सूचनाको शक्ति - The Power Of Information

        

आन्तरिक पर्यटकको रोजाइमा पर्दै ढकेरी

बाँकेको राप्ती सोनारी गाउँपालिकाको ढकेरी क्षेत्र पूर्वाधार विकाससँगै आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । यहाँ रहेका वनस्पति उद्यान र रिम्ना सामुदायिक उद्यान आन्तरिक पर्यटकको आकर्षणका केन्द्र बन्दै गएका छन् ।

वनस्पति उद्यान र रिम्ना सामुदायिक वनको उद्यानमा दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटकको लर्को लाग्ने गरेको स्थानीय अगुवा विश्वराज खनालले बताउनुभयो ।

“शनिबार र अन्य सार्वजनिक बिदाको दिनमा पार्क घुम्ने मान्छेको भिडभाड हुने गर्छ”, उहाँले भन्नुभयो, “वनस्पति उद्यान र रिम्ना सामुदायिक वनमा घुम्न आउने आन्तरिक पर्यटकले ढकेरी बजारमा चहलपहल हुने गरेको छ ।”

वनस्पति उद्यान घुम्न आउने आन्तरिक पर्यटकलाई ढकेरी बजारमा रहेका होटलले स्थानीय स्वाद चखाउने गरेका छन् । खास गरी यहाँ कुखुराको बँदिया भालेलाई साँधेर मौलिक परिकारका रूपमा आन्तरिक पर्यटकलाई खुवाउने गरिएको खनालको भनाइ छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न अहिले ढकेरी बजारमा साधारणदेखि सुविधासम्पन्न होटल व्यवसाय सञ्चालन भएका छन् ।

ढकेरी क्षेत्रमा पाइने कुखुराको मौलिक परिकारको स्वाद लिन कोहलपुर बजार र सदरमुकाम नेपालगञ्जबाट सर्वसाधारण पुग्ने गरेको स्थानीय अर्ग्यानिक घरबास (होमस्टे)का सञ्चालक भरत खड्काले बताउनुभयो । खड्काले ढकेरी क्षेत्रमै एकदशकदेखि होमस्टे सञ्चालन गरेर यहाँको मौलिक स्वादलाई प्रवर्द्धन गर्दै आउनुभएको छ । “यहाँको विशेषता भनेकै कुखुराका मौलिक परिकारको स्वाद हो । पाहुनाको अनुरोधमा कुखुराको बँदिया भाले समेत उपलब्ध गराउने गरेका छौँ,” उहाँले भन्नुभयो ।

ढकेरी बजारमै वनस्पति उद्यान रहेको छ । वि.सं २०५६ मा स्थापना भएको यस उद्यानमा चार सय ५० बढी सङ्ख्याका वनस्पति प्रजातिको संरक्षण भइरहेको छ । विद्यार्थी तथा सर्वसाधारणले ढकेरी क्षेत्रमा सधैँ चहलपहल हुने गरेको छ ।

सदरमुकाम नेपालगञ्जबाट करिब २५ किलोमिटर पूर्वतर्फ पूर्व-पश्चिम राजमार्गमा रहेको ढकेरी क्षेत्रमा अहिले पूर्वाधार विकासको काम पनि भइरहेको छ । ढकेरी क्षेत्रको करिब एक किलोमिटर सडक दुवैतर्फ विस्तार गरी फराकिलो बनाइएको राप्ती सोनारी गाउँपालिका-९ का वडाध्यक्ष सोहनलाल थारुले बताउनुभयो ।

उहाँका अनुसार, ढकेरी क्षेत्रमा सडक विस्तारसँगै नाली निर्माण, विद्युत विस्तारलगायत पूर्वाधार विकासका काम भइरहेका छन् । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि रिम्ना उद्यानलाई थप व्यवस्थित गरिने भएको छ ।

स्रोत : रासस
प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार १५:१८