सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेत विमानस्थल विस्तारका लागि ६ बुँदे निर्णय

सुर्खेत विमानस्थल विस्तारका लागि ६ बुँदे निर्णय भएको छ ।

वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा हिजो भएको सर्वपक्षीय छलफलमा विमानस्थलको धावनमार्ग र अन्य पूर्वाधार निर्माणका लागि ६ बुँदे निर्णय गरिएको हो ।

बैठकले अहिले सञ्चालन भइरहेको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन अत्यावश्यक भौतिक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारमार्फत सङ्घीय सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

विमानस्थल विस्तार गर्दा अधिग्रहण गरिने जग्गा र भौतिक संरचनाको चलनचल्तीको मूल्यमा प्रभावितलाई मुआब्जा उपलब्ध गराउने गरी नीति बनाउन प्रदेश सरकारमार्फत सङ्घीय सरकारसँग पहल गर्ने र यससँग सिमाना जोडिएको अमरज्योति नमुना माध्यमिक विद्यालयलाई उपयुक्त ठाउँमा तत्काल स्थानान्तरण गर्न योजना र कार्यक्रमसहित प्रदेश सरकारसँग सम्झौता गर्ने निर्णय भएको छ ।

बैठकले कर्णाली प्रदेशका सबै जिल्लामा सुर्खेत विमानस्थलबाट नियमित हवाई सेवा सञ्चालन गर्न सरकारसँग माग गर्नुका साथै प्रदेश सरकारको ध्यानाकर्षण गराउने र यात्रु विश्रामदेखि अन्य भौतिक संरचनाको व्यवस्था नभएका विमानस्थलमा तत्काल टर्मिनल भवन, यात्रु बस्ने ठाउँ, व्यवस्थित शौचालयलगायतका भौतिक संरचना निर्माण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग माग गर्ने भएको छ ।

सर्वदलीय एवम् सर्वपक्षीय बैठकबाट गरिएका निर्णयलाई वीरेन्द्रनगर नगरपालिकाको कार्यपालिकाको बैठकमार्फत् कार्यान्वयनका लागि अगाडि बढाउन सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरिएको मेयर मोहनमाया ढकालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २५ पुष २०८०, बुधबार ०८:०५

लोकप्रिय