सूचनाको शक्ति - The Power Of Information

        

लीलादेवी गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव

लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त भएकी छन् । कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री आरजु देउवा राणाले जानकारी दिइन् ।

वैकुण्ठ अर्यालमाथि भ्रष्टाचार मुद्दा लागेपछि उनलाई नयाँ दरबन्दी सिर्जना गरेर योजना आयोगमा सरुवा गरी प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिवकै नियुक्ति दिएको हो । योसँगै उनी नेपालको निजामती सेवाको उच्च पद मुख्यसचिव बन्ने पहिलो महिला बनेकी छन् । उनी ५८ वर्ष उमेर हदका कारण २०८१ भदौ १५ मा सेवानिवृत्त भई अनिवार्य अवकाशमा जानेछिन् ।

यसैबीच, सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.शिवराज अधिकारी नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि योजना आयोगको सदस्य डा.अधिकारीलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उपाध्यक्षमा नियुक्त अधिकारी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार १७:२९

लोकप्रिय