सूचनाको शक्ति - The Power Of Information

        

विशेष रिपोर्ट

व्यवस्थापनसँगै धर्म बचाउ अभियानमा साथ माग्दै गौशाला

‘बाटोमा हिँड्दा छाडा गाईगोरु देख्दा मन खिन्न हुन्छ, दुध दिदासम्म पाल्ने दुध दिन छाड्ना साथ घर बाहिर निकालिदिने यो कस्तो सभ्यता ? मनमा धर्म हराएको जस्तो ।’

पाप पुण्य, धर्मकर्म, भन्ना साथ सुदूरपश्चिमको नाम जहिले अगाडि आउँछ । भम्केनिधाम, नेपाल आमाको मुर्ति भन्नासाथ सुदूरपश्चिमको नाम सुनिन्छ । जब नेपाल आमाको मूर्ति बनाउने पहलको बेला प्रथम जगद्गुरु अनन्त श्री बिभुषित जगतगुरु श्रीबालसन्त मोहनशरण देबाचार्य महाराज श्रीको २०७२–०७३ साल, धार्मिक यात्राको क्रममा हृदयस्पर्षी मार्मिक दृष्यले उठाएको एक पक्ष हो ।

कर्णाली भूमीमा यात्रा गर्दा जो गौमाताको अवस्था देखे, त्यो फरक थियो, जहिले सुदूरपश्चिम पुण्य भूमी भनेर चिनिन्थ्यो यथार्थमा रहेनछ । बाटोभरि छाडा गाइबस्तु, चोट पटक लागेका, अलपत्र अवस्थाका र गौमाताको रगत बगेको दृष्य देख्ना साथ यो भूमीमा टेके तर अन्न ग्रहण गर्दैन भने जो चर्चाको विषय थियो । यो पक्षमा असाध्यै जिम्मेवारी बहन गर्नुपर्ने भएकाले र कसैले आवाज नउठाएको र जिम्मेवारी लिन नचाहेपछि यसको जिम्मा समाजसेवी गजेन्द्र चन्दले लिए ।

समाजसेवी चन्दले तत्कालीन मेयर सुरेन्द्र बिष्ट दुबैले भेटेर जिम्मेवारी आफ्नो काँधमा लिएर जगद्गुरुलाई अन्न ग्रहण गराएको चन्दले बताए । जिम्मेवारी त लिए, तर कसरी के गर्ने भन्ने सोच्दै गर्दा गौशालाको सोच प्रकट भएको चन्दले बताए । सुरुवात स्थान छनौटबाट भयो, व्रह्मदेवदेखि उत्तरतर्फ अवस्थित सामुदायीक वनको २० विगा क्षेत्रफल, जसको केही भाग गौशालाको लागी छुट्याइएको चन्दले बताए ।

स्थान प्राप्त भएपछि व्यवस्थापनको लागि तत्कालीन मेयर सुरेन्द्र विष्टको अगुवाइमा भिमदत्त नगरपालिकाले २६ लाख अनुदान गरेको र उक्त अनुदान गाई बच्छाको लागि ठूलो बस्न योग्य सुविधा सम्पन्न हल निर्माण गरेको चन्दले बताए । भेटनरी, कृषि तथा पशु कार्यालयवाट सामाग्रीहरु सहयोग भएको र जगदगुरुका भक्तवाट ११ लाख जति सहयोग भयो । अहिले १०० गाइ, २५ बाच्छाबाच्छी गरी जम्मा १२५ रहेको गोपाल बुढाले (कर्मचारी) बताए ।

‘६ वर्षदेखि यही बसेको छु आफ्नो खर्च निकाल्न गाह्रो भएको छ, आयआर्जन छैन, खर्च मात्र छ । सेवा गर्छु त भने तर व्यवस्थापन सारै गाह्रो हुँदो रैछ, पोहर साल अनाज ल्यायको अहिलेसम्म तिरेको छैन, विहानदेखि साँझसम्म यीनै गाईबस्तुको सेवामा समर्पन छु,’ गोपालले भने, ‘बाटोमा हिँड्दा छाडा गाईगोरु देख्दा मन खिन्न हुन्छ, दुध दिदासम्म पाल्ने दुध दिन छाड्ना साथ घर बाहिर निकालिदिने यो कस्तो सभ्यता ? मनमा धर्म हराएको जस्तो ।’

समाज जतिजति आधुनिकीकरण हुँदैछ मनावबाट मानवता हटिरहेको छ । ‘आधुनिक प्रविधिको ज्ञानको कमिले पनि हुन सक्छ, गाइको दुधको प्रयोगको बारेमा थाहा पाएको, तर त्यसको मलमुत्रलाइ प्रसोधन कसरी गर्ने भन्ने ज्ञान सीपको कमी भएकोले अब समाजमा सचेतना फैलाउन सके गाई बस्तुलाई छाड्दैनथे,’ चन्दले भावुक हुँदै भने, ‘सबैलाई सेवा शब्द थाहा छ, तर सेवा भावनाको कमी छ । सबैलाई शुद्ध दुध पिउनु छ, स्वस्थ रहन छ तर विना गाइको । तिहारमा गाइको खोजी हुन्छ, तिहार सकिन साथ गाइलाई धपाइन्छ । कति स्वर्थीपनाले भरिदैछ हाम्रो मानसिकता ?’

गौशाला एक व्यक्तिमात्रै नभएर सबैको भएकाले सबै मिलेर अझ व्यवस्थित बनाउन जरुरी रहेको उनले बताए । चन्दले भने, ‘आउनुस् हातेमालो गरौं र यी छाडा गरिएका अबोध बोल्न नसक्ने जनावरको उद्धार गरौं, अहिलेका जनप्रतिनिधिको पनि ध्यान केन्द्रित गर्न चाहे, सेवा नै धर्म हो ।’ उनले जताततै अव्यवस्थित गौशाला बानउनुको सट्टा यसैलाई अझ व्यवस्थित बनाउन अनुरोध गरे । ‘एक घर, एक गाई’ भन्ने मुल नाराका साथ, गौशाला व्यवस्थापन र धर्म बचाउ अभियानलाई अघि बढाउँदै गजेन्द्र चन्द, अब हाम्रो साथको आसमा गजेन्द्र चन्द ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार ११:४५

लोकप्रिय