सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

फर्किंदैन जवानी

लाग्छ अब हिउँमा रङ पोत्नुको के नै अर्थ रह्यो, जुन रङले म भित्र उम्रने भावना नतताएपछि ।

म प्रकृतिको कपासमा
रङ पोतेर जवानी फर्काउने कोसिसमा छु
समय खोला रहेछ
जो ओरालो बगिरहेछ ।
आफ्नै रहरले किनेको घडी
शरीरको अंगनै बनेपनि
काबुमा नरहने रहेछ ।

घडीका ब्यस्त काँटा
एकोहोरो कुदिरहेछन्
थाक्नु तिनीले पर्ने हो
तर थाक्दैछु म ।

रिबनको पुतली थाप्लोमाथि फुलाएर
आयुधीझैँ जीवन
स्कुल र किताब
समयको चक्रव्यूहमा नफसेको होइन ।

एक सुतभित्र जवानी र जिम्मेवारी
अर्को धागोभित्र
सिंगो समाज सभ्यताको पाठ पढाउन
गुरु भएर समय
म माथि हावी नभएको होइन ।

गुरुको ज्ञान
समयको पहिचान
फुल्ने छ समय
समयमै रोप्न जाने
हुने छ जीवन उद्यान ।
यिनै वाक्यांशभित्र
जीवन खोज्न सिकाएर समयले
म माथि हिउँको वर्षा गराइदियो ।

संसार जित्छु भनेर कुदेको म
त्यही शिरको हिउँ
ऐनामा प्रतिविम्म भएर आउँछ
मेरा उचालिएका भावना
त्यही बखत कठाङ्ग्रीएझैँ लाग्छ ।
लाग्छ अब हिउँमा रङ पोत्नुको के नै अर्थ रह्यो
जुन रङले म भित्र उम्रने भावना नतताएपछि ।

म भित्र जन्मने भावना
जवान भएर पोखिए पनि
माथि कैलाशमा
सेताम्मे कपास फुलेको छ
म एक थान ब्रसमा
अंगारझैँ रङमा चोबेर
जवानी फर्काउन खोज्छु
त्यही बखत असन्तुष्ट समय बोल्छ
अरे यार,
पाकेको फलको बजार मूल्य हुन्छ
दुनियाँ ढाँट तिमी
समयले तिमीलाई आफ्नै नजरले चिन्छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतवार १२:०५

लोकप्रिय