सूचनाको शक्ति - The Power Of Information

        

ज्यानै लिन सक्ने रोग हैजा, कसरी बच्ने ?

गर्मी मौसममा लाग्ने रोग हैजाका कारण ज्यानै समेत जान सक्छ, यसकारण संमयता अपनाउनुहोला । गर्मी मौसममा विभिन्न प्रकारका सरुवा रोगहरूले सताउने गर्दछ । यो मौसम झाडापखाला, आउँ, हैजा, भाइरल ज्वरो, रुघाखोकी लगायत रोगहरूको सिजन हो । यसकारण जाडो महिनाको तुलनामा सतर्कता अपनाउन आवश्यक छ ।

आजभोलि हैजाका बिरामीहरू अस्पतालमा भेटिन थालेका छन् र दिनानुदिन बिरामीहरूको सङ्ख्या पनि बढ्दो छ । यसकारण हैजा कस्तो स्वास्थ्य समस्या हो ? यो के–कस्ता कारणहरूले गर्दा फैलन्छ ?यो रोग सर्नबाट कसरी बच्ने लगायतका सन्दर्भमा हामीले सङ्क्रामक रोग विशेषज्ञ डा.जनक कोइरालासँग कुराकानी गरेका छौ ।

कस्तो रोग हो त हैजा ?

हैजा भनेको एक प्रकारको सरुवा रोग हो । यसले झाडाबान्ता गराउँछ । विशेष गरी धेरै पटक धेरै पातलो दिसा लगाउँछ । यसकारण शरीरको पानी धेरै कम भएर मानिसहरूमा डिहाइड्रेसन भएर समयमा उपचार गरिएन भने मृत्यु समेत हुनसक्ने सम्भावना हुन्छ । भिब्रिओ कोलेरा नामक जीवाणको सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दा यो रोग लाग्ने गर्छ ।

हैजा मुख्यतया सरसफाइको अभावका कारण प्रदूषित भएको खाना वा पानीबाट मानिसमा सर्ने गर्दछ । पिउने पानी र खानेकुरा नै हैजाको प्रमुख कारण मानिन्छ । व्यक्तिगत वा वरपरको सरसफाइमा ध्यान नदिनु र लक्षण नदेखिएका सङ्क्रमितसँग सम्पर्कमा आउनुले समेत मानिसमा यो रोग सर्छ ।

यसका लक्षणहरू भनेको पेट दुख्ने, धेरै पटक पातलो दिसा हुने, बान्ता हुनु, हैजामा धेरै पटक धेरै नै पटक पातलो दिसा हुन्छ । अकस्मात् र छिनछिनमा पानीजस्तो पातलो दिसा दिनमा १०–१५ पटक हुनु, लगातार दिसा र बान्ता भइरहनु, दिसामा मासी तथा रगतको अंश देखिन थाल्नु, लगातारको दिसा र बान्ताका कारण शरीरमा पानीको कमी हुन थाल्नु र मुख, घाँटी सुक्नु र तिर्खा लागिरहने जस्ता लक्षण देखा पर्दछन् ।

सरसफाइ नभएका फोहोर ठाउँहरूमा हैजा हुने र फैलिने सम्भावना बढी हुन्छ । रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सीधै सर्ने सम्भावना हुँदैन, तर सङ्क्रमित व्यक्तिको कपडा लगाउँदा, एउटै पानी, साबुन प्रयोग गर्दा र ऊसँग नजिक रहँदा यो रोग सर्ने हुन्छ । हैजाका बिरामीहरूको समयमै उपचार गरिएको खण्डमा बिरामीहरू निको हुन्छन् । हैजाले बालबालिका र वयस्क दुवैलाई असर गर्छ र उपचार नगरिए ज्यान समेत लिन सक्छ ।

गम्भीर हैजा भएका व्यक्तिहरूमा गम्भीर निर्जलीकरण हुन्छ अर्थात शरीरमा पानीको मात्रा निकै कम हुन्छ । जसलाई यदि समयमै उपचार नगरिएमा, बिरामीको मृत्यु समेत हुन सक्छ । करिब १० जना बिरामीमध्ये एक जना हैजाका बिरामीमा गम्भीर लक्षण विकास हुन्छ । यसकारण यसको रोकथामको लागी मुख्य कुरा भनेको स्वच्छ, सफा, उमालिएको वा निर्मलीकरण गरिएको पानी मात्र पिउने गर्नुहोस् ।

दिसा पिसाब गरेपछि वा केही काम गरेर फर्किएपश्चात् साबुन पानीले राम्ररी मिचिमिची हात धुनुहोस् । शौचालयमा मात्र दिसा पिसाब गर्ने, खानेपानीको स्रोत वरिपरि दिसा पिसाब नगर्ने, भान्साकोठा र शौचालयको सरसफाइमा विशेष ध्यान दिने, साथै हैजाको बिरामीको दिसा उचित रूपमा व्यवस्थापन गर्ने र बिरामीको हेरचाह गर्ने व्यक्तिले आफ्नो शारीरिक सफाइमा विशेष ध्यान दिने गर्नुभयो भने तपाई यो रोगबाट बच्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार १४:०६

लोकप्रिय