विगत दुई वर्षमा मात्रै सहकारी संस्थाहरूको बचत अपचलनमा संलग्न भएको आरोप लागेका १,२०० जना फरार रहेको पाइएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले सहकारी ठगीमा संलग्न भएको आरोपमा दुई वर्षमा मात्रै ३४६ जनालाई पक्राउ गरिएको जानकारी दिए ।
नेपालमा सहकारी संस्थाहरूमा ठगीबारे अनुसन्धान सुरु हुनुअघि नै भागेर विभिन्न देशमा पुगेका केही सहकारी सञ्चालकहरूलाई विदेशबाट समेत नेपाल ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विगत दुई वर्षमा सहकारी ठगीसँग सम्बन्धित १८४ वटा मुद्दा विभिन्न अदालतमा दर्ता भएका छन् । विगत दुई वर्षमा सहकारी संस्थाका बचतकर्ताहरूले आफ्नो ७० अर्ब रुपैयाँबराबरको रकम फिर्ता नपाएको उजुरी प्रहरीमा गरेका छन् ।
त्यस्ता पीडितहरूले भने बचत फिर्ताका लागि आफूहरूले सङ्घर्ष गरिरहेको तर आफ्नो बचत फिर्ता नभएको गुनासो गर्दै आएका छन् । उता सहकारी संस्थाहरूमा सर्वसाधारणको बचत हिनामिनाबारे अनुसन्धान गर्न गठित संसदीय समितिले केही दिनभित्रै आफ्नो काम सुरु गर्न तयारी गरिरहेको छ । समितिका संयोजक सूर्य थापाले केही दिनभित्र समितिको बैठक राख्ने र अनुसन्धान प्रक्रियाबारे छलफल हुने बताए ।
सहकारी संस्थाहरूमा हिनामिनाको आरोप लागेर विगत दुई वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका मानिसहरूको सङ्ख्या १,२०७ जना पुगेको नेपाल प्रहरीका प्रवक्ताले बताएका छन् । प्रहरीको तथ्याङ्क अनुसार गत साउनदेखि वैशाखसम्म ६९५ जना र गत आर्थिक वर्ष ५१२ जना फरार भएका छन् । गत वर्ष १९३ जनालाई पक्राउ गरेको प्रहरीले यो आर्थिक वर्षको वैशाखसम्म १५३ जनालाई पक्राउ गरिएको जनाएको छ ।
तर प्रहरीको तथ्याङ्कअनुसार यस अवधिमा फरार मानिसहरूमध्ये २० प्रतिशत मात्रै पक्राउ परेका छन् । ‘पक्राउको तुलनामा फरार हुनेहरूको सङ्ख्या ठूलै छ,’ प्रहरी प्रवक्ता कार्की भन्छन्, ‘सबै जिल्ला (प्रहरी कार्यालय)ले आआफ्नो जिल्लामा रहेका फरारहरूको खोजी गर्नका लागि एउटा टीम नै परिचालन गरेको हुन्छ । तर आफ्नो जिल्लाभन्दा बाहिर र मुलुकभन्दा पनि बाहिर फरार हुने अवस्था छ ।’ फरार व्यक्तिहरूलाई देशैभरि र देशबाहिरको पनि प्रहरी सञ्जालको सहयोगमा खोजी र पक्राउ गरिने प्रहरी प्रवक्ता बताउँछन् ।
साथै प्रहरीले त्यस्ता व्यक्तिहरूले प्रयोग गर्ने मोबाइल र सीसीटीभी फुटेजको सहयोगमा पनि खोजी गर्ने गरेको अधिकारीहरू बताउँछन् । केही समयदेखिको आर्थिक मन्दीका कारण सहकारी संस्थाहरूमा मात्रै नभएर ब्याङ्किङ कसुरका घटना र फरार व्यक्तिहरूको सङ्ख्या बढ्दै गएको प्रहरीको भनाइ छ । ‘आर्थिक असहजताको कारण सहकारी मात्रै नभई ब्याङ्किङ कसुर र ठगी लगायतका घटामा फरारहरूको सङ्ख्या पनि बढेको छ । मुद्दा सङ्ख्या बढेसँगै फरार मानिसहरूको सङ्ख्या पनि बढ्ने हो,’ कार्की भन्छन् ।
प्रहरीले सहकारी ठगीसँग सम्बन्धित मुद्दामा मात्रै छ जनाविरुद्ध रेडकर्नर नोटिस जारी गरेको छ । नेपालले प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलमार्फत् १९६ देशमा खोजी गर्नका लागि रेड कर्नर सूचीमा राखेका ६५ जनामध्ये सहकारीको ठगीमा संलग्न छ जना छन् । इन्टरपोलले आफ्नो विश्वभरिको संयन्त्रमार्फत् ’रेड नोटिस’ मा रहेका मानिसहरूको खोजीमा समन्वय गर्छ । ‘रेड नोटिस जारी भइसकेपछि सबै सदस्य राष्ट्रहरूले शङ्कास्पद व्यक्तिको निगरानी गरिरहेका हुन्छन् र गतिविधि भएमा पक्राउ गर्ने अवस्था हुन्छ,’ कार्की भन्छन् ।
पक्राउ भएपछि पनि अदालती र कूटनीतिक प्रक्रिया पूरा गरेर नेपाल ल्याउन लामो समय लाग्ने अधिकारीहरू बताउँछन् । नेपालमा अपराध गरेर अर्को देशमा लुकेका कुनै व्यक्तिले उक्त देशको नागरिकता वा आवासीय अनुमति प्राप्त गरेको अवस्थामा भने ल्याउन चुनौती हुने बताइन्छ । ‘दक्षिण एशिया र दक्षिण पूर्वी एशियासहित कैयौँ मुलुकबाट हामीले सहकारी ठगीमा संलग्न भएको उजुरी परेका मानिसहरूलाई नेपालमा ल्याएका छौँ,’ कार्की भन्छन् ।
कैयौँ सहकारी संस्थाहरूबाट बचतकर्ताहरूको रकम अपचलन गरेको आरोप लागेका गीतेन्द्रबाबु राई (जीबी राई)लाई यस्तो नोटिस जारी गर्दा समेत नेपाल ल्याउन नसकिएपछि कूटनीतिक पहल पनि भइरहेको प्रहरीले जनाएको छ । ‘उनलाई ल्याउन इन्टरपोलमार्फत् र कूटनीतिक दुवै प्रयास भएको छ । अहिलेसम्म प्राप्त सूचनाअनुसार जुन देशमा उनी बस्न खोजिरहेका छन्, त्यो देशबाट ल्याउन अलि गहन कानुनी प्रक्रिया पुर्याउनुपर्ने भएकोले अलि समय लागेको हो,’ मलेशियामा रहेको ठानिएका राईबारे कार्कीले भने ।
दुईवटा सहकारी संस्थाबाट बचतकर्ताहरूको अर्बौँ हिनामिना गरेको आरोप लागेका चन्द्रबहादुर लामा (सीबी लामा)लाई प्रहरीले हालै पक्राउ गरेर सार्वजनिक गरेको थियो । प्रहरीका अनुसार जीबी राईसहित भूपेन्द्र राई र थानबहादुर बुढालाई कास्की प्रहरीमार्फत्, भरत महर्जनलाई केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत् र छेला नेपाली तथा देवकुमार नेपालीलाई बागलुङ प्रहरीमार्फत् रेड कर्नर नोटिस जारी भएको हो । नेपाली बागलुङको ढोरपाटन गाउँपालिकाका अध्यक्षसमेत हुन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं