बाँकेको चुरे गाउँपालिका–६ मा रहेको ऐतिहासिक राणाकालीन ‘दरोगा महल’ संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । निर्माण भएको बर्ष एकीन नभए पनि अनुमानित १५० बर्ष पुरानो ‘दरोगा महल’को ऐतिहासिक संरचना संरक्षण अभावमा खण्डहरमा परिणत हुँदै गएका छन् । ‘दरोगा महल’मा हलसहित आठ वटा कोठा रहेका छन् ।
महल जीर्ण बन्दै गइरहेको ‘दरोगा महल’को संरक्षण नहुँदा भवनका पर्खालहरुमा बोटबिरुवा उम्रिनुका साथै चर्किएका छन् भने पानी चुहिएर पर्खाल भत्किने अवस्थामा पुगेको छ । महल संरक्षण गर्न सके पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना हुँदाहुँदै पनि त्यसको संरक्षणमा ध्यान जान नसक्दा ‘दरोगा महल’ खण्डहर बन्दै गएको छ ।
महल संरक्षणका लागि स्थानीय बासिन्दाले पटक–पटक आग्रह गर्दै आए पनि ‘दरोगा महल’ नीजि भएका कारण संरक्षण हुन नसकेको नरैनापुर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष प्रेमचन्द्र मौर्यले बताए । उनले भने, ‘दाई–भाईको बेमेलका कारण महल दिनप्रतिदिन भत्किने क्रममा छ । कतिपय भाग भत्किएर महलको शोभा बिग्रँदै गएको छ ।’
महल झन्झन् जीर्ण बन्दै गएको छ । महलका भित्तामा चिरा पर्न थालिसकेको छ भने छाना समेत चुहिने अवस्थामा छ । महलको माथिल्लो तला जाने खुड्किला उप्केका छन् । झ्याल ढोका कुहिने अवस्थामा पुगेका छन् । भित्रको तलाहरुमा प्वालसमेत परिसकेका छन् । संरक्षण र सम्बद्र्धनको अभावमा दिनानुदिन जीर्ण बन्दै गएको ‘दरोगा महल’ संरक्षणको पर्खाइमा छ ।
कलाकृति जडित भित्ताहरु भत्किन सुरू भएको उनले बताए । वडाध्यक्ष मौर्यले भने, ‘सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्व र पर्यटकीय सम्भावना बोकेको क्षेत्र खण्डहरमा परिणत हुँदै गएको छ । वर्षौंदेखि महल प्रयोगविहीन बनेपछि भत्किँदै गएको छ ।’ १० कठ्ठा क्षेत्रफलमा फैलिएको यो महल पुरानो शैलीको दुई तले छ ।
राणाकालिन समयमा गाउँघरका बिवाद समाधान गर्नका लागि स्थानीय छेदीराम मुराउलाई राणाहरुले दरोगा पदवी दिएको बताइन्छ । उक्त महलमा रहेको कचहरी कक्ष (सभाहल) समेत भत्किएका निसाना मात्रै बाँकी रहेको छ । ‘दरोगा महल’मा चहलपहल झण्डै २०६८–०६९ सालसम्म मात्रै रह्यो । छेदीराम मुराउको निधनपछि पाँच पुस्ता मात्रै महलमा त्यहाँ बस्यो ।
छैटौं पुस्ताका राजेन्द्रकुमार मौर्यका दाजुभाईको आधा–आधा भागबण्डामा परेपछि ‘दरोगा महल’ जीर्ण र खण्डहरमा परिणत हुँदै गयो । ‘दाजुले असहयोग गरेपछि ‘दरोगा महल’ मर्मत सम्भार गर्नै समस्या भएको छ । उहाँ (दाजु)ले न भत्काउन दिनुहुन्छ, न त मर्मत सम्भारका लागि तयार हुनुहुन्छ । कसै गरे पनि कुरा नमिलेपछि संरक्षणमै समस्या भएको छ,’ राजेन्द्रले भने ।
सुरक्षाका दृष्टिकोणले महलको चारैतिर अग्लो पर्खाल लगाइएको छ । त्यो अहिले भत्किँदै गएको छ । सयौं बर्ष पुरानो राणाकालीन महल संरक्षण गर्न सके पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ । ‘महल संरक्षण गर्न सकिन्थ्यो, तर व्यक्तिगत भएका कारण बजेट विनियोजन गर्न सकिँदैन । सरकारलाई स्वामित्व हस्तान्तरण गर्न सके मात्रै संरक्षणका लागि पहल गर्न सकिने सम्भावना रहन्छ,’ वडाध्यक्ष मौर्यले भने ।
महलसम्म पुग्ने सडकलाई स्तरोन्नती गरी महलको संरक्षण, जिर्णाेद्धार र पर्यटकीय स्थलको रुपमा विकास गर्न सके पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाई छ । जिल्ला सदरमुकाम नेपालगन्जबाट करिब ३५ किलोमिटर पूर्व नरैनापुर गाउँपालिका–६ मा रहेको महल संरक्षण तथा प्रवद्र्धनमा ध्यान दिए पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको स्थानीयहरु बताउँछन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके