सूचनाको शक्ति - The Power Of Information

        

समय-सन्दर्भ

एसइईको मौका परीक्षा, ‘दबाब होइन, अवसरको सदुपयोग गरौं’

विद्यार्थी जीवनमा परीक्षा धेरै दिनुपर्छ । यदि कुनै परीक्षा बिग्रिँदैमा सबै सकियो भनेर सोच्नुहुँदैन । विद्यार्थीले यसबाट सिक्नुपर्छ र अगाडि बढ्नुपर्छ ।

यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पास हुन नसकेका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने अवसर पाएका छन् । एक महिनापछि हुने मौका परीक्षा विद्यार्थीका लागि आफ्नो नतिजा सुधार्न एक महत्त्वपूर्ण अवसर हो । विद्यार्थीलाई परीक्षामा सफल हुनका लागि धेरै दबाब हुन सक्छ जसले उनीहरूको भावनात्मक र मानसिक स्वास्थ्यमा चिन्ता उत्पन्न गर्न सक्छ ।

यस अवस्थामा घरपरिवार र आफन्तले विद्यार्थीलाई तनाव र चिन्ता व्यवस्थापन गर्न मद्दत र हौसला प्रदान गर्नुपर्छ । विद्यार्थीले कुनै प्रकारको तनाव लिनु हुँदैन भन्ने मुख्य कुरा हो । पूरक परीक्षाको तयारी गरिरहेका विद्यार्थीले सकारात्मक सोच राख्न जरुरी छ । पहिले मनबाट अनुत्तीर्ण भएको डर हटाउनु आवश्यक छ । उच्च मनोबल र दृढ विश्वासका साथ परीक्षामा सहभागी हुने परिस्थिति निर्माण गर्नुपर्छ ।

यसरी तयारी गर्दा उत्तीर्ण हुन सक्ने स्थिति बन्न सक्छ । अबको एक महिना पूरक परीक्षामा सहभागी हुने विद्यार्थीका लागि अत्यन्त महत्त्वपूर्ण समय हो । एक वर्ष अध्ययन गरिसकेका कारण अबको एक महिनामा बुझ्न सजिलो हुन्छ । यस समयमा विद्यार्थीले त्यही किताब र पाठलाई पुनरावलोकन गर्नुपर्छ । त्यसैले तयारीका लागि एक महिना पर्याप्त समय हो । विद्यार्थीले अब्बल हुन व्यवस्थित समय तालिका बनाएर तयारी गर्नुपर्छ ।

यसअघि दिएको परीक्षाको अनुभव निकै मूल्यवान् हुन्छ । परीक्षामा कति प्रश्न हल गरियो ? पर्याप्त तयारी थियो कि थिएन ? यदि तयारी अपूरो थियो भने त्यसलाई पूर्णता दिनु आवश्यक छ । त्यसका लागि विगतमा सोधिएका प्रश्न, यसअघिका परीक्षामा सोधिएका प्रश्नपत्र जम्मा गर्ने र अभ्यास गर्ने । आफैँले लेखेका उत्तर विषय शिक्षक र साथीभाइलाई देखाउने र सुधार गर्ने कुरामा ध्यान दिनु आवश्यक छ । आफूले नजानेको वा नबुझेको कुरा शिक्षक वा जान्ने साथीलाई सोध्नुपर्छ ।

विद्यार्थीले दोस्रो मौकाको तयारी गर्दा कम समयमा धेरै पढ्नुपर्ने हुन्छ जसले गर्दा एक वर्षभरि पढेका कुरालाई एक महिनामै दोहोर्याउनुपर्ने चुनौतीपूर्ण हुनसक्छ । यस्तो अवस्थामा विद्यार्थीले यो मौकालाई बोझभन्दा अवसरको रूपमा लिएर सकारात्मक रहनु आवश्यक छ । तसर्थ विद्यार्थीले अहिलेसम्म पढेका कुरालाई घोक्नेभन्दा मुख्य अवधारणा बुझ्नमा केन्द्रित हुनुपर्छ । परीक्षाको तयारी गर्न केही आधारभूत आवश्यकता छन् । अध्ययन गर्दा मुख्य विषयका बुँदा टिपोट गरेर पढ्ने, लेख्ने र निरन्तर अभ्यास गर्नुपर्छ ।

तयारीका उपाय

विद्यार्थीले तयारी गर्दा व्यवस्थित योजना र समय व्यवस्थापन गर्नु अत्यन्तै जरुरी छ । दैनिक अध्ययन तालिका बनाएर तयारी गर्नुपर्छ जसमा गाह्रो विषयलाई बढी प्राथमिकता र कम गाह्रो विषयलाई कम समय मिलाएर अध्ययन गर्नुपर्छ । एकैचोटि लामो समयभन्दा छोटो–छोटो समयमा अध्ययन गर्दा ध्यान केन्द्रित रहन्छ । साथै अध्ययन सामग्रीको सही चयनले तयारीलाई प्रभावकारी बनाउँछ ।

यसका लागि शिक्षक, जान्ने साथी वा अनुभवी व्यक्तिको सहयोग लिनुपर्छ । परीक्षामा सफल हुन नियमित अभ्यास गर्न आवश्यक छ । विद्यार्थीले मुख्य पाठ्यपुस्तक र टिपोटको आधारमा अध्ययन गर्नुपर्छ । तर शिक्षकले पाठ्यपुस्तकसँगै व्यावहारिक शिक्षा दिन सकेमा विद्यार्थीलाई बुझ्न थप सहज हुन्छ । विद्यार्थीले पनि मौलिक उत्तर दिन सकेमा धेरै नम्बर पाउने सम्भावना बढ्छ ।

अहिलेको समयमा हामी प्रविधिसँग जडिएका छौँ । विषय शिक्षा प्राप्त गर्न प्रत्यक्ष सम्पर्क नभए पनि सामाजिक सञ्जालमार्फत हामी जिज्ञासा राख्न सक्छौँ । यसैगरी अनलाइन स्रोत जस्तै– युट्युब भिडियो, अनलाइन क्लास र अन्य शैक्षिक वेबसाइटको प्रयोग गर्न सकिन्छ । शिक्षकले विद्यार्थीलाई सहजीकरण गर्नुपर्छ । अपेक्षित परिणाम हासिल गर्न अतिरिक्त कक्षाको व्यवस्था गर्नुपर्छ ।

साथै सधैँ विद्यार्थीलाई सकारात्मक भावना विकास गर्न र उनीहरूको मनोबल उच्च राख्नुपर्छ । शिक्षकले विशेष कक्षा सञ्चालन, त्यसको प्रबन्धन र अनुगमन गर्नुपर्छ ।अभिभावकले विद्यार्थीलाई घरमा शान्तिपूर्ण वातावरण प्रदान गर्नुपर्छ । विद्यार्थीको स्वास्थ्यका लागि उनीहरूको खानपानमा ध्यान दिनु आवश्यक छ । विद्यार्थीलाई मानसिक तनाव भएको गतिविधिबाट सावधान रहन आवश्यक छ ।

परीक्षाको तयारीमा विद्यार्थीले शारीरिक र मानसिक स्वास्थ्यको ख्याल राख्नुपर्छ । त्यसका लागि स्वास्थ्यकर खानपानमा ध्यान दिनुपर्छ । परीक्षा दिँदा सबै परीक्षा केन्द्र, समय र परीक्षाका लागि आवश्यक सामग्री सही तरिकामा छुटाउनुहुँदैन । परीक्षा दिँदा पनि निर्देशनानुसार सम्पूर्ण पालना गर्नुपर्छ । जसमा सिम्बल नम्बर, उत्तर पुस्तिकाको नम्बर र रजिस्ट्रेशन नम्बर सही लेख्नुपर्छ ।

प्रश्नको हल गर्दा कुन प्रश्नलाई कति अङ्क दिइएको छ भन्ने अनुसार समय व्यवस्थापन गरी लेख्नुपर्छ । विद्यार्थी जीवनमा परीक्षा धेरै दिनुपर्छ । यदि कुनै परीक्षा बिग्रिँदैमा सबै सकियो भनेर सोच्नुहुँदैन । विद्यार्थीले यसबाट सिक्नुपर्छ र अगाडि बढ्नुपर्छ । उनीहरूलाई हौसला दिनु अत्यन्तै आवश्यक छ । नेपालमा परीक्षा मात्र विद्यार्थीको ज्ञानको मापदण्ड होइन ।

परीक्षामा सिकेका शिक्षाका पाठलाई सकारात्मक दृष्टिकोणले अभिवृद्धि गर्न आत्मसात् गर्नुपर्छ जसले सृजनात्मक, सकारात्मक र रचनात्मक विकासलाई अगाडि बढाउन सक्छ । यो एक महिनाको अवधि निकै महत्त्वपूर्ण छ । विद्यार्थीले दैनिक समय तालिका बनाउँदा अध्ययन प्रभावशाली हुन्छ । अहिलेको अवसरको महत्त्व बुझेर तयारी गर्न यो एक महिनाको समय अत्यन्त आवश्यक छ र यसपालि नै कक्षा ११ मा भर्ना हुन पाइन्छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार ०८:३७

लोकप्रिय