सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा विमान दुर्घटनाबारे न्युयोर्क टाइम्सले लेख्यो, ‘एउटा टाउकोमा दुइटा ह्याट’

नेपालमा पछिल्लो विमान दुर्घटनाका बारेमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा जारी छ । अमेरिकी चर्चित पत्रिका न्युयोर्क टाइम्सले निरन्तर रूपमा दुर्घटना हुनुमा बेवास्ता गरिएको एउटा कारण भएको औँल्याएको छ । उक्त पत्रिकाले ‘एउटा टाउकोमा दुइटा ह्याट’ लगाउँदा यसखालको दुर्घटना भइरहेको विज्ञलाई उद्धृत गर्दै जनाएको छ ।

अनुसन्धाताले धेरै दिशामा दुर्घटनाबारे चर्चा गर्ने गरेको जनाउँदै मौसम, जटिल भूभाग, ‘ओभर वर्कड’ पाइलट, पुराना विमान भन्ने गरिए पनि जरो कारणको सम्बोधन नगरिएको जनाइएको छ । त्यो कारण भनेको स्वार्थको द्वन्द्व भएको जनाउँदै जो आकर्षक हवाई सेवा प्रदान गरिरहेका छन्, तिनै व्यक्ति नियामक निकायमा हुनुले यस्तो घटना दोहोरिएको समाचारमा उल्लेख छ ।

समस्या आएमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नै त्यसको अनुसन्धान गर्ने जिम्मेवारी दिने गरिएको न्युयोर्क टाइम्सले जनाएको छ । न्युयोर्क टाइम्सले प्राधिकरणका पूर्वअधिकारीलाई उद्धृत गर्दै यसले छानबिनमा बाधा गर्ने जनाएको छ । मानिसको जीवनमरणसँग गाँसिएको विषयमा आवश्यक सुधार गरिनुपर्नेमा समाचारमा जोड दिइएको छ ।

नागरिक उडड्यन प्राधिकरणका पूर्वप्रमुख सञ्जीव गौतमले उक्त पत्रिकासँग भनेका छन्, ‘प्राधिकरणले एउटा टाउकोमा दुइटा ह्याट लगाइरहेको छ, एउटा सेवाप्रदायक र अर्को निरीक्षकको । यदि, कुनै एयर ट्राफिक कन्ट्रोलरले गल्ती गरे के हुन्छ तपाईं भन्न सक्नुहुन्छ ? प्राधिकरणले सूचना लुकाउँछ कि लुकाउँदैन ?’ उक्त पत्रिकासँगको कुराकानीमा पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले कुनै प्रभाव नभएको स्वतन्त्र स्थायी प्रकृतिको अनुसन्धान निकाय हुनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार १३:१९

लोकप्रिय