सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनीमा संसदीय दलको नेता परिवर्तन नभएपछि रेशमलाई धक्का

विवादमा रहेको नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीलाई लुम्बिनी प्रदेशमा धक्का लागेको छ । चौधरीले लुम्बिनीको संसदीय दलको नेता फेरेर मन्त्री बनाउने पहललाई प्रदेश सभाले रोकेको छ । नाउपाले संसदीय दलको नेता फेरेको जनाए पनि प्रदेशसभाले मान्यता नदिएपछि रेशम चौधरीलाई धक्का पुगेको छ ।

प्रदेशसभाले बिहीबार उपलब्ध गराएको दलगत विवरणमा संसदीय दलको नेतामा धर्मबहादुर चौधरी नै नाउपाको संसदीय दलको नेता रहेका छन् । दलगत विवरणमा राजकुमार चौधरी प्रमुख सचेतक, नरमाया ढकाल सचेतक र निर्मलादेवी थारु प्रदेशसभा सदस्य रहेकी छन् ।

यसअघि संसदीय दलको नेताबाट धर्मबहादुर चौधरीलाई हटाएर राजकुमार चौधरीलाई तोकिएको विवरणसहितको पत्र गत ७ गते प्रदेशसभामा पेश गरिएको थियो । बहुमत सांसदको सोमबार बसेको बैठकले राजकुमार चौधरीलाई दल नेता बनाउने, प्रमुख सचेतकमा नरमाया ढकाल र सचेतकमा निर्मलादेवी थारूलाई चयन गरिएको जानकारी प्रदेशसभालाई दिइएको थियो ।

लुम्बिनीमा नाउपाका चार जना सांसद छन् । संसदीय दलको नेताबाट हटाइएका चौधरी पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ निकट हुन भने राजकुमार संरक्षक रेशमलाल चौधरी पक्षका हुन् । श्रीमान–श्रीमती रहेका रेशम र रञ्जिताबीचको विवादले नाउपा केन्द्रदेखि प्रदेशसम्म दुई भागमा विभाजित भएको छ । योसँगै लुम्बिनीमा राजकुमारलाई दलको नेता बनाएर मन्त्री बनाउने रेशमको तयारीमा धक्का लागेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार १४:२५

लोकप्रिय