सूचनाको शक्ति - The Power Of Information

        

बस्तीमै चितुवा आउन थालेपछि टीकापुरमा त्रास

कैलालीको टीकापुर नगरपालिका–७ र ८ मा चितुवा त्रास फैलाएको छ । चितुवा बस्तीमा आएर घरपालुवा जनावर मार्नुका साथै मानिस पनि आक्रमणको सिकार भएका छन् । केही दिनअघि वडा नं ८ फाटाका २२ वर्षीय अरविन चौधरी भाग्यले बाँचे । उनको शरीरमा घाउ लागेको छ । यद्यपि उनी खतरामुक्त छन् ।

चार महिनादेखि राति बस्तीमा आउने चितुवाले भैँसी, बाख्रा, बङ्गुर र कुकुर मारेको छ । चितुवाको डरले राति घरबाहिर निस्कने आँट कसैको छैन । ‘राति शौचालय जान निस्केको थिए, नजिकै चितुवा देखेँ, अनि घरभित्र दौडिए,’ टीकापुर–७ का शिवम् चौधरीले भने, ‘त्यस दिनदेखि अँध्यारो भइसकेपछि बाहिर निस्कन डर लाग्छ । खाना खाइसकेपछि सरसफाइको काम पनि राति गर्दैनौँ ।’

गाउँमा जङ्गली जनावरको जोखिम बढेपछि वन सब डिभिजन कार्यालयको सहयोगमा सत्ती कर्णाली सामुदायिक वनको तीन सय मिटर क्षेत्रमा तारजाली लगाइएको र अझै तारजाली आवश्यक रहेको वन अध्यक्ष जीतराम चौधरी बताए । ‘अझै तीन किलोमिटर वनक्षेत्रमा तारजाली आवश्यक छ,’ उनी भन्छन्, ‘जनावरलाई नियन्त्रण गर्न नसके बस्तीमा दिउँसो पनि जोखिम रहन्छ ।’

यहाँ सत्ती कर्णाली र श्रीलङ्का सामुदायिक वन क्षेत्रको नजिक भारततर्फ पनि घना जङ्गल भएकाले जङ्गली जनावरको आक्रमण बढिरहेको वडा नंं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए । पारिबाट हात्ती, बाघ र चितुवा आँउछन्, टीकापुरका वडा नं ७, ८, ५ र २ मा जङ्गल क्षेत्र जोडिएकाले यी वडामा जङ्गली जनावरको जोखिम छ । वडा नं ८ मा चितुवामात्र होइन हात्तीलेसमेत त्यत्तिकै सताउने गरेका छन् ।

हात्ती नियन्त्रणका लागि तारजाली लगाउने, राति उज्यालो बनाउन बत्तीको व्यवस्था गरेको उनले बताए । बर्दिया राष्ट्रिय निकुञ्जबाट पनि जङ्गली जनावर आउने भएकाले बस्ती असुरक्षित भएको उनको कथन छ । सत्ती कर्णाली सामुदायिक वन क्षेत्रसँग कर्णाली करिडोर क्षेत्र जोडिएकाले जङ्गली जनावरको ओहोरदोहोर हुने जोखिम रहेको वन सब डिभिजन कार्यालयका अधिकृत मोहम्मद ताहा हुसेन निकरानीले बताए ।

‘केही महिनादेखि जङ्गली जनावरको आक्रमण बढेको जानकारी आएको छ,’ उनले भने, ‘त्यहाँ बर्दिया राष्ट्रिय निकुञ्जबाट बर्दिया हुँदै जङ्गली जनावर कैलालीका सामुदायिक वन प्रवेश गर्ने गरेका छन्, यसले पनि जोखिम बढेको छ ।’ डिभिजन कार्यालयले सामुदायिक वनलाई तारजाली लगाउन सहयोग गरेको र त्यहाँका नागरिकलाई सुरक्षित रहन सचेत गराइएको उनले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार ११:३०

लोकप्रिय