सूचनाको शक्ति - The Power Of Information

        

आज विश्व बाघ दिवस

‘शिवपोथी’ बघिनीको सन्तानदेखि स्नेह, सङ्घर्ष र सास्तीको १० वर्षे कथा

शिवपोथीका चारै डमरुहरू अहिले पूर्ण रुपमा हुर्केर स्वतन्त्र छन् । क्यामरा ट्रयापबाट रेकर्ड भए अनुसार यी बाघहरूले कहिलेकाहीँ आमाको वासस्थान रहेको क्षेत्रमा ओहोरदोहोर गरिरहेका छन् ।

जङ्गली बँदेल आफ्ना डमरूलाई खुवाउन लैजाँदै शिवपोथी बघिनी ।

यस लेखमा हामी पाठकहरूलाई नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतार्नियाघाट वन्यजन्तु आरक्ष जोड्ने खाताको एउटी बघिनीको जीवनको कथा भन्ने छौँ । खाताको वन वन्यजन्तुहरू ओहोर ओहोरदोहोर गर्ने प्रमुख जैविक मार्ग हो ।

हामीले करिब एक दशकसम्म वन्यजन्तुको अध्ययन र अनुसन्धानमा प्रयोग गरिने विभिन्न विधिहरू प्रयोग गरी खाताका बाघहरूको जीवनलाई नजिकबाट नियाल्ने प्रयास गर्यौँ । हामीलाई आशा छ बाघ भन्ने बित्तिकै हिंस्रक र मानिसलाई आक्रमण गरिहाल्ने भन्ने जुन आम मानिसको बुझाइ छ त्यसलाई यो कथाले परिवर्तन गर्न सघाउने छ ।

सन् २०१३ को राष्ट्रिय बाघ सर्वेक्षणको क्रममा बर्दिया राष्ट्रिय निकुञ्जदेखि तीन किलोमिटर दक्षिण पूर्वमा दुई वर्षको अर्धवयस्क शिवपोथी बाघ हाम्रो क्यामरा ट्रयापमा पहिलो पटक परेकी थिइन् । शरीरमा भएका पाटाहरू झट्ट हेर्दा सबै बाघहरूको उस्तै देखिए पनि मानिसको औँठा छापजस्तै हरेक बाघको पाटाको बनोट फरक हुन्छ ।

यसकै आधारमा अनुसन्धानकर्ताहरूले बाघ चिन्ने गर्दछन् । हामीले शिवपोथीलाई भेटेको ठाउँ कर्णाली नदीले बगाएर ल्याएको मलिलो माटोमा सप्रिएको नदी तटीय वन क्षेत्र थियो । त्यस ठाउँमा चित्तल, लगुना, बँदेल जस्ता बाघका आहारा प्रजाति प्रशस्त मात्रामा थिए । शिवपोथी खाता जैविक मार्गमा आफ्नो आहारा भएको नयाँ वासस्थान खोज्दै आएकी थिइन् भन्ने अनुमान लगाउन सकिन्छ ।

समय र ऋतुहरू बित्दै जाँदा उनले आफूलाई खाताको पश्चिमी भागमा बसोबास गर्ने बाघहरूमध्ये एक बघिनीको रूपमा स्थापित गर्न सफल भइन् । यस्तो उत्कृष्ट वासस्थानमा शिवपोथीको बलियो उपस्थिति देखिएका कारणले हामीले शिवपोथी एक प्रभावशाली बघिनी हुने प्रारम्भिक अनुमान गर्यौँ र निरन्तर निगरानी गर्ने सोच बनायौँ ।

शिवपोथी आफ्नो वासस्थान खोज्ने क्रममा पहिलो पटक डब्लूडब्लूएफको क्यामरामा ।

अर्को वर्ष सन् २०१४ मा हामीले शिवपोथीलाई अन्दाजी तीनदेखि पाँच महिनाको एउटा डमरुका साथ रेकर्ड गर्यौँ । त्यस बेला उनले भर्खरै डमरुलाई खुल्ला ठाउँमा छोड्न थालेकी थिइन् । तर दुःखको कुरा त्यसपछि २०१५ मा शिवपोथीलाई रेकर्ड गर्दा उनको साथमा डमरु थिएन ।

बाघका डमरुहरू १७ देखि २४ महिना हुँदासम्म मात्रै आफ्ना आमासँग बस्ने गर्दछन् र प्राय आधाभन्दा बढी हुर्किन सक्दैनन् । हामी त्यो डमरु हुर्किन नसकेको र मृत्यु भएको हुन सक्ने निष्कर्षमा पुग्यौँ । शिवपोथीको यो पहिलो सन्तान थियो र सायद पहिलो पटक आमा बनेकी उनलाई डमरु हुर्काउने र उनीहरूलाई हुन सक्ने सम्भावित खतराबाट जोगाउने अनुभव पनि थिएन होला ।

हामीले उनलाई २०१६ मा फेरि अर्को एउटा डमरुको साथमा देख्यौँ । आफ्नो यसअघिको सन्तानसँग पीडादायी बिछोड भए पनि शिवपोथीले हार मानिनन् भन्न सकिन्छ । यो डमरु पनि लगभग पहिलेको डमरु जस्तै उमेरको अर्थात् तीनदेखि पाँच महिनाको थियो ।

भाले र पोथी डमरूको रोचक भिन्नता

दोस्रो बेतको डमरु भएका कारण हामी यो डमरु हुर्कनेमा निकै आशावादी थियौँ । तर १३ महिनापछि २०१७ को राष्ट्रिय बाघ सर्वेक्षणको क्रममा पुनः एक पटक शिवपोथीलाई हामीले जङ्गलमा एक्लै डुलिरहेको क्यामरा ट्रयापमा देख्यौँ । त्यति बेलासम्म उनको डमरु १७ देखि १९ महिनाको भइसकेको हुन सक्ने अनुमान हामीले गर्यौँ ।

बाघको जीव विज्ञानको आधारमा भन्नु पर्दा पोथी डमरुहरू माउसँग छुट्टिएर माउकै इलाकाको केही भाग ओगटेर बस्न सक्छन् तर भाले डमरुहरूलाई भने आमाले त्यसरी नजिकैको इलाका ओगट्न दिएको पाइँदैन । उनीहरूले आफू जन्मिएको र हुर्किएको स्थान (नेटल टेरिटोरी )भन्दा धेरै पर विचरण गर्दै नयाँ स्थानलाई आफ्नो इलाका बनाउनुपर्ने हुन्छ ।

हामीले बीचको समय (लगभग १३ महिना) अनुगमन नगरेकाले त्यो डमरु स्वतन्त्र भई आफ्नै इलाका बनाउन हिँड्यो वा म¥यो भन्ने थप पुष्टि गर्न सक्ने आधारहरू हामीसँग थिएनन् । निरन्तर अनुगमनको आवश्यकता महसुस गरेर हामीले यसका लागि थप श्रोत जुटाउन प्रयास ग¥यौँ र सफल पनि भयौँ । त्यसपछि हामीले ज्यानुअरी २०१८ देखि मे २०२० सम्म साढे दुई वर्ष शिवपोथीलाई निरन्तर अनुगमन गर्यौँ ।

हामीले उनको डमरुलाई पनि खोज्ने प्रयास जारी राख्यौँ तर आशा गरे अनुसारको कुनै प्रतिफल पाएनौँ । यस्तैमा एक दिन हामीले रोचक कुरा भेट्टायौँ । शिवपोथी पुनः एक पटक आमा भएकी रहिछन् । यस पटक एउटा मात्र होइन चार वटा डमरुहरू जन्मिएका रहेछन् । हामीले सन् २०१३ मा शिवपोथीलाई पहिलो पटक देखेको ठाउँमा नै उनले यी नयाँ चार वटा डमरुहरूलाई जन्म दिएको अनुमान गर्यौँ ।

खाता जैविक मार्गमा देखा परेका शिवपोथीका डमरुहरू (बायाँदेखि दायाँ) – शिव, ललाई, गौरी र कुस्मिनीया ।

सन् २०१८ को दशैंको आसपास उनले डमरुहरूलाई स्तनपान गराइराखेको यकिन गर्यौँ । अन्ततः मार्च २०१९ मा, हामीले चार वटै डमरुहरूलाई खुल्ला रूपमा खेल्दै गरेको, आराम गरिरहेको र एउटा सानो घोलमा पानी पिउँदै गरेको देख्यौँ । ती चारदेखि छ महिनाका एउटा भाले र तीन वटा पोथी डमरुहरू थिए ।

उनीहरूको वासस्थानको वरिपरि रहेका चार वटा सामुदायिक वनका नामहरू ‘कुस्मनिया’, ‘गौरी’, ‘ललाई’ र ‘शिव’ नै हामीले यी डमरुहरूका नाम राख्यौँ । हामीले उनीहरूलाई देखेको ठाउँ नजिकैको सानो घोल नै उनीहरूको छहारी, तिर्खा मेटाउने र आराम गर्ने ठाउँ रहेछ भनेर थाहा भयो । हामीले शिवपोथीले बँदेल र चित्तलका पाठाहरू सिकार गरी आफ्ना डमरुहरूलाई खानका लागि लग्दै गरेका फोटोहरू पनि रेकर्ड गर्यौँ ।

डमरुहरू एक आपसमा खेलिरहेका र आमासँग सिकार गर्न सिकिरहेका धेरै फोटोहरू पनि रेकर्ड गर्यौँ । भाले डमरु शिव सधैँ समूहको नेतृत्व गर्दथ्यो र दुई वटा डमरुहरू कुस्मिनिया र गौरी आमासँग सिकारमा सामेल भएको पनि पायौँ । २०१९ को सुक्खा मौसममा घोल नसुक्दासम्म उनीहरूले त्यो सानो पानीको श्रोत र आसपासको क्षेत्रमा नै धेरै जसो समय बिताउने गर्थे ।

यसले बाघको संरक्षणमा कसरी सानो र थोरै भए पनि पानीको उपलब्धताले महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने बुझ्न सकिन्छ । २०१९ को अन्त्यतिर अर्थात् नोभेम्बर महिनाबाट, शिवपोथी उत्तर पश्चिमी वन क्षेत्रबाट बाहिरिएर, दक्षिण पश्चिमी कोठियाघाट क्षेत्र वरिपरि घुम्ने गरिरहेको पायौँ । कोठियाघाट भारतीय सीमा नजिकको कतर्नियाघाट वन्यजन्तु आरक्षतिर पर्दछ । १२ देखि १४ महिनाको उमेर पुगेका डमरुहरू अब क्रमशः अर्धवयस्क अवस्थातर्फ लाग्दै थिए ।

डमरुहरू एकअर्कासँग रमाएर खेल्दै ।

हामीले शिवपोथीसँग डमरुहरू फेब्रुअरी–मार्च २०२० तिर (सम्भवतः १५ देखि १९ महिनाको बीचमा हुँदा) छुट्टिएको हुनसक्ने निर्क्यौल गर्यौँ । हामीले शिवपोथीका प्रत्येक डमरुहरूलाई छुट्टाछुट्टै पछ्याउने प्रयास पनि गर्यौँ । यस क्रममा तीन पटक शिवलाई आफ्ना बहिनीहरूसँगै देख्यौँ । शिवले पछिल्लो पटक मे २०२० मा कुस्मिनियालाई पछ्याउँदै हिँडिरहेको थियो ।

सबैभन्दा पछिल्लो पटक भने क्यामरा ट्रयापमा रेकर्ड भए अनुसार शिवले भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष वा बर्दिया राष्ट्रिय निकुञ्जमा आफ्नो नयाँ क्षेत्र स्थापित गर्ने प्रयास गरिरहेको हामीले अनुमान गर्यौँ । गौरीचाहिँ लगभग १४ किलोमिटर पर बबई उपत्यका नजिकको उत्तर पूर्वी घना जङ्गलमा देखापरेकी थिइन् ।

शिवपोथीका चारै डमरुहरू अहिले पूर्ण रुपमा हुर्केर स्वतन्त्र छन् । क्यामरा ट्रयापबाट रेकर्ड भए अनुसार यी बाघहरूले कहिलेकाहीँ आमाको वासस्थान रहेको क्षेत्रमा ओहोरदोहोर गरिरहेका छन् । राम्रो वासस्थान र आहाराका लागि यी बाघहरूबीच प्रतिस्पर्धा हुनुका साथै आफ्नो बाहेक अन्य भालेका डमरुहरूलाई भाले बाघहरूले आक्रमण गरी मार्ने पनि गर्छन् ।

हुर्किएका डमरुहरू ।

यो अवस्थामा पोथी बाघले आफूभन्दा ठूलो र बलिया भालेहरूसँग जुधेर डमरुहरूको सुरक्षा गर्नुपर्ने हुन्छ । हुर्किँदै गरेका बाघहरूको आहारा परिपूर्ति गर्न पोथी बाघले सिकार पनि अत्यधिक मात्रमा गर्नु पर्ने हुन्छ । यी चुनौतीहरू भएर पनि शिवपोथीले चार वटा डमरुहरूलाई किशोरावस्थामा पुर्याउन सफल हुनु धेरै दुर्लभ उपलब्धि हो ।

डमरुको भविष्यको चिन्ता

हामीलाई पहिले रेकर्ड भएका शिवपोथीका डमरुहरूको भविष्य के भयो भन्ने त थाहा भएन तर यी चार डमरुहरू हुर्केर स्वतन्त्र भएपछि नेपालको संरक्षित क्षेत्रभन्दा बाहिर रहेका जैविक मार्ग बाघले राम्रोसँग प्रयोग गरिरहेको तथ्य भने स्थापित भयो । शिवपोथी र उनका डमरुहरूको अनुगमन गर्ने परियोजना मे २०२० मा समाप्त भएपछि हामीले उनलाई केही समय अनुगमन गर्न सकेनौँ ।

तर ज्युरिख विश्वविद्यालयसँग सहकार्य गर्ने अवसर जुटेका कारण हामीले छोटो समयका लागि फेरि अनुगमन गर्ने अवसर पायौँ । डिसेम्बर २०२० देखि अप्रिल २०२१ सम्म फेरि उनको निगरानी गर्यौँ । हामी सबैलाई आश्चर्यचकित पार्दै डिसेम्बर २०२० मा फेरि एक पटक कतर्नियाघाट वन्यजन्तु आरक्ष नजिकैको दक्षिणी क्षेत्रमा शिवपोथी दुई नयाँ डमरुहरूसँग क्यामरा ट्रयापमा रेकर्ड भइन् ।

तर अप्रिल २०२१ पछि हामीले उनीहरूको निरन्तर निगरानी गर्न सकेनौँ । हामीले डिसेम्बर २०२१ को अन्त्यतिर राष्ट्रिय बाघ गणनाको बेलामा फेरि पनि शिवपोथी भेट्यौँ । उमेरले ११ वर्षकी पुग्न लागेकी शिवपोथी र उनको चौथो बेतका डमरुहरू कहाँ छन् भनेर थाहा पाउने उत्सुकताका साथ हामीले उनको निरन्तर अनुगमन पुनः सुरु गर्ने योजना बनाएका थियौँ ।

सन् २०२२ को मे महिनामा खाताको दक्षिण–पश्चिम क्षेत्रमा बाघको आक्रमणबाट करिब पचास वर्षकी एक स्थानीय महिलाको मृत्यु भयो । डिभिजन वन कार्यालय बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्ज, अन्य स्थानीय निकायले द्वन्द्वग्रस्त क्षेत्रमा बाघलाई नियन्त्रणमा लिन र पीडित परिवारलाई सहयोग गर्न तत्काल कारबाही अघि बढाउनु पर्ने भयो र बढायो ।

नियन्त्रणमा लिनका लागि डार्ट गरिएपछि लठिएको अवस्थामा शिवपोथी ।

त्यस बाघलाई समातेर बर्दिया राष्ट्रिय निकुञ्जको होल्डिङ सेन्टरमा ल्याइयो । त्यो बाघ अरू कोही नभई शिवपोथी थिइन् । हामीले शिवपोथीको अवस्था अनुगमन गर्यौँ, उनी बूढी भइसकेकी थिइन्, उनका दाँत र नङ्ग्राहरू निकै खिइसकेका थिए । शिवपोथी कमजोर थिइन् र आफ्नो राज्यबाट विस्थापित भइसकेकी थिइन् ।

त्यस कारण आहाराका लागि जङ्गलमा जे भेटिन्छ त्यही खाने अवस्थामा हुँदा मानिसलाई आक्रमण गरिन् । शारीरिक अवस्था कमजोर हुनु, छिटो दौडिन नसक्नु र अन्य जवान बाघहरूसँग लड्न र जुध्न नसकेका कारण शिवपोथीले आफू बाँच्नको लागि मानवमाथि आक्रमण गर्ने अन्तिम विकल्प रोजिन् भन्ने हामीलाई लाग्छ ।

किनभने खातामा आफ्नो १२ वर्ष लामो कालमा उनले कहिल्यै मानवमाथि आक्रमण गरेकी थिइनन् । उनले सधैँ मानिसहरूसँग दूरी बनाएर राखिन् र स्थानीय मानिसहरूको जीविकोपार्जन र आवश्यकताहरूको सम्मान गरेकी थिइन् जस्तो लाग्छ । स्वस्थ बाघहरूले बिरलै मानिसलाई आक्रमण गर्छन् । र, सकेसम्म मानिस र बस्तीबाट टाढै बस्छन् ।

शिवपोथीलाई नियन्त्रणमा लिने प्रयास । बाघलाई नियन्त्रणमा लिनका लागि सेतो कपडाले घेरिएको हो ।

द्वन्द्वमा आउने अधिकांश बाघहरू प्राय वृद्ध र घाइते भएर सिकार गर्न नसक्ने हुन्छन् भन्ने कुरा पुनः प्रमाणित भयो । शिवपोथीका चार बच्चाहरू कुस्मिनीया, गौरी, ललाई र शिव अहिले पनि खाता जैविक मार्ग, बर्दिया राष्ट्रिय निकुञ्ज, र कतार्नियाघाट वन्यजन्तु आरक्ष आसपासका क्षेत्रमा बसिरहेका छन् । साथै यी चारै बाघले त्यो क्षेत्रमा बाघको सङ्ख्या बढाउन भूमिका खेलिरहेका छन् ।

सन् २०२२ को राष्ट्रिय बाघ गणना अनुसार खाता जैविक मार्गमा नौं ९ वटा बाघहरू छन् । यी बाघहरूको नियति पनि शिवपोथीको जस्तै हुनसक्ने सम्भावना ठूलो चिन्ताको विषय हो । साथै आफ्नै गाउँघरको वरिपरि फस्टाएको वन्यजन्तुसँग सहअस्तित्वको सपना देख्ने समुदायका सदस्यहरूको अमूल्य जीवनको सुरक्षा पनि चिन्ता र चुनौतीको ठूलो मुद्दा बनेको छ ।

अनगिन्ती चुनौती भए पनि सरकार, समुदाय र संरक्षण साझेदार संस्थाहरूले यस अवस्थालाई व्यवस्थापन गर्न सक्दो प्रयास गरिरहेका छन् । द्वन्द्वमा परेका बाघहरू समातिएर होल्डिङ सेन्टरमा राखिएको वा कहिलेकाहीँ मरेको देख्दा दुःख लाग्नु र भावनात्मक हुनु स्वाभाविक हो तर थप मानिसहरूलाई आक्रमण नगरून् भनेर समस्यामा परेका बाघहरूलाई एउटा निर्धारित स्थानमा राख्नु पर्ने हुन्छ ।

तराई क्षेत्रका राष्ट्रिय निकुञ्जहरूमा हाल १० वटा द्वन्द्वमा परेका बाघहरू होल्डिङ सेन्टरमा राखिएका छन् । प्रत्येक प्रदेशमा होल्डिङ सेन्टरहरू निर्माण गरी उनीहरूलाई बाँकी समय बिताउनका लागि राम्रो ठाउँ प्रदान गर्न आवश्यक छ । यी ठूला सुरक्षित केन्द्रहरूले पर्यटनको माध्यमबाट प्रादेशिक तथा स्थानीय सरकारको दीगो राजस्वको श्रोत पनि बन्न सक्छन् ।

राजस्वले स्थानीय समुदायको जीविकोपार्जनमा सुधार गर्न र आकस्मिक दुःखद घटनाका पीडितहरूलाई प्रभावकारी राहत प्रदान गर्न पनि योगदान पुर्याउन सक्छ । नयाँ चुनौतीहरूले नै हो नयाँ अवसरहरू ल्याउने र हामी विश्वस्त छौँ कि बाघ संरक्षणमा लागेका साझेदार निकायहरूले आएका चुनौतीहरूलाई अवसरमा बदल्ने छन् ।

निकुञ्जमा बाँकी जीवन

अहिले शिवपोथीका चार सन्तान पनि हुर्किसकेका छन् ।

शिवपोथीले बर्दिया राष्ट्रिय निकुञ्जको होल्डिङ सेन्टरमा आफ्नो बाँकी जीवन बिताउने देखिन्छ । हामी संरक्षणकर्मीहरू मिलेको बेला उनको अवस्था हेर्न जाने गर्छौँ । होल्डिङ सेन्टरको सानो प्वालबाट चियाएर हेर्दा उनी गर्जेर रिसाउँछिन् र मुन्टो भित्तातिर लगाएर बस्छिन् । सायद उनलाई अझै पनि मानिस नजिक आएको मन पर्दैन ।

शिवपोथी हेर्दा भारतको रथाम्भोर टाइगर रिजर्भ कि विश्वप्रसिद्ध बघिनी ‘मछली’ (गालामा माछाको काँडा जस्तो आकृति भएकोले सो नाम दिएको)को याद आउँछ । मछलीले पनि आफ्नो जीवनमा शिवपोथी जस्तै धेरै डमरुहरूलाई जन्म दिएकी थिइन् । उनको मृत्युपछि भारत सरकारले सार्वजनिक कार्यक्रममा वन विभागका कर्मचारीहरूको पनि उपस्थितिमा हिन्दू धर्म अनुसार उनको अन्तिम कर्म पूरा गरेको थियो ।

बाघले मानिसलाई आक्रमण गरेको सुन्ने बित्तिकै उत्तेजक भएर बाघप्रति नकारात्मक धारणा बनाउन हुँदैन । बाघले मानिसलाई आक्रमण गर्ने अवस्था किन आयो भनेर गम्भीरता पूर्वक सोच्ने हो भने त्यही नै शिवपोथी र उनी जस्तै अरू बाघहरूलाई हामीले दिने सही सम्मान हुनेछ । हामी सबै मिलेर लाग्यौँ भने नेपालले मानव–बाघ सहअस्तित्वको उदाहरण र पाठ विश्वलाई सिकाउन धेरै समय पर्खिनु पर्दैन । विश्व बाघ दिवस २०२४ को सबैमा शुभकामना ।

(खाताका बाघहरूको दीर्घकालीन अनुगमन नेपाल सरकारको नेतृत्वमा गरिएको थियो । जसमा वन तथा भू–संरक्षण विभाग, डिभिजन वन कार्यालय बर्दिया, खाता सामुदायिक वन समन्वय समिति, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र, तराई भू–परिधि कार्यक्रम र डब्लूडब्लूएफ नेपालले सहकार्य गरेका थिए ।)

स्रोत : बीबीसी
प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार ०७:१५

लोकप्रिय