सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ असार २२ गते शनिवारको राशिफल

२०८१ असार २२ गते शनिवार, ६ जुलाई २०२४ । आषाढ शुक्लपक्ष, प्रतिपदा तिथि । पुनर्वशु नक्षत्र । चन्द्रराशि मिथुन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अग्रजहरूको सहयोग जुट्नुका साथै पराक्रमी काम सम्पादन हुनेछ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा मनग्य फाइदा हुनेछ । मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ । पहिलेका समस्या समाधान हुनाले थप अवसर पाइनेछ । निरन्तर लागिपर्दा अप्ठ्यारा परिस्थितिसमेत सहज बन्नेछन् ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा भने साबिकजस्तै फाइदा भइरहनेछ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । विवादास्पद जिम्मेवारी आउला । सावधानीले मात्र कार्यसिद्धि हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति अलि प्रतिकूल रहनेछ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने समय छ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान् । आफ्नो भोगाधिकारमाथि अरूले दाबी गर्न सक्छन्, सजग रहनुहोला । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । खर्च जुटाउन सरसापट लिनुपर्ने हुन सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला । काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ । मिहिनेतले आंशिक सफलता प्राप्त हुनेछ । आर्थिक फाइदा कमै भए पनि कामले ज्ञान दिलाउनेछ । आफ्नो कमजोरी बाहिरिनाले आलोचकहरू बढ्न सक्छन् । अरूको उपकार गर्न सकिनेछ । तर धेरै समर्पणले पनि स्वाभिमानमा दाग लाग्न सक्छ । लगनशीलताले मात्र लक्ष्यमा पुग्न सकिनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कर्मयोगबाट विशेष फाइदा हुनेछ । व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ । प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ । नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रयत्न गर्दा अवसर पाइनेछ । परोपकारी काममा सहभागी भइनेछ । तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन् । धेरै समय अरूका लागि जुट्नुपर्नेछ । लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला । श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ । तापनि पुराना कामलाई निरन्तरता दिन सकिनेछ । व्यवसायतर्फ हिसाबकिताबमा होसियार रहनुहोला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ । समयमा गम्भीर नबन्दा व्यर्थैमा दुःख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला । कामको चाप बढ्नेछ भने बाध्यात्मक परिस्थितिले पनि अलमल्याउन सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

माहोल रमाइलो रहनेछ र छोटो समयमा फाइदा उठाउन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने विशेष उपहारले काममा उत्साह जगाउनेछ । अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ । विवादबाट टाढा रहने प्रयत्न गर्नुहोला । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अप्ठ्यारा परिस्थितिलाई सहज बनाउने समय छ । रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ । द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने योजना शुभारम्भ हुनेछ । ईर्ष्या गर्नेहरूले सताए पनि केही सहयोगी जुट्नेछन् र आस मारेको नतिजा अन्त्यमा सकारात्मक हुनेछ । पेसा–व्यवसायमा लाभ हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला । चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्य–चिन्ताले सताउन सक्छ । अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । नयाँ काम थाल्न शुभचिन्तकहरूले मात्र साथ दिनेछन् ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आवेशमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुपर्ला । ईर्ष्या गर्नेहरूले नै काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । मिहिनेत गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुनेछ । रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला । स्वयं नजुट्दा काम बिग्रनेछ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार ०७:३३

लोकप्रिय