर विभिन्न माल सामानहरु नेपाल आयात हुँदै आएका छन् । जसका कारण राज्य कोषमा जम्मा हुने ठूलो राजश्वमा घाटा हुँदै गएको छ भने नेपाली व्यापारीहरुसमेत विस्थापत हुन थालेका छन् । जमुनाह प्रहरीकै सेटिङ्गमा भारतबाट दैनिक उपभोग्य वस्तुहरु दाल, चामल, चिनी, तेल, साबुन, सोडा, लुगाकपडा खुलेआम नेपाल आयात हुँदै आएका छन् ।

योसँगै जमुनाह नाकाबाट कुखुरा, अण्डा, हार्डवयरका सामान, विभिन्न मेसिनरी सामानहरुका पार्ट, गाडीका पार्टहरु रासायनीक मल लगायत दैनिक लाखौंका सामानहरु नेपाल भित्रिँदै आएको छ । प्रहरीको मिलेमतो नभए जमुनाहबाटै कसरी सामान तस्करी हुन्छ ? स्थानीयहरुको आशंका छ । प्रहरीले तस्करलाई ‘लाइन’ दिएपछि तस्करी मौलाएको नेपालगन्जका एक जना व्यापारीले नाम नखुलाउने सर्तमा सत्यपाटीलाई बताए । सीमा क्षेत्रमा खटिएकै प्रहरीको मिलेमतोमा तस्करी हुने गरेको छ ।

उनले प्रश्न गर्दै भने, ‘दैनिक लाखौँ मुल्य बराबरका सामान भित्रिन्छन् । सीमामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुले भने नदेखेझैं गरेर भित्रिएको सामान नेपालगन्ज आएपछि बरामद हुन्छ ।’ सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतो तस्करसँग भएकै कारण तस्करी मौलाएको छ । सीमा क्षेत्रमा खटिएका सशस्त्र र नेपाल प्रहरीका इन्चार्जले नेपाली व्यापारीहरुसँग मात्र नभएर भारतीय व्यापारीहरुसँग पनि हप्ता असुल्ने गरेको रहस्य पनि खुलेको छ ।

विषेशगरी रातीको समयमा बढी चोरी, तस्करी र निकासी हुने गरेको छ । रातको समयमा सीमापारि भारतीय बजारबाट नेपाल भित्रिने सामान बरामद हुने क्रम बढेपछि भारतीय व्यापारीहरुले समेत सशस्त्र र नेपाल प्रहरीका सीमा इन्चार्जहरुलाई मिलाउँदै आएको बताइएको छ । भारतीय व्यापारीहरुले सशस्त्र र नेपाल प्रहरीका सीमा इन्चार्जहरुलाई मोटो रकम दिएर आफ्नो सामान नेपालतिर ‘पास’ गराउँदै आएको पनि प्रहरी स्रोतले बतायो ।

सशस्त्र र नेपाल प्रहरीले यस्ता अवैध काम गर्नेहरुसँग महिनावारी ठूलो रकम बुझ्ने गरेकोले यस्ता गलत कार्यले प्रसय पाएको सीमा क्षेत्रका स्थानीयहरु बताउँछन् । ‘जुन व्यापारीको सामान नेपाल आउछ उनीहरुसँग सशस्त्र र नेपाल प्रहरीले कमिशन उठाउँदै आएका छन् । कमिसन नदिने ब्यापारीले ल्याएको सामान प्रहरीले बरामद गर्छ,’ सीमा नाकामा खटिएका एक जना प्रहरीले भने ।

उनका अनुसार जसले कमिशन दिन्छ, उसले सामान क्यारिङ्ग गर्नेहरुलाई पसलको नाम लेखी हस्ताक्षर गरेर चिट दिने गर्दछन् । त्यो चिट प्रहरीलाई देखाइन्छ । उनीहरुको सामान समातिदैन बाँकीको सामान समातिन्छ,’ सीमा नाकामा खटिएका एक जना प्रहरीले भने । यतिमात्रै होइन, गस्तीमा खटिने प्रहरीले नेपाली व्यापारी र क्यारिङ्ग गर्नेहरुसँग समेत असुल्दै आएको पनि सीमा क्षेत्रका स्थानीयहरु बताउँछन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार १२:२४

लोकप्रिय