सूचनाको शक्ति - The Power Of Information

        

स्थलगत रिपोर्ट

भग्न घरअगाडि टोलाएर बसिरहेकी टुहुरी प्रेमकली

बेलाबेला छिमेकीहरूले ‘एक्लै भई, अब कसले हेर्छ’ भन्दा उनको अनुहार कालोनीलो हुन्थ्यो । आँखाबाट तरर आँसु बग्थ्यो । बोली फुट्दैनथ्यो ।

भूकम्पमा परी बुबा, आमा र दुई जना दाजु बितेपछि एक्ली भएकी आठ वर्षीया प्रेमकली । सबै तस्वीर : गोपेन राई

चिउरी गाउँमा राहत लिएर पुगेको गाडीहरू पनि पुग्न सकेका छैनन् । सडकभन्दा माथि थुम्कामा पर्ने यो गाउँमा अहिले शोकमाथि भोक थपिएको छ । १३ जनाको सामूहिक दाहसंस्कार गर्न आइतबार दिउँसो भेरी नदी किनारतर्फ गएका जाजरकोटको नलगाड नगरपालिका–१ चिउरी गाउँका मलामीहरू साँझसम्म पनि फर्किएका थिएनन् ।

गाउँमा रहेका एकाध मानिस खेतबारीमा पराल ओछ्याएर रात काट्ने बिछ्यौना बनाउन लागिरहेका थिए । चिउरीको पूरै बस्ती भग्नावशेषमा परिणत भएकाले खेतबारीलाई आश्रयस्थल बनाउनुको विकल्प पनि छैन । त्यसमा पनि चिउरी गाउँको इम्ले टोल अझ बढी शोकमा थियो । कारण, यहाँ आफ्नै घरभित्र हिरे कामीको परिवारका चार जना पुरिएर बितेका थिए ।

यो परिवारमा अब आठ वर्षीया प्रेमकली विक मात्रै जीवित छिन् । चिउरी गाउँमा अधिकांशतः दलितहरूको बसोबास छ । त्यसमध्ये इम्ले टोलमा नौ घर छन् । यी नौ वटै घर ध्वस्त भए पनि मानवीय क्षति भने हिरे कामीको घरमा मात्र भयो । हिमालखबरको टोली इम्ले पुग्दा यी आठ वर्षीया प्रेमकली आफ्नो भग्न घरअगाडि टोलाएर बसिरहेकी थिइन् ।

प्रेमकलीको हातको औंलामा लगाइएको ब्यान्डेज ।

घरमा पुरिएर उनी पनि घाइते भएकी थिइन् । भर्खरै अस्पतालबाट ल्याइएको थियो उनलाई । उनको टाउको, हात र ढाडमा चोट लागेको छ । हातको औंलामा ब्यान्डेज र टाउकोमा रातो कलरको फेटा बाँधेकी उनले जिउ कटकटी खाएको सुनाइन् । उनको शरीरमा गम्भीर चोट देखिन्थेन । तर, मानसिक रूपमा उनी विक्षिप्त भएको प्रष्ट थियो ।

परिवारमा परेको बज्रपात यी आठ वर्षीयाले प्रस्ट महसूस गरेकी थिइन् । बेलाबेला छिमेकीहरूले ‘एक्लै भई, अब कसले हेर्छ’ भन्दा उनको अनुहार कालोनीलो हुन्थ्यो । आँखाबाट तरर आँसु बग्थ्यो । बोली फुट्दैनथ्यो । तर, उनको मनमा गएको पहिरो महसूस गर्न सकिन्थ्यो । छिमेकीहरूले सान्तवना दिंदा पनि उनी भक्कानिंदै रुन्थिन् ।

केही बेरपछि त उनीसँग रुने शक्ति पनि हराइसकेको थियो । परिवारको सबै सदस्यको एकै चिहान भए पनि एउटा आश गर्न सकिने ठाउँ छ– प्रेमकलीका एक जना दाइ चार वर्षअघि वैदेशिक रोजगारीको लागि भारत गएका थिए । हुन त त्यसयता ती दाइ सम्पर्कमा छैनन् । तर पनि उनी फर्केलान् कि भन्ने छिमेकीलाई आश छ ।

भग्न घरअगाडि उभिएकी प्रेमकली

प्रेमकलीलाई त दाइको अनुहार पनि याद छैन । ‘यो बालखलाई दैवले पनि ठगे, यो गरीब गाउँमा यसलाई कसले हेर्ला र !’ प्रेमकलीकी छिमेकी देवमाया विकले भनिन् । शुक्रबार राति बुबा हिरे कामी, आमा र १२ र १४ वर्षका दाजुहरू भुइँतलामा सुतेका थिए । प्रेमकली र उनको छिमेकी दिदी रूपा विक दोस्रो तलामा थिए ।

दोस्रो तलामा भएका रूपा र प्रेमकलीलाई पुरिएको अवस्थामा निकालियो । उनीहरू बाँच्न सफल भए । अरूको समयमै उद्धार हुन पाएन, बिते । १४ वर्षीया रूपा विकको पनि टाउको र ढाडमा चोट लागेको छ । आफू सुतेको घरका चार जना बितेपछि उनको सातो गएको छ । दुई जना मात्र बाँचेको देख्दा उनलाई उदेक लागेको छ ।

शुक्रबार रातिको घटनाबारे उनलाई खासै याद छैन । ‘बिहान प्रेमकलीको बुबाआमा र दाजुहरूलाई लस्करै सुताइएको थियो, त्यो देखेपछि भने म झनै डराएँ,’ रूपाले भनिन् । प्रेमकलीलाई उद्धार गर्न राति १२ बजे तल्लो घरको विमला विक पुगेकी थिइन् । बिजुली नभएको अन्धकार गाउँको उक्त घरबाट ‘गुहार गुहार’ आवाज सुनेर उनी त्यहाँ पुगेकी थिइन् ।

छरपस्ट भएका घरका ढुंगाहरू । यिनै ढुंगा समयमै पन्छाउन नसक्दा हिरे कामीको परिवारले मृत्युवरण गर्नुपरेको हो ।

उनी त्यहाँ पुग्दासम्म हिरे कामीका सम्पूर्ण परिवार जीवितै थिए । ‘मलाई छिटो बचाऊ बचाऊ भनिरहेका थिए । तर, समयमै ढुंगाहरू पन्छाउन सकिएन,’ विमलाले भनिन् । विमलाका अनुसार प्रेमकली र रूपालाई पहिला उद्धार गरेपछि हिरे कामी र परिवारका अरू सदस्यलाई निकाल्न प्रयास गरिएको थियो । एक घन्टासम्म पनि हिरे कामीले गुहार मागिरहेका थिए ।

तर अन्धकार र ढुंगा पन्छाउने औजार नहुँदा उनीहरूलाई बचाउन नसकिएको विमलाले बताइन् । सोही टोलका दिलबहादुर विकका अनुसार पुरुषहरू भएको घरमा पुरिएकालाई बचाउन सके पनि महिला र केटाकेटी भएको ठाउँमा उद्धार सम्भव भएन । किनकि, भूकम्प जानासाथ अधिकांश मानिस पहिला आफ्नै घरमा पुरिएकाहरूको उद्धार गर्न सक्रिय भएका थिए ।

यस्तै, परिवार सबै पुरिएको ठाउँमा पनि उद्धार सम्भव भएन । ‘समयमै उद्धार गर्न सकेको भए धेरैलाई बचाउन सकिन्थ्यो कि,’ दिलबहादुरले लख काटे । भूकम्पले धेरै क्षति गरेको गाउँमध्ये एक हो चिउरी । यो गाउँमा लगभग ८० घरधुरी छन् । यहाँ र आसपासका अरू गाउँमा मानवीय क्षति तुलनात्मक रूपमा कम भए पनि कुनै पनि घर बस्न लायक भने छैन ।

भूकम्पले ढालेको हिरे कामीले ठड्याएको घर

हिउँद करीब करीब शुरू भएकाले चिसो बढ्दो छ । तर, भग्न घरबाट मानिसहरूले ओड्ने ओछ्याउने समेत निकाल्न सकेका छैनन् । अन्नपात र भाँडाकुँडा पुरिएकाले तातो खाना खान पाउने अवस्था पनि छैन । त्यसमाथि यो गाउँमा राहत लिएर पुगेको गाडीहरू पनि पुग्न सकेका छैनन् । सडकभन्दा माथि थुम्कामा पर्ने यो गाउँमा शोकमाथि भोक थपिएको छ ।

स्थानीय भगवती विक अब बाँचेकाहरूलाई गाँस, बास र लत्ताकपडा आवश्यक भएको बताउँछिन् । पराल ओछयाएर रात काट्ने ठाउँ बनाउँदै गरेकी भगवती गहभरी आँसु पार्दै भन्छिन्, ‘अन्नपात र लत्ता कपडा भएन भने त हामी चिसोले मर्छौं होला ।’

स्रोत : हिमालखबर
प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार ०८:३७

लोकप्रिय