सूचनाको शक्ति - The Power Of Information

        

जहाज दुर्घटना : कसरी बाँचे क्याप्टेन ? अपवाद, संयोग वा चमत्कार ?

अधिकांश अवस्थामा विमान दुर्घटना घातक हुन्छन् । अर्थात् दुर्घटना भएपछि यात्रुको ज्यान जाने जोखिम अधिक हुन्छ । यो कुरा चालक दलका सदस्यमा पनि लागू हुन्छ । नेपालका विमान दुर्घटनाहरुको इतिहास हेर्ने हो भने अधिकांश दुर्घटनामा विमानमा सवार सबैको ज्यान गएको छ ।

तर कहिलेकाहीँ अपवाद हुन्छ वा भनौं चमत्कार नै । आज त्यस्तै भएको छ । आज बिहान ११ बजे पोखरा उडेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थल नजिकै दुर्घटनामा पर्यो र सेकेण्डभरमै आगो लाग्न पुग्यो । विमानस्थल नजिकै भएकाले तत्कालै उद्धार सुरु भयो । तर सम्पूर्ण शक्ति लगाउँदा पनि एक जनाको मात्र जीवितै उद्धार गर्न सम्भव भयो ।

ती हुन् जहाजका क्याप्टेन मनिषरत्न शाक्य । उनी आँखा र टाउकोमा चोट लागेको अवस्थामा भेटिएका थिए । उनलाई तत्काल केएमसी अस्पताल पुर्याइयो । प्रहरीका अनुसार उनी राम्रोसँग बोल्न सक्छन् र खतरामुक्त छन् । सौर्य एयरलाइन्सले उपलब्ध गराएको विवरणअनुसार विमानमा क्याप्टेन शाक्य, को–पाइलट एस कटुवाल र १७ जना यात्रु थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानमा सवार १८ जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दुर्घटना भएको सौर्य एयरको विमान । तस्वीर : किरणराज विष्ट । रासस

प्राधिकरणले आफ्नो वेबसाइटमा राखेको विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०८१ साउन ९ गते तदनुसार २४ जुलाइ २०२४ बुधबारका दिन सौर्य एयरलाइन्सको सिआरजे CRJ7 (Reg-9NAME) जहाज काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ११ः११ मा पोखरा उडानका क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको, तत्कालै उद्धार कार्य सुरु गरी आगो नियन्त्रणमा लिई १८ जनाको शव संकलन गरिएको तथा १ जना घाइतेलाई उद्धार गरी अस्पताल पुर्याइएको जानकारी गराइन्छ ।’

टेकअफ लिने क्रममा धावनमार्गबाट चिप्लिएर जहाज दुर्घटना भएको हो । जहाज सुरुमा देब्रेतर्फ कोल्टिएको र फेरि उछिट्टिएर दाहिनेतर्फ पुगेको थियो । दाहिनेतर्फ लगभग २०० मिटर घिस्रिँदै जहाजले एयर डाइनेस्टीको हेलिकोप्टरको ह्याङ्गरलाई हिर्काउन पुगेको थियो । त्यहाँ रहेको कन्टेनरलाई समेत घिसार्दै जहाज तल खोल्सामा पुगेको थियो । दुर्घटनास्थलमा एयर डाइनेस्टीको कन्टेनरसँगै जहाजको ककपिटको भाग रहेको छ । जहाजको पछाडिको भाग त्यहाँबाट टुक्रिएर १०० मिटर पर बजारिएको छ । यो भाग काँडाघारीको बाटो नजिक रहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार १३:३६

लोकप्रिय