सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीकै अगाडि जासुस कुटिएपछि…

नेपाल प्रहरी र सशस्त्र प्रहरीकै अगाडि नेपालको जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका एक सूचकमाथि कुटपिट भएको छ । नेपाल–भारत सीमानाका जमुनाहास्थित चेकपोष्ट नजिक सूचक अर्जुन खड्कामाथि कुटपिट भएको हो ।

उनलाई नेपालगन्ज उपमहानगरपालिका–४ स्थित कलपत्रु होटलमा सञ्चालित क्यासिनो एसएन ब्लु गेमिङका कर्मचारीले आक्रमण गरेको आरोप लागेको छ । सो कुटपिट आरोपमा ‘एसएन ब्लु गेमिङ्ग’ नामक क्यासिनोका जिएम अर्जुन खनाललाई गएराति प्रहरीले नियन्त्रणमा लिएको छ ।

तर, उनी कुटपिटमा संलग्न नभएको भएपनि उनकै समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ । वडा नम्बर १५, जमुनाह भन्सारको चेकपोष्ट नजिकै भारतबाट नेपाल ल्याउँदै गरेको १८ लाख रुपैयाँ हिजो साँझ सूचक अर्जुन खड्काले नियन्त्रणमा लिएका थिए ।

उक्त रकम क्यासिनो तथा हुण्डी कारोबारका लागि ल्याइएको बुझिएको प्रहरीले जनाएको छ । सो रकम नियन्त्रणमा लिएको केही समयपछि क्यासिनोका मान्छेले खड्कालाई रड तथा बियर बोतलले प्रहार गरेको विभागका प्रमुख (आइजी) हुतराज थापाले बताए ।

यस्तै एक समूहले सो रकम पनि खोसेर लगेको थियोे । त्यसपछि उनीहरुले फेरि फर्किएर प्रहरीकै अगाडि सूचकमाथि बोतल, फलामको कुर्सीले प्रहार गरेको बताइन्छ । ती सूचकको टाउकोमा ११ वटा टाँका लगाइएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार १२:३०

लोकप्रिय