आन्तरिक तथा बाह्य हवाई यात्रा गर्ने यात्रुको संख्या बढ्दो छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांक अनुसार सन् २०२४ को जनवरी र फेब्रुअरीमा मात्रै आन्तरिक हवाई यात्रुको संख्या झन्डै १२ प्रतिशतले बढिसकेको छ । यात्रुको यो वृद्धिदर अझै बढ्ने निश्चित छ ।
हवाई यात्रुको संख्या बढेसँगै एयरलान्स कम्पनीहरूबीच जहाज थप्ने प्रतिस्पर्धा नै चलेको छ । यो प्रतिस्पर्धा अब टिकटको मूल्यमा समेत पर्ने छ । यस्तोमा जहाज थपिरहेका कतिपय कम्पनी भने पहिलेदेखि नै आर्थिक संकटमा पनि छन् । आर्थिक संकटकै कारण गुण एयरलाइन्स त बन्द नै भएको छ ।
गुण एयरलाइन्सले विमानस्थललाई तिर्नुपर्ने बक्यौता रकमसमेत तिर्न सकेको छैन । गुणको ७ वटा जहाज ग्राउन्डेड छ । बुद्ध, यती र श्री एयरलाइन्सले भने प्रतिस्पर्धात्मक बढ्दो बजारमा जहाज थपिरहेका छन् । पछिल्लो समय एयरलाइन्स कम्पनीहरूको व्यापारसमेत बढेको देखिएको छ । केही दिनअघिमात्रै रेटिङमार्फत सार्वजनिक भएको बुद्ध एयरको तथ्यांक हेर्दा गत आर्थिक वर्षमा मात्रै १२ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको देखिएको छ ।
पछिल्लो समय हवाई यात्रुको संख्या बढ्नुमा देशभर कमजोर रहेको राजमार्गको अवस्थालाई समेत कारकका रुपमा तुलना गरेर हेर्ने गरिएको छ । अहिले अधिकांश राजमार्गमा विस्तारको काम भइरहेको छ । जसका कारण सडक यात्रा कष्टकर भएको छ । त्यसले गर्दा पनि हवाई सुविधा भएको स्थानमा यात्रुले आकाश मार्ग नै रोजिरहेका छन् । सन् २०२४ को गएको दुई महिनामै २०२३ को सोही अवधिको तुलनामा १२ प्रतिशतले आन्तरिक हवाई यात्रु बढेका छन् ।
२०८० को कात्तिकयता पाँच महिनाकै अविधमा तीनवटा एयरलाइन्स कम्पनीले ५ वटा जहाज थपिसकेका छन् । २०८० को कात्तिक १० गते शुक्रबार बुद्ध एयरले १७ नम्बरको एटीआर काठमाडौं अवतरण गराएको थियो । बुद्धले थपेको जहाजको कलसाइन नाइन एन–एओसी हो । योसँगै बुद्धले १४ वटा एटीआर ७२ जहाज बनाएको छ । साथै बुद्धसँग थप तीन वटा एटीआर ४२ जहाज रहेका छन् ।
बुद्ध एयर आन्तरिक उडानमा यात्रु संख्या तथा तत्कालीन समयमा वायुयान धेरै भएको नम्बर एक कम्पनी भएको थियो । बुद्ध एयरको बजार हिस्सा ६० प्रतिशतभन्दा माथि गइसकेको छ । आन्तरिक उडानमा ट्रंक रुटमा मात्रै उडान गरिरहेको बुद्धले दैनिक सरदर ८ हजारभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ । बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढी उडान भरिरहेको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी उडान भरिरहेको छ ।
यस्तैगरी सञ्चालनमा आएको २५ वर्षपछि ४९ प्रतिशत सेयर स्वामित्वसहित एसियन लाइन इन्सोरेन्सको प्रवेशसँगै यती एयरले पनि दुईवटा जहाज भित्र्याएको छ । यतीले २०८० को माघ १८ गते दुईवटा एटीआर ७२ जहाज भित्र्याएको हो । सबै प्रक्रिया पूरा गरेर जहाज उडानमा ल्यायने तयारी भइरहेको छ । २०७९ को माघ १ गते पोखरामा जहाज दुर्घटना भएसँगै यती एयर केही असहज परिस्थितिबाट गुज्रिरहेको थियो ।
यती ग्रुपका अध्यक्ष सोनाम शेर्पाले लगानीकर्ताको रुपमा एसियन लाइफ इन्सोरेन्सलाई भित्र्याउँदै दुईवटा जहाज थपेका हुन् । योसँगै यतिसँग ७ वटा एटीआर ७२ जहाज भएको छ । सन् २०२४ भित्रै थप तीनवटा जहाज ल्याइ १० वटा पु¥याउने लक्ष्य रहेको र यसले गुमेको बजार हिस्सा कायम गर्दै यात्रुहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न मद्दत पुग्ने यतीको दाबी छ । यतीले जहाज भित्र्याएको एक महिना नपुग्दै श्री एयरलाइन्सले पनि दुईवटा जहाज थपेको छ ।
श्रीले ८० सिट क्षमताका दुईवटा ‘बम्बार्डियर ड्यास–८–क्यू–४००’ २ वटा जहाज थपेको हो । दुईवटा जहाज थप्दै आन्तरिक हवाई सेवा प्रदायक कम्पनीहरूमध्ये सबैभन्दा बढी वायुयान भएको कम्पनी श्री बनेको छ । तर यात्रु संख्याको आधारमा श्री तेस्रो कम्पनी हो । श्रीसँग ४ वटा सिआरजे जहाज भएपनि एउटामात्रै फूलपेजमा उडानमा छ । ३ वटा ग्राउन्डेड नै छ ।
यसैगरी श्रीसँग ८० सिट क्षमताका ६ वटा ‘बम्बार्डियर ड्यास–८–क्यू–४००’ जहाज रहेका छन् भने हेलिकोप्टर ८ वटा रहेका छन् । श्रीसँग कुलमा १८ वटा वायुयान रहेको छ । यसैगरी आन्तरिक उडानमै रहेको सौर्यसँग ३ वटा जेट इन्जिन जहाज छ । तर उडानमा २ वटा मात्रै छ । सौर्य एयरलाइन्सले पनि जहाज थप्ने योजना बनाइरहेको छ । यसैगरी ७ वटा जहाज भएको गुण एयरलाइन्स भने आर्थिक संकटमा परेपछि ग्राउन्डेड छ ।
यसैगरी स्टलमा उडान गर्ने सितासँग ४, समिटसँग ४ र तारासँग २ वटा जहाज रहेका छन् । नेपाल एयरलाइन्ससँग ३ वटा ट्विनअटर जहाज छ । तर २ वटा मात्रै उडानमा छ । एउटा ट्विनअटर २०६९ सालदेखि ग्राउन्डेड छ । भएका पाँच वटा चिनियाँ जहाज पनि बिक्री हुन सकेको छैन । चिनियाँ जहाज २०७७ साउनदेखि उडान भएको छैन ।
नेपालमा १२ वटा हेलिकप्टर कम्पनीले सेवा दिइरहेका छन् । दुईवटा हेलिकप्टर नै दुर्घटना परेपछि कम्पनीको उडान बन्द भएको मनाङ एयरले समेत एउटा हेलिकोप्टर भित्र्याइसकेको छ । एयर डाइनेष्ट्रिकसँग ४ वटा हेलिकप्टर रहेको छ । यसैगरी पछिल्लो समय आक्रमक बजार विस्तार गरिरहेको कैलाश हेलिकप्टरसँग ३ वटा हेलिकप्टर रहेको छ ।
हेलिकप्टर सेवामा लामो समयदेखि काम सेवा दिँदै आएको सिम्रिक एयरसँग तीनवटा र हेलिएभरेष्टसँग पनि तीनवटा हेलिकप्टर रहेको छ । यसैगरी फिस्टेलको दुईवटा, माउन्टेनको दुईवटा, मुस्ताङको दुईवटा, प्रभु हेलिकप्टरको दुईवटा, अन्नपूर्णको एउटा, अल्टिच्युटको दुई र श्रीको दुईवटा हेलिकप्टर उडानका रहेका छन् । हेलिकप्टर क्षेत्रमा मात्रै १२ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ ।
सेवा विस्तार र जहाज संख्या बढ्दै जाँदा हवाई यात्रुले पनि सहज र सस्तो दरमा यात्रा गर्न पाएका छन् । हवाई क्षेत्रमा लगानी विस्तार भए पनि हवाई क्षेत्रको विकासमा आवश्यक मात्रामा पूर्वाधारको विकासले प्राथमिकता पाउन सकेको छैन । नेपालको हवाई इतिहासमा पहिलो पटक सन् १९४९ मा चार सिट क्षमताको बोनान्जा बीचक्राफ्ट ल्यान्ड भएको थियो । बोनान्जा बिचक्राफ्ट ल्यान्डले नै नेपालको हवाई क्षेत्रको ढाका खोलेको थियो ।
योसँगै सन् १९५० मा हिमालय एभिएसन डाकोटा चार्टर फ्लाइटले झन नेपालको हवाई क्षेत्रलाई मजबुत बनाउन सहयोग भएको थियो । त्यसलगत्तै राजा मेहन्द्रले गौचरन विमानस्थल (हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) उद्घाटन गरेलगतै सन् १९५८ मा तत्कालीन शाही नेपाल वायुसेवा निगमले आन्तरिक र बाह्य उडान सुरु गरेको हो । सन् १९६४ मा त्रिभुवन विमानस्थलले अन्तर्राष्ट्रिय विमानस्थलको मान्यता पाएसँगै नेपालको हवाई उद्योगमा अवसर थपिएको थियो ।
यही क्रममा अहिले हामी सन् २०२४ मार्चसम्ममा आइपुग्दा १२ वटा हेलिकप्टर कम्पनी, ९ वटा जहाज कम्पनी र ३० वटा जति अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले नेपालबाट ३३ वटा गन्तव्यमा उडान गरिरहेका छन् । अहिले नेपालमा ५४ वटा विमानस्थल छन् । ३ वटा चाहिँ अन्तर्राष्ट्रिय विमानस्थल छन् । ५१ वटा आन्तरिक विमानस्थल छन् । ५१ वटामा ३० वटा चलेका विमानस्थल छन् । २१ वटा बन्द छन् ।
नेपालको हवाई इतिहासका अग्नि, काष्ठमण्डप, कस्मिक लगायत एयरलाइन्स भने बन्द हुन पुगे । पछिल्लो सयमा गुण एयरलाइन्स बन्द भएको छ । सञ्चालनमा आएका हवाई कम्पनी बन्द हुँदा नेपालको हवाई उद्योगमा केही नकारात्मक सन्देश फैलिएको थियो । हवाई इतिहासमा नेपाली आकाशले १०० वटा जहाज दुर्घटना भोगिसकेको अवस्था छ । पछिल्लो समय पोखरामा यतीको जहाज दुर्घटनामा मात्रै ७२ जनाले ज्यान गुमाएका थिए ।
त्यसपछि मनाङको हेलिकप्टर दुर्घटनामा समेत मानवीय क्षती भएको थियो । सिंगल इन्जिन क्षमताको जहाजबाट सुरु भएको नेपालको हवाई यातायातको क्षेत्रमा अहिले अत्याधुनिक र सुविधासम्पन्न जहाजसमेत आइसकेका छन् । आन्तरिक उडानमा मात्रै अहिले सीआरजे जहाजदेखि एटीआर जहाज आइसकेका छन् । जहाजको संख्या बढेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विस्तारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ ।
अबको ५ वर्षभित्र देशभरका आन्तरिक विमानस्थलमा सुविधासम्पन्न टर्मिनल भवन हुनेछ । तराइका सबै विमानस्थलमाबाट रात्रीकालीन उडान भइसकेको हुने छ । पहाडी विमानस्थलको रनवे पनि एक हजार मिटरको बनाउने गरी प्राधिकरणले काम गरिरहेको छ । हवाई उद्योगमा मात्रै सरकारी र निजी क्षेत्रको गरी साढे दुई खर्ब रुपैयाँभन्दा बढी लगानी विस्तार भइसकेको छ ।
आन्तरिक उडानमा ६२ प्रतिशत बजार हिस्सा ओगट्न सफल बुद्ध एयरको व्यापार निरन्तर रुपमा बढिरहेको छ । बुद्ध एयरले २०७९–०८० मा मात्रै १२ अर्ब १६ करोड रूपैयाँ आम्दानी गरेको इक्राले गरेको रेटिङ विवरणमा उल्लेख छ । बुद्ध एयरले पछिल्लो चार आर्थिक वर्षमा ३० अर्ब ५० करोड रूपैयाँ आम्दानी गरेको छ ।
जसमा बुद्ध एयरले आर्थिक वर्ष २०७६–०७७ मा ४ अर्ब ९४ करोड, ०७७–०७८ मा ३ अर्ब ३३ करोड, ०७८–०७९ मा १० अर्ब ९ करोड र २०७९–०८०मा १२ अर्ब १६ करोड आम्दानी गरेको छ । बुद्ध एयरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मात्रै ३ अर्ब ८३ करोड आम्दानी गरेको छ । निरन्तर बढिरहेको बुद्ध एयरको आम्दानी आर्थिक वर्ष २०७७–०७८ मा भने कोरानाका कारण कमी आएको थियो ।
नेपालको आन्तरिक हवाई सेवामा बुद्ध एयरको एकछत्रजस्तै देखिएको छ । यात्रु संख्या तथा लगानीका आधारमा पनि बुद्ध एयरले पछिल्लो लामो समयदेखि बजारमा प्रभावशाली उपस्थिति देखाउँदै आएको छ ।छ । यसैगरी आन्तरिक उडानमा रहेको श्री एयरलाइन्सको पनि व्यापार बढ्दो छ । १८ वठा वायुयान पुर्याएको श्रीले गत आर्थिक वर्ष २०७९–०८० मा ४ अर्ब १४ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यो आम्दानी २०७८–०७९ को तुलनामा बढी हो । २०७८–०७९ मा श्रीले ३ अर्ब ४५ करोड आम्दानी गरेको थियो । यसैगरी २०७७–०७८ मा भने १ अर्ब ३८ करोड आम्दानी गरेको थियो । श्रीको व्यापार बढ्दो छ । यसैगरी यती एयरको व्यापार पनि बढ्दो नै छ । गत आर्थिक वर्ष २०७९–०८० को रिपोर्ट सार्वजनिक नभएपनि यती एयले २०७७–०७८ मा १ अर्ब ३९ करोड आम्दानी गरेको थियो भने २०७८–०७९ को ९ महिनामै २ अर्ब ७४ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं