सूचनाको शक्ति - The Power Of Information

        

विकास निर्माण

वडाको विकास, ‘समृद्धिको सूत्र’

धेरै गाउँटोलले घेरिएको वडा भएकाले विकास निर्माणमा एकदमै पछाडि परेको नरैनापुर गाउँपालिका वडा नं.६ मा अहिले विकासे योजनाका कामहरु तीव्ररुपमा अघि बढेका छन् ।

धन सम्पत्ति प्रशस्त हुनुमात्रै कुनै व्यक्ति वा परिवार समृद्ध हुनु होइन । सामाजिक प्रतिष्ठा तथा जीवनयापन गर्ने सुख सुविधा तथा सहजता समृद्धिको ठूलो मापक एवं सूचक हुन् । समाजमा पाइने सुविधा तथा सहजताभित्र धेरै कुरा अटेका हुन्छन् । स्वास्थ्य, शिक्षा, रोजगारी, हिँडडुल गर्न तथा बोल्न पाउने स्वतन्त्रता तथा सुविधाजस्ता मापक सूचकहरु राम्रा नभइकन व्यक्ति, परिवार तथा राष्ट्र समृद्ध वा सम्पन्न हुँदैनन् ।

आर्थिकरुपमा सम्पन्न हुनुु सम्पन्नताको एउटा प्रमुख सूचक त हो, तर यो मात्र होइन । आर्थिक अवस्थाको साथै अरु के–के समृद्धिका सूचक हुन सक्छन् भनेर स्थानीय स्तरबाटै त्यसको खोजविन गरी योजना तथा आयोजना सञ्चालन गर्नुपर्छ । समाजभित्रको आय, खर्च र सम्पत्तिको वितरणलाई सहीरुपमा बुझेर जनताको जीवनको गुणस्तर नाप्दा उनीहरुको राजनीतिमा सहभागिता रहनेले पनि भूमिका खेल्नुपर्छ ।

वडाको समृद्धि आकाशबाट बर्सिने होइन, व्यक्ति, परिवार अनि समाज विस्तारै सम्पन्न हुँदै जाँदा समृद्धि हुनेमा नरैनापुर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष प्रेमचन्द्र मौर्यको बुझाई छ । ‘सबैभन्दा सानो स्थानीय प्रशासनिक तह वडा नै भएकाले सबैभन्दा पहिले वडाबाटै समृद्धि आवश्यक छ,’ वडाध्यक्ष मौर्य भन्छन्, ‘वडा सबैभन्दा सानो स्थानीय प्रशासनीक ईकाई भएकाले यसको व्यवस्थापन गर्न त्यति गाह्रो हुँदैन । त्यसैले गाउँपालिकाको समृद्धिका लागि वडाको विकास महत्वपूर्ण छ ।’

वडाको विकास र समृद्धिका लागि नरैनापुर वडा नं. ६ ले पनि विभिन्न आयोजनाहरु सञ्चालनमा छन् । तीमध्ये कतिपय योजनाहरु सम्पन्न भइसकेका छन् भने कतिपय सम्पन्न हुने चरणमा रहेका छन् । योजना सञ्चालन तथा कार्यान्वयन गर्दा निर्वाहमुखी मात्रै नभई निर्यातमुखी स्तरको गर्दा आर्थिक उपार्जन हुने खालका योजना सञ्चालनमा ध्यान दिएको वडाध्यक्ष मौर्यको भनाई छ । उनका अनुसार पूर्वाधार विकासका कार्यक्रमहरु धेरै भएका छन् । वडाभित्र पिसिसि ढलान, ईट्टा सोलिङ, माटो ग्राभेल पटान लगायतका विकास भएका छन् ।

विकास निर्माण सम्बन्धी भएका कार्यहरु

१. सोनबर्षा गाउँभित्रको ३०० मिटर सडकमा इँट्टा सोइलिङ्ग ।
२. कोदरबेटवा गाउँभित्रको २५० मिटर सडकमा इँट्टा सोइलिङ्ग ।
३. दोन्द्रा गाउँभित्रको २५० मिटर सडकमा माटो पटान ।
४. जमुनी गाउँभित्रको सडकको दायाँबायाँ नाली निर्माण तथा गाब्रेल ।
५. कोहला गाउँभित्रको सबै सडकहरु पिसिसि निर्माण ।
६. गंगापुर, नयाँबस्ती र कोदरबेटवा नयाँवस्ती सडकमा माटो पटान तथा गाब्रेल ।
७. पतरकी गाउँको ८०० मिटर सडकमा माटो पटान ।
८. चौबिस विघाको ४५० मिटर सडकमा माटो पटान ।
९. भोजपुर नयाँवस्तीमा सडकमा माटो पटान ।
१०. कोहलामा चौतारी निर्माण ।
११. जगैनाथ मन्दीर निर्माण ।
१२. दुर्गा काली मन्दीर निर्माण ।
१३. कोहला खेल मैदान निर्माण ।
१४. वडाभित्र ३५ वटा स्मार्ट बाख्रापालन खोर निर्माण ।
१५. जयकिसान माविको कृषि प्राविभिक भवन निर्माण ।
१६. दुई तले आपतकालिन सेल्टर भवन निर्माण ।
१७. वडाभित्रका विभिन्न चोकका विद्युत पोलमा उज्यालोका ३०० वटा बत्ती जडान ।
१८. छाडा गाई पशु नियन्त्रणको लागि गौशाला निर्माण ।
१९. ६ नम्बर वडा कार्यालय परिसरमा गार्डेन तथा सवारी पार्किङ्ग निर्माण ।
२०. बाढीपीडितका लागि राहत तथा उद्दारका कार्यक्रमहरु सञ्चालन ।
२१. गरिब तथा असहायकहरुका लागि सुरक्षित आवास निर्माण ।
२२. आधुनिक कृषि तथा मौसमी र बेमौसमी तरकारी खेती गर्न दुई दिने तालिम तथा तरकारी खेतीका लागि बीउबीजन, विषादी र तरकारीका बेर्ना सिँचाइ गर्न हजारी वितरण ।
२३. व्यवसायीक पशुपालन गर्न दुई दिने पशु विकास तालिम तथा पशु औषधि वितरण ।
२४. वडाभित्रका ३० जना किशोरकिशोरीलाई कम्प्युटर तालिम प्रदान ।
२५. सन्तानेश्वर महादेव मन्दिर दर्शन गर्न जाने भक्तजनहरुलाई सहजताका लागि पहाडमा गोरेटो बाटो निर्माण तथा मर्मत ।
२६. जमुनी स्कुलभित्र वृक्षारोपण कार्यक्रम ।
२७. स–साना बालबालिकाको सिकाई र पढाईका लागि चौबिस विघामा गुरुकुल पाठशालाको स्थापना ।
२८. २०७९ असोज १८ देखि २१ गतेसम्म परेको अविरल बर्षाका कारण आएको बाढीबाट प्रभावितहरुको तथ्यांक संकलन गरी बाढीपीडितलाई रु.१५ हजारका दरले राहत स्वरुप नगद वितरण ।

धेरै गाउँटोलले घेरिएको वडा भएकाले विकास निर्माणमा एकदमै पछाडि परेको नरैनापुर गाउँपालिका वडा नं.६ मा अहिले विकासे योजनाका कामहरु तीव्ररुपमा अघि बढेका छन् । यहाँ दुई दर्जनभन्दा बढी विकास निर्माण सम्बन्धी कामहरु भएका छन् । यस वडामा कृषकहरु धेरै भएकोले उनीहरुलाई जोड्न विभिन्न कामहरु भएका छन् । सामाजिक विकासतर्फ धेरै कामहरु भएका छन् । बालबिवाह, लैङ्गिक हिंसा जस्तै थुप्रै सामाजिक समस्याहरुलाई न्यूनीकरण गर्दै वडाका जनप्रतिनिधि र कर्मचारी अघि बढेका वडाध्यक्ष मौर्यले बताए ।

नरैनापुर गाउँपालिका ६ नम्बर वडा समिति र जनताका माझबाट आएका योजनाहरुमार्फत विकास निर्माणका काम गरिरहेको छ । पूर्वाधार विकास, सामाजिक विकासका धेरै कामहरु उपभोक्ता समितिमार्फत भएका छन् । पहिले वडाभित्रका भौतिक पूर्वाधारहरुको अवस्थामा दयनीय थियो, अहिले रुप फेरिएको छ । भौतिक पूर्वाधारसँगै शिक्षा र स्वास्थ्यलाई प्रथामिकतामा राखेर कामहरु भइरहेका छन् । वडामा रहेका दुई वटा सामुदायिक विद्यालयको पूर्वाधार विकास र गुणस्तर सुधारमा लागिपरेको वडाध्यक्ष मौर्यको भनाई छ ।

गाउँमा सञ्चालन भइरहेका विकासे योजनामा जनप्रतिनिध र कर्मचारीहरु सक्रिय रुपमा लागेका छन् । गाउँमा विकासे कामको अनुगमनका साथै योजनाका काममा सक्रिय रुपमा लागिपरेको नरैनापुर गाउँपालिका वडा नं. ६ का वडा सचिव हरि बुढाले बताए । उनले वडामा बजेट कार्यान्वयनमा चासो लिएर गाउँको विकासका लागि जनप्रतिनिधिहरु सक्रिय भएको लाग्ने गरेको वडा सचिव बुढाले बताए । वडाध्यक्ष मौर्यले आफ्नै निगरानीमा विकास निर्माण काम भइरहँदा दिगो र दरिलो रुपमा सम्पन्न भएको दावी गरे ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार १०:०१

लोकप्रिय